प्रदेश राजधानीको विषय टुङ्ग्याउन लागेको डोरमणिको दाबी

प्रदेश राजधानीको विषय टुङ्ग्याउन लागेको डोरमणिको दाबी


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीको विषय अर्को पटकदेखि उठानै गर्नु नपर्ने गरी समाधान गरिने दाबी गरेका छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले उठाएका विषयवस्तुहरूको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मंगलबार प्रदेशसभामा जवाफ दिँदै मुख्यमन्त्री पौडेलले सरकारले सरकार सञ्चालनको अप्ठ्यारो चरण पार गरिसकेर विकासको चरण प्रवेश गरेको भन्दै अब प्रदेशले विकासमा फड्को मार्ने बताए ।

प्रदेश सरकारले प्राकृतिक विपदमा परी ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार एक लाख र घाइते भएकाहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरेको र निजी अस्पतालमा उपचार गराउँदा २० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराएको जानकारी पनि उनले दिए । जनधनको क्षति भएकाहरूलाई राहत उपलब्ध गराउने काम भइरहेको जानकारी दिँदै मुख्यमन्त्री पौडेलले बाढी, पहिरोका कारण अवरुद्ध भएका सडकहरू पुनः सञ्चालन गर्न प्रदेशका प्रत्येक जिल्लालाई एक करोड रुपैयाँको दरले बजेट निकासा गरेको बताए ।