दिक्तेल–खानीडाँडा कालोपत्र ४५ प्रतिशत सम्पन्न

दिक्तेल–खानीडाँडा कालोपत्र ४५ प्रतिशत सम्पन्न


कालोपत्रको काम थालिएको दिक्तेल–खानीडाँडा सडकको काम ४५ प्रतिशतभन्दा बढी सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा सो सडक कालोपत्रको काम थालिएको हो ।

करीब ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा स्ट्रक्चरको काम सम्पन्न गरेर अहिले ग्राबेलको काम शुरु गरिएको निर्माण कम्पनी याक्थुहाङ–साप–सिरुवा जेभीका प्रबन्ध निर्देशक कल्याण खत्रीले बताए । ‘कालोपत्र गर्नका लागि आवश्यक सबै सामग्री तराईबाट ल्याइसकिएको छ’, उनले भने, ‘तोकिएकै समयमा सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी कालोपत्रको कामलाई तीव्रता दिइएको छ ।’

दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सो सडक छ दशमलव २५ मिटर चौडाइ रहने र तीन दशमलव ७५ मिटर भाग कालोपत्र गरिने सम्झौतामा उल्लेख छ । अठार महीनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी गत वर्ष असोज १ गते प्राधिकरण र निर्माण कम्पनीबीच कामको सम्झौता भएको थियो ।

दशैँअघि कम्तीमा पनि छ किलोमिटर सडकमा कालोपत्र सम्पन्न गरिसक्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको प्रबन्ध निर्देशक खत्रीले बताए । सो सडक गत मङ्सिर १ गते प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विशाल भट्टराईले औपचारिकरूपमा शिलान्यास गर्नुभएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारबाट खानीडाँडा–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने उक्त सडकलाई निकै महत्वका साथ हेरिएको छ ।

यसअघिसम्म हिउँदको समयमा छ महीना मात्र सञ्चालन हुने सो सडक ढिलै भए पनि कालोपत्रको काम थालिएपछि जिल्लावासी हर्षित भएका छन् । दिक्तेल–खानीडाँडा सडक कालोपत्र भएर सञ्चालनमा आएपछि जिल्लामा आवश्यक पर्ने दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज हुने र दैनिक उपभोग्यवस्तुको मूल्यसमेत घट्ने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।

दिक्तेलबाट सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थल सोही सडकखण्डको खाल्लेमा पर्छ । हिउँदमा मात्र सञ्चालन हुने सो सडकखण्डमा करीब छ महीना यातायात सञ्चालन नहुँदा जिल्ला अस्पतालबाट अन्यत्र सिफारिस गरिएका बिरामीलाई विमानस्थलसम्म पु¥याउन स्ट्रेचर प्रयोग गर्नुपर्ने अवस्था छ ।