सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार ४ बजे बस्दै

सत्तारुढ नेकपाको सचिवालय बैठक बुधबार ४ बजे बस्दै


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार (२५ भदौ) बस्ने भएको छ । पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा यही भदौ ९ गते बैठक बसेको थियो । प्रधानमन्त्री उपचार गरेर फर्केपछि पहिलोपटक बुधबार सचिवालयको बैठक बस्न लागेको हो ।

नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन् । दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो ।

यसैगरी, सोही बैठकले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रूपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णयसमेत गरेको थियो । प्रधानमन्त्री उपचार गरेर फर्केपछि पहिलोपटक भोलि सचिवालयको बैठक बस्न लागेको हो ।