बादलको रूपझैँ बदलियो नेकपाको समीकरण

बादलको रूपझैँ बदलियो नेकपाको समीकरण


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तहमा बन्ने समीकरण बादलको आकारझैँ क्षणक्षणमा परिवर्तित भएको पाइएको छ । दुई महिनाभित्र नेकपामा तीनप्रकारको स्थिति देखापरेको छ । गत असारमा प्रचण्डले माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराईलगायतलाई आफ्नो खेमामा ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘कु’ गर्ने निर्णायक तयारी गरेका थिए । त्यसबेला केपी एक्लिएको तस्बिर स्पष्ट हुँदै गएको थियो ।

तर, केपीले तत्काल नेताहरूसँग छुट्टाछुट्टै संवादको प्रक्रिया शुरु गरेर परिस्थिति उल्ट्याइदिए । नेताहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे पार्टीमा दरार उत्पन्न हुने देखिएपछि तटस्थ हुन पुगे भने योगेश भट्टराई केपी सरकारमा मन्त्री नै बनिदिए । वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र झलनाथ खनालसँग एकस्तरको समझदारी बनाएका केपीले माधवकुमार नेपाललाई पनि विश्वासमा लिन हरतरहले प्रयास गरेका थिए । असारको दोस्रो सातासम्म आइपुग्दा केपी एक्लिएका थिए, असारकै तेस्रो सातापछि प्रचण्ड एक्लिए ।

भदौ महिनाको प्रारम्भसँगै केपी र प्रचण्डबीच ‘अभूतपूर्व’ एकताको स्थिति देखाप¥यो, तर यही बिन्दुमा आइपुग्दा माधव नेपाल एक्लिन पुगेका छन् । झलनाथ खनाल मर्यादाक्रममा माधवभन्दा माथि पुगेपछि प्रफुल्लित बने, उपाध्यक्ष पदसहित कास्कीबाट सांसदको उम्मेदवार बन्न पाउने भएपछि वामदेव गौतम पनि दङ्ग परे, योगेश भट्टराई जीवनमा पहिलोपटक मन्त्री बन्न पाएर मक्ख परे । उता प्रचण्डले चाहिँ केपीबाट आफूपछिको प्रधानमन्त्री र अध्यक्ष बन्ने आश्वासन मात्र पाएनन्, उनले पार्टी एकीकरण भएको सवा एक वर्षपछि बैठकको अध्यक्षता गर्ने ‘महान्’ अवसर पनि पाए । तर, माधवकुमार नेपालले केही प्राप्त गर्न सकेनन्, उनले केही पाए भने अपमान, उपेक्षा र एक्लोपन पाए ।

माधवलाई यसरी एक्ल्याइँदा प्रचण्ड निकै सञ्चो मानेर बसेका छन् । उनले केही दिनका लागि भए पनि राज्य हात लागेको महसुस गरेका थिए । लामो समयसम्म विदेश उपचारमा जाँदा प्रचण्डबाट राज्य विप्लवका कुनै कार्ययोजना नबनुस् भन्नका लागि केपीले आफूलाई ‘उल्लु’ बनाएको प्रचण्डले बुझ्न सकेनन् । सिङ्गापुरबाट केपी ओली सकुशल फर्कने विश्वासमा नरहेका प्रचण्ड ओली स्वस्थ भएर नियमित काममा फर्किपछि एकप्रकारले निराशझैँ बनेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न नदिन वामदेव गौतमलाई सारथि बनाएर अघि बढ्ने योजनामा केपी पक्षधर भएको बुझिन्छ । त्यसैले प्रचण्डले अबको लडाइँ केपीसँग नभई वामदेव गौतमसँग लड्नुपर्ने सम्भावना बढेको छ । प्रचण्डको हातमा पार्टी र सत्ता पुग्दा पार्टी र मुलुकमा अनिष्ट पैदा हुन सक्ने ठहरसहित केपीसहित एमाले कित्ता वामदेव गौतमलाई अघि सारेर प्रचण्डसँग लड्ने तयारीमा देखिएका छन् । मावधकुमार नेपाल लाइनमा आए भने उनलाई भविष्यमा अध्यक्ष या प्रधानमन्त्री दुईमध्ये एक जिम्मेवारी मिल्ने सम्भावना अझै पनि नभएको होइन, त्यसका लागि नेपालले निकै मिहिनेत भने गर्नुपर्ने देखिन्छ ।

प्रधानमन्त्री एवम् पार्टीअध्यक्ष केपी शर्मा ओलीबाट केही समयअघिदेखि नै नेकपाभित्रको ‘एमाले’लाई एकताबद्ध राख्ने प्रयास हुँदै आएको थियो । माधव नेपालबाहेक सबैजसो नेताहरूलाई एक ठाउँमा ल्याउन केपी धेरै हदसम्म सफल भएका छन् । भीम रावल र घनश्याम भुसालहरूसँगको सम्बन्धलाई पनि केपीले सहज बनाउँदै लगेका छन् । नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले आफूलाई तटस्थ भूमिकामा राख्दा त्यसको लाभ पनि केपीलाई नै पुगेको छ । अन्ततः माधवकुमार नेपालका निम्ति पनि एमाले कित्तामै उभिनुको अर्को उत्तम विकल्प नहुन सक्छ ।

ओलीपछिको नेता कसलाई मान्ने भन्ने विषयलाई लिएर केपी ओलीको कित्ता एकप्रकारको छटपटीमा देखिन्छ । उनीहरूले ईश्वर पोखरेल या विष्णु पौडेललाई सम्भाव्य नेताका रूपमा हेरेका हुन्, तर पछिल्लो समय पौडेल बालुवाटार जग्गा प्रकरणमा तानिएपछि उनी उत्तराधिकारी बन्ने सम्भावनाको अन्त्यप्रायः भएको छ । ईश्वर पोखरेलले आफ्नो उचाइ अझै बढाउनुपर्ने अवस्था रहेकोले अन्ततः माधव नेपाललाई नै उत्तराधिकारी मानेर अघि बढ्ने सोच ओलीको कित्ताभित्र बन्दै थियो, तर आफ्नै चञ्चलता र अधैर्यका कारण माधवले केपी कित्ताको विश्वास पूरै गुमाएका छन् । त्यसैले यतिबेला उक्त कित्ताले तत्कालका निमित वामदेव गौतमलाई केपीको उत्तराधिकारी बनाएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न नदिन वामदेव गौतमलाई सारथि बनाएर अघि बढ्ने योजनामा केपी पक्षधर भएको बुझिन्छ । त्यसैले प्रचण्डले अबको लडाइँ केपीसँग नभई वामदेव गौतमसँग लड्नुपर्ने सम्भावना बढेको छ । प्रचण्डको हातमा पार्टी र सत्ता पुग्दा पार्टी र मुलुकमा अनिष्ट पैदा हुन सक्ने ठहरसहित केपीसहित एमाले कित्ता वामदेव गौतमलाई अघि सारेर प्रचण्डसँग लड्ने तयारीमा देखिएका छन् । मावधकुमार नेपाल लाइनमा आए भने उनलाई भविष्यमा अध्यक्ष या प्रधानमन्त्री दुईमध्ये एक जिम्मेवारी मिल्ने सम्भावना अझै पनि नभएको होइन, त्यसका लागि नेपालले निकै मिहिनेत भने गर्नुपर्ने देखिन्छ ।

प्रचण्डलाई भविष्यमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाहेक अन्य कुनै पनि जिम्मेवारी दिन एमाले कित्ताले कञ्जुस्याइँ नगर्ने मानसिकता बनाएको बुझिन्छ । गत संसदीय निर्वाचनमा प्रचण्डसमेतको योजनामा पराजित गराइएका नारायणकाजी श्रेष्ठलाई चाहिँ एमाले कित्ताले पनि सकारात्मक रूपमा लिएको पाइएको छ । घटनाक्रमहरूले नेकपाभित्रको मतभिन्नता र विवाद या ध्रुवीकरण सिद्धान्त र विचारभन्दा पनि स्वार्थ र सत्ता आधारित भएको पुष्टि गर्दै गएको छ । अहिले केपीले खडा गरेको मोर्चा तोड्न अब प्रचण्ड र माधव एकताबद्ध भएर पनि मुस्किल पर्ने देखिएको छ ।