सीको भ्रमण ‘कोसेढुङ्गा’ बन्ने

सीको भ्रमण ‘कोसेढुङ्गा’ बन्ने


चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी अक्टोबरको आखिरी वा नोभेम्बर महिनाको प्रारम्भमै नेपालको भ्रमण गर्ने भएका छन् । सम्बद्ध सूत्रका अनुसार राष्ट्रपति सीको भ्रमण नोभेम्बरभन्दा यतै हुनेछ । चीनको अर्को छिमेकी मुलुक म्यानमारसमेतको भ्रमण गर्ने तयारीमा रहेका सीले नेपालमा रात बिताउने या नबिताउने यकिन भइसकेको छैन । तर, भ्रमणलाई फलदायी र उपलब्धिमूलक बनाउन दुवै पक्षबाट सम्पूर्ण प्रयास हुने देखिएको छ ।

इन्डो–प्यासिफिक कमाण्डसँग सहकार्य गर्नेतर्फ नेपालका परराष्ट्रमन्त्रीले चासो देखाएपछि झस्किएको चीन केपी ओली प्रधानमन्त्री रहेकै समयमा केही ठोस समझदारी बनाएर अघि बढ्न इच्छुक देखिएको छ । बीआरआई सम्झौता भएको दुई वर्ष बित्न लागिसक्दा पनि नेपालले परियोजनाबारे स्पष्ट धारणा बनाउन नसक्दा चीन असन्तुष्ट बनेको थियो ।

राष्ट्रपति सीको भ्रमण तयारीका सन्दर्भमा गत आइतबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यीले पनि सोही विषयमा गुनासो गरेका थिए । नेपालको तीनदिने भ्रमणका विषयमा प्रधानमन्त्री केपी ओलीसँग अनेक विषयमा कुराकानी भए पनि सम्झौताचाहिँ सामान्यस्तरको भएको छ । चिनियाँ भाषा शिक्षाका लागि स्वयम्सेवक शिक्षक नेपालमा आउने, पाँच हजार थान पाल लिने र मनाङमा पैंतीस करोडको लगानीमा अस्पताल बनाइनेजस्ता सहमति भएको भनी नेपालको परराष्ट्र र अर्थ मन्त्रालयले उच्चस्तरमा प्रचारबाजी गरेको छ । वास्तवमा यो प्रचारले दुईपक्षीय सम्बन्धको स्तरलाई खिल्ली मात्र उडाएको छ ।

राष्ट्रपति सीको भ्रमणका समयमा केही महत्वपूर्ण सम्झौता हुने समाचार सूत्रले जनाएको छ । उक्त भ्रमण नेपाल–चीन सम्बन्धमा कोसेढुङ्गा खडा गर्न सफल हुने विश्वास उच्च तहमा गरिएको छ । विकास परियोजना र आर्थिक विकासबाहेक केही अति महत्वपूर्ण एवम् संवेदनशील विषयमा समेत दुईपक्षीय सहमति बन्ने सम्भावना रहेको बताइएको छ ।