बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने


बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी भइरहेको उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जानकारी दिएका छन् । प्रतिष्ठानको २६औँ वार्षिकोत्सवका अवसरमा मन्तव्य दिँदै गत वर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्वविद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको उनले बताएका हुन् ।

प्रतिष्ठानमा विगतमा विवाद आए पनि अब प्रतिष्ठानलाई राम्रो बनाउन एकापसमा समझजदारी र समन्वयको खाँचो रहेको उपप्रधानमन्त्री यादवले बताए । प्रत्येक वडामा स्वास्थ्यचौकी, गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र, नगरपालिका सिटी अस्पताल, प्रदेशमा स्वास्थ्य प्रतिष्ठान धमाधम निर्माणको तयारीमा रहेको जानकारी पनि उनले दिए । पछिल्लो सयम देशभरी फैलिएको डेङ्गु नियन्त्रणका लागि सबै लाग्नुपर्ने भन्दै त्यसका लागि सरकारले अभियान चलाएको दाबी यादवले गरे ।

प्रतिष्ठानको ‘अर्थोपेडिक सर्जरी युनिट’को समेत उद्घाटन गरिएको सो कार्यक्रममा प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा गुरुप्रसाद खनाल, प्रदेश १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश सभामुख प्रदीपकुमार भण्डारीलगायतले शुभकामना सन्देश दिएका थिए ।