‘०६३ पछि देश अन्धकार युगतर्फ’

‘०६३ पछि देश अन्धकार युगतर्फ’


मातृभूमिका लागि नेपाली अभियानअन्तर्गत काठमाडौं जिल्लाको गत शनिबार (२१ भदौ) आयोजित भेला जुलुमरत्न डङ्गोलको संयोजकत्वमा ५७ सदस्यीय काठमाडौं जिल्ला समिति गठन गर्दै सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै मातृभूमिका लागि नेपालीका केन्द्रीय परिषद् सदस्य एवम् वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले राष्ट्रियताको दृष्टिले ०६३ पछि देश अन्धकार युगतर्फ लागेको बताए । मातृभूमिका लागि नेपाली अभियान किन र कसरी भन्ने सन्दर्भमा भनाइ राख्दै उनले देशमा भ्रष्टाचार र बेथिति व्याप्त भएको र गणतन्त्रका सारथि हौँ भन्ने दलका नेताहरूले देश नै नरहने अवस्थामा पुऱ्याउन लागेकाले देश बचाउनु यतिबेला नेपालीको पहिलो कर्तव्य रहेको औँल्याउनुभयो । देशमा गणतन्त्र कसले ल्याइदिएको रहेछ भन्ने ‘र’का अधिकारीले पुस्तक नै लेखेर पुष्टि गरिदिएएको सन्दर्भ उल्लेख गर्दै संयोजक त्रिपाठीले कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्रले विदेशी खेतालाहरूको जीवनमा व्यापक परिवर्तन ल्याइदिएको भए पनि आमनेपालीको दैनन्दिनी झन्–झन् कठिन हुँदै गएको बताउनुभयो । जनताको सुरक्षा, शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्ने उहाँको भनाइ थियो ।

सोही भेलालाई सम्बोधन गर्दै महासचिव एवम् संविधानसभा सदस्य तथा नेपाल सरकारका पूर्वसचिव जनकराज जोशीले देश र जनताको हित होला भनी जारी गरिएको संविधान मुलुकका लागि प्रत्युत्पादक बन्न पुगेको उल्लेख गर्दै संविधानका विभिन्न देशघाती धाराबारे जानकारी गराउनुभयो ।

भेलामा मन्तव्य राख्दै केन्द्रीय परिषद् सदस्य, अर्थविद् एवम् पूर्वगभर्नर डा. तिलक रावलले प्रधानमन्त्री केपी ओलीले दाबी गरेजस्तो देशको आर्थिक वृद्धिदर उत्साहप्रद नरहेको जानकारी दिनुभयो । आर्थिक वृद्धिदर चार प्रतिशतको हाराहारीमा मात्र अघि बढेको, व्यापारघाटा कहालीलाग्दो रहेको, विदेशी मुद्राको सञ्चितिमा व्यापक ह्रास आएको र समग्र आर्थिक स्थितिका आधारमा देश टाट पर्ने अवस्थामा पुगेको उहाँको भनाइ थियो । निजी क्षेत्रलाई हतोत्साहित तुल्याएर मुलुकले आर्थिक विकास गर्न नसक्ने भन्दै डा. रावलले यही अवस्था र व्यवस्थाको भरमा छोडिदिए देश नै कोल्याप्स हुन सक्ने बताउनुभयो ।

यस्तै, अभियानका केन्द्रीय प्रवक्तासमेत रहनुभएका मधेस मामलाविज्ञ एवम् राजनीतिक विश्लेषक डा. राजेश अहिराजले यतिबेला हाम्रो भूमि, भावना र भविष्य धरापमा परेको र यी तीन कुरा धरापमा परेपछि धरापमा पर्न बाँकी अरू केही नरहेको कहालीलाग्दो परिवेश औँल्याउनुभयो । नागरिकलाई आरक्षण नभई सबलीकरणको आवश्यकता रहेको यथार्थप्रति जोड दिँदै उहाँले जनप्रतिनिधि भनाउँदा पात्रहरूले जनताले दिँदैनदिएको आदेशलाई ‘जनादेश’को नाममा जबर्जस्ती लादेर देशलाई रसातलतर्फ डोऱ्याएको आरोप लगाउनुभयो । नेपाली जनतालाई केवल करदाता र मतदातामा सीमित तुल्याइएको भन्दै डा. अहिराजले यस अवस्थाबाट मुक्तिका लागि मातृभूमिका लागि नेपाली अभियान शुरु गर्नुपरेको प्रस्ट्याउनुभयो ।

केन्द्रीय परिषद् सदस्य एवम् फौजदारी कानुनका विज्ञ अधिवक्ता सुवास आचार्यले मन्तव्यका क्रममा यतिबेला देशमा देवत्व पाखा परेको र दानवत्व हाबी हुन पुगेको बताउनुभयो । लुटेर खाने सङ्घीयता देशले थेग्न नसक्ने भन्दै उहाँले ‘परिवर्तन मेरै पालामा भन्दा पनि परिवर्तन मबाटै’ भन्ने ध्येयका साथ नेपाली जागृत हुनुपर्नेमा उहाँको जोड थियो ।


मातृभूमिका लागि नेपालीका काठमाडौ जिल्ला संयोजक जुलुमरत्न डङ्गोलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत सहसंयोजक दीपकसिंह महर्जन, सञ्चालन केन्द्रीय सचिव सनत आचार्य र धन्यवाद ज्ञापन प्रचारप्रसार संयोजक सुभासप्रसाद पाण्डेयले गर्नुभएको थियो । भेलाद्वारा नवगठित समितिको सहसंयोजकमा दीपकसिंह महर्जन, जुना लामा र पूर्णप्रसाद कोइराला, सचिवमा अधिवक्ता दीपकमान जोशी, कोषाध्यक्षमा बिन्दु महर्जन श्रेष्ठ, सहसचिवमा शान्त महर्जन र प्रवक्तामा ज्ञानप्रसाद खनाल रहेका छन् ।

यस्तै, सदस्यहरूमा राहुलराय दास, रक्षा श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ, सविना नगरकोटी, किशोर पन्त, योगेश श्रेष्ठ, ज्वालामान श्रेष्ठ, सजीव बज्राचार्य, दिनेश परियार, केशव खत्री, नरेशकुमार हमाल, प्रवीण भण्डारी, आनन्द डङ्गोल, अमृतलाल श्रेष्ठ, भगवानदास कुसुले, राजेश रञ्जित, सवी घिमिरे, राजेन्द्र डङ्गोल, राजेन्द्र महर्जन र भवानी लम्साल रहेका छन् । जिल्ला समितिका अन्य सदस्यहरूमा सकुन्तला पौडेल, रीता कार्की, दिनेशप्रसाद देव, रमेश मलेगो, अर्जुन खड्का, बालमुकुन्द महर्जन, प्रवीण आचार्य, लक्ष्मी रिजाल, प्रीति डङ्गोल, शङ्कर श्रेष्ठ, सानुमैया डङ्गोल, अजयकुमार श्रेष्ठ, सुमन दाहाल, हरिबहादुर कार्की, राजेश शाही, शोभा श्रेष्ठ, विश्वराज कुँवर, सुनिता गौतम, कृष्णकुमार पौडेल, उत्तम महर्जन, रमेश प्रधान, प्रकाश श्रेष्ठ र रवि भुजेल रहनुभएको छ । नवगठित समितिका सम्पूर्ण सदस्यले माटोको टीका लगाएर मातृभूमिको रक्षाका लागि आफूहरू इमानदारीका साथ लाग्ने शपथ लिएका थिए ।

प्रज्ञाभवनमा सभा शुरु हुनुअघि वसन्तपुर दरबारबाट काठमाडौं उपत्यकाको परम्परा झल्कने झाँकीसहितको जुलुस प्रदर्शन गरेको थियो । जुलुसले बौद्ध र किराँतलगायत सबै नेपाली मौलिक धर्म संस्कृति संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र कायम गरौँ, हाम्रो संस्कृति हाम्रो देश प्राणभन्दा प्यारो छ, जनतामारा सङ्घीय प्रणाली खारेज गरौँलगायतका नारा लेखिएका प्लेकार्ड तथा व्यानर लिएर बजार परिक्रमा गरेको थियो ।