घरेलु कामदारको लागि पुनः श्रमस्वीकृति सिफारिस दूतावासबाटै

घरेलु कामदारको लागि पुनः श्रमस्वीकृति सिफारिस दूतावासबाटै


■ आरके श्रीवास्तव, ओमान

घरेलु कामदारको पुनः श्रम स्वीकृतिका लागि सिफारिस दूतावासबाटै हुने भएको छ । नेपाली राजदूतावास मस्कट ओमानले २३ भदौमा एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो ।

वैधानिक रूपमा घरेलु कामको लागि ओमान आउनुभएका सम्पूर्ण नेपाली कामदारको लागि पुनः श्रमस्वीकृतिका लागि दूतावासबाट सिफारिस दिइने भएको छ । अवैधानिक रूपमा रूपमा रहेका घरेलु कामदारले भने श्रमस्वीकृति नपाउने भएका छन् ।

श्रमस्वीकृति लिई खाडी मुलुकहरूमा घरेलु कामदारको रूपमा कार्यरत्त रही विदामा घर गएर पुनः सोही रोजगारदाताकोमा फर्किनेहरू लागि मात्र अर्को निर्णय नभएसम्मका लागि अस्थायी रूपमा आवश्यक कागजातहरूको आधारमा पुनः श्रमस्वीकृति दिने व्यवस्था भएको जनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही भदौ १७ गते बसेको मन्त्री स्तरको बैठकले पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियोे । सोही निर्णयअनुसार दुतावासले पुनः श्रम स्वीकृतिका लागि सिफारिस दिन लागेको हो । सिफारिस लिन आउँदा सेवाग्राहीले निम्नलिखित कागजात प्रस्तुत गर्नुपर्ने जनाइएको छ ।

१. ओमानमा घरेलु कामदारको रूपमा आउँदा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा आएको खुल्ने कागजात ।
२. विदामा नेपाल गई पुनः वैदेशिक रोजगारीमा फर्कंदा पुरानै रोजगारदाताकोमा आउने सुनिश्चित हुने कागजात।
३. घरेलु कामदारको अवधि कायम भएको भिसा, राहदानी, लेबर कार्ड र करार समझौता पत्र ।
४. रोजगारदाताको आईडी कार्ड, सम्पर्क नम्बरलगायत आवश्यक कागजातहरू ।
५. कामदार स्वयम् दूतावासमा उपस्थित भई वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिकाको अनुसूची ८ फाराम भर्नुपर्ने ।

यस सम्बन्धमा केही अस्पष्ट भएमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ तथा हटलाईन नम्बर ७१५९२४९० मा सम्पर्क गर्नका लागि नेपाली राजदूतावास मस्कट ओमानले अनुरोध गरेको छ ।