३५ वटा जंगली हात्तीको बथान उखुबारीमा पसेपछि…

३५ वटा जंगली हात्तीको बथान उखुबारीमा पसेपछि…


कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीमा जंगली हात्तीको बथानले उखुबालीमा नोक्सान गरेको छ । गएराति भारतको दुधुवा नेसनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकसहितको आधा दर्जनभन्दा बढी किसानको उखुबालीमा नोक्सानी गरेको हो ।

तीसदेखि ३५ को संख्यामा रहेका हात्तीले खाएर र खुट्टाले कुल्चेर उखुबालीमा नोक्सानी गरेको गाउँपालिका अध्यक्ष वडायकले बताए । ‘रातभरि हात्तीको बथान उखुबारीमै बस्यो,’ उनले भने, ‘मुस्किलले भगाउन सक्यौँ ।’ हात्तीको बथान नजिकैको लालझाडी संरक्षित वनतर्फ गएकाले अझै बस्तीमा छिरेर आतंक मच्चाउने चिन्ता रहेको उनले बताए ।

हात्तीबाट उखु तथा अन्य बाली जोगाउन स्थानीय बासिन्दा रातभर जाग्रामसमेत बस्न थालेका छन् । प्रत्येक वर्ष धान, मकै र उखु बाली पाक्नै थालेका बेला हात्तीले नेपाली बस्तीमा छिरेर नोक्सानी गर्दै आएका छन् । केही दिनअघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको अर्को हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले लगाएको धान बालीमा नोक्सानी गर्दै आएको छ ।