बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी दशैँमा काठमाडौं पठाइँदै

बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी दशैँमा काठमाडौं पठाइँदै


यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौं पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार पाँच सय खसी काठमाडौं पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी संघकी अध्यक्ष गंगा शाहले जानकारी दिइन् ।

अध्यक्ष शाहका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी संघमार्फत काठमाडौं पठाउन लागिएको हो । काठमाडौंका व्यापारीसँग मिलेर महिलाले उत्पादन गरेका ती खसी काठमाडौं पठाइने अध्यक्ष शाहले जानकारी दिइन् ।

भारतीय खसीको तुलनामा यहाँ पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौंलगायत शहरमा माग बढ्दो छ । महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको शाहको भनाइ छ । महिला समूहमा आबद्ध दिदीबहिनीले गाउँमा पालेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी संघद्वारा ढकेरीमा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्रमार्फत बिक्री गर्ने गरेका छन् ।

महिलाले पालेका खसीबोकाको बजारीकरणमा समस्या नहोस् भन्नका लागि ढकेरीमा एकपटकमा पाँच सय खसी बाख्रा राख्न मिल्ने नमुना केन्द्र निर्माण गरिएको केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए । यसलाई विस्तार गरी उक्त केन्द्रमा खसीको संख्यामा वृद्धि गर्दै व्यवसाय सञ्चालन गर्ने र आगामी दुई वर्षभित्रमा केन्द्रमा वार्षिक ३० हजारभन्दा बढी खसी संकलन गरी विक्री–वितरण गर्ने योजना रहेको उनले बताए ।