भक्तपुरमा डेंगु महामारीका रूपमा फैलिँदै

भक्तपुरमा डेंगु महामारीका रूपमा फैलिँदै


देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा महामारीका रूपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबार बिहानसम्ममा ९९ जना बिरामीमा डेंगु रोग रहेको पुष्टि भएको जानकारी दिए । यो रोगको संक्रमण बढ्दै गएको बताउँदै उनले अहिले प्रत्येक टोल, गल्ली र विद्यालय डेंगु रोगको जोखिममा रहेको बताए ।

उनले टोल, नगर, विद्यालयलगायतका हरेक क्षेत्रमा यस रोगबारे जनचेतनामूलक कार्यक्रम भइरहेको जानकारी दिई सबै क्षेत्रमा खाल्डाखुल्डी पुर्ने, पानी जम्न नदिने र फोहोर नराख्ने कार्य गर्नुपर्ने बताए ।

यता भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना डेंगु रोगका बिरामी फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले भक्तपुर नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीन जना गरी ४० जनामा डेंगु रोग भएको बताए ।

नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले डेंगु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने, घरदैलो नर्सिङ सेवामार्फत डेंगु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए । सूर्यविनायक, चाँगुनारायण नगरपालिकाले पनि यो रोगबारे जनचेतना फैलाउँदै आएका छन् ।
रासस