प्रधानमन्त्री टिचिङमा, घाँटीमा राखिएको क्याथेटर पाइप निकालियो

प्रधानमन्त्री टिचिङमा, घाँटीमा राखिएको क्याथेटर पाइप निकालियो


प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा उपचारका क्रममा घाँटीमा राखिएको क्याथेटर पाइप निकालिएको छ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डिओथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार बिहान प्रधानमन्त्री ओलीको घाँटीमा राखिएको क्याथेटर पाइप निकालिएको हो ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलासम्बन्धी रोगको उपचार प्लाज्मा फेरेसिस प्रक्रियामार्फत गराइएको थियो । सो रोगअन्तर्गत शरीरमा एन्टिबडी बढेपछि उनको प्लाज्मा फेरेसिसको गरिएको थियो जसका लागि घाँटीमा क्याथेटर राखिएको थियो । सोही क्याथेटर पाइप आज निकालिएको हो ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको उपचारका क्रममा सातपटक प्लाज्मा फेरेसिस गरिएको थियो ।

भदौ ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली १६ दिनपछि भदौ २० गते उपचारपछि शुक्रबार स्वदेश फर्किएका थिए । अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्यअवस्था सामान्य रहेको बताइन्छ ।