विदेशी नागरिकको हातमा देशको अर्थतन्त्र गएपछि…

विदेशी नागरिकको हातमा देशको अर्थतन्त्र गएपछि…


विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेपछि दक्षिण अफ्रिकाका विभिन्न शहरमा हिंसा भड्किएको छ । विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ ।

त्यहााका रक्षामन्त्री नोसिभिवे मापिसाले राजधानी जोहानेसबर्गबाट ३५ किलोमिटर पूर्वतर्फको डिएच विलियम्स एन्ड शोलो कम्युनिटी सेन्टरमा विदेशी नागरिकलाई सुरक्षासाथ राखिएको जानकारी दिएका सिन्ह्वाले जनाएको छ । त्यहाँ राखिएकामध्ये करिव २ सय २८ जना शरणार्थी बालबालिका पनि रहेका बताइएको छ ।

दक्षिण अफ्रिकामा गत साता हिंसा भड्किएको थियो । विदेशी नागरिकको हातमा मुलुकको अर्थतन्त्र गएको भन्दै विदेशी नागरिकमाथि स्थानीयले आक्रमण गरेका थिए ।

रक्षामन्त्री मापिसाका अनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा हालसम्म करिव सात सय व्यक्तिलाई गिरफ्तार गरिएको छ । हालसम्म उक्त हिंसाका कारण १२ जना मारिएका छन् जसमा १० जना दक्षिणी अफ्रिकी नागरिक छन् ।

विदेशीलाई पर्याप्त मानवीय सहायता उपलब्ध गराइएको दक्षिण अफ्रिकी सरकारको दाबी छ । यसै साता जिउज्यानको असुरक्षाको कारण देखाउँदै ६ सय ४० जना नाइजेरियाली नागरिक स्वदेश फर्कन लागेका बताइएको छ ।

रक्षामन्त्री मापिसाले दक्षिण अफ्रिका विदेशी नागरिकप्रति असहिष्णु मुलुक होइन, छैन र कानुन हातमा लिने जोसुकैमाथि कडा कारवाही गरिने भन्दै मुलुकको छवि बचाउने प्रयास गरेका छन् ।