योनेक्स पुष्पलाल स्मृति ऱ्याङ्किङ्ग ब्याडमिन्टन इटहरीमा

योनेक्स पुष्पलाल स्मृति ऱ्याङ्किङ्ग ब्याडमिन्टन इटहरीमा


नेपाल खेलकुद महासंघको तत्वाधान, नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा नवौं संस्करणको योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ऱ्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता इटहरी रङ्गशालास्थित कभर्डहलमा आज (२४ भदौ)देखि सुरु भएको छ ।

प्रतियोगितामा राष्ट्रिय बरियतामा पुरुषतर्फ उच्च १६ र महिलातर्फ उच्च १२ मा रहेका खेलाडीहरुका लागि बरियता निर्धारण गर्नका लागि लिगका आधारमा प्रतियोगिता खेलाईने छ । त्यस्तै उक्त बरियतादेखि बाहेकका लागि खुला प्रतिस्पर्धा गराइने भएको छ ।

बरियताको प्रतिस्पर्धामा अन्य खेलाडीहरुले स्थान नपाएका कारण खेलाडीहरुको गुनासोलाई ध्यानमा राखेर यस पटक देखि बरियता र बाहेकका लागि खुला गरि प्रतिस्पर्धा गर्न लागिएको हो । यसका साथै पुरुष तथा महिला युगल खुला, यु–१७ छात्र तथा छात्रा एकल र भेट्रान्स गरि ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

भदौ २४ गते देखि २८ गतेसम्म संचालन हुने प्रतिस्पर्धामा पुरुष खुला तर्फ ६२, महिला खुला तर्फ १६, पुरुष युगलतर्फ ३६ जोडी, महिला युगलतर्फ ११ जोडी, छात्र तर्फ ५५ र छात्रा तर्फ ११ तथा भेट्रान्स तर्फ ३१ जोडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रमुख निर्णायक उदय अर्यालले जानकारी गराए ।

नेपालमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन गर्ने योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईजले प्रतियोगितालाई विगतमा झै यस पटक पनि निरन्तरता प्रदान गरेको छ । करिव ६ लाखबराबरको खेल सामाग्री योनेक्स सनराइजले प्रदान गर्ने छ । जसमा प्रतियोगिताको लागि आवश्यक सटल कर्क प्रमुख रहेको छ ।

नेपालमा योनेक्सको प्रतिलिपी सामानहरुले बजार लिएको र उपभोक्ताहरु ठगिएको कारण योनेक्सको असली सामाग्रीहरुनै नेपाली बजारमा प्राप्त होस र उपभोक्ताले आफुले गरेको खर्चको सदुपयोग होस भन्ने हेतुले नेपाल ब्याडमिन्टन संघको पहलमा हुने प्रतियोगितामा योनेक्सले प्रायोजन गर्न थालेको हो– योनेक्स सनराईजका प्रमुख राजु बास्तोलाले बताए ।

करिव ५ लाख ५८ हजारको लागत रहेको प्रतियोगितामा बरियताका विजयी उच्च तीन स्थानका खेलाडीहरुले नगद ५० हजार, २५ हजार र १२ हजार ५ सय, महिला पुरुष एकल तथा जोडीका विजयी उच्च तीन स्थानका खेलाडीले नगद २० हजार, १० हजार र ५ हजार, यस्तै छात्र तथा छात्रातर्फ विजयी शीर्ष तीनले १० हजार, ७ हजार र ४ हजार तथा भेट्रान्सतर्फका खेलाडीहरुले गिफ्ट प्राप्त गर्ने आयोजकका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।