रुसमा नेपाली युवाको हत्या

रुसमा नेपाली युवाको हत्या


■ नारद कोहार, तौलिहवा

लुटेराहरुको आक्रमणमा परी वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा मृत्यु भएको छ । त्यहाँ रहेका लुटेराहरुको समुहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका–३ का ध्रुवकुमार अहिरका २६ वर्षे छोरा राजकुमार यादवको हत्या गरेका हुन् ।

गत मंगलबार विहान करिव साढे दुई बजे यादवको हत्या भएको हो । सम्बद्ध परिजनका अनुसार मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपात गरी मरणासन्न हुने गरी छोडेका थिए । उनलाई छड आकारमा रहेका धारिलो हतियारले प्रहार गरिएको थियो । उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको आफुहरुलाई रुसबाट जानकारी आएको मृतकका माहिला भाइ श्यामकुमार यादवले जानकारी दिए ।

मंगलबार घटना भए पनि आफुहरुलाई गएको बुधबार मात्र रुसमा बस्दै आएका दाइका साथी पोखराका अभिषेकले फोनमार्फत जानकारी दिएको उनको भनाई छ । राजकुमार ०७२ सालदेखि रुसको पास्ता शहरमा बस्दै आएका थिए । साथी अभिषेकसँग भेटघाट गरेर उनी मेट्रो ट्रेनबाट ओर्लिएपछि लुटेराहरुले आक्रमण गरेका थिए । घटनापछि त्यहाँ रहेको सीसी टिबीमार्फत पहिचान भई आक्रमणकारी पक्राउ परेका थिए ।

आक्रमणकारी दुई पुरुष र एक महिलालाई रुसी प्रहरीले नियन्त्रणमा लिएका थिए । मृतकको शव स्थानीय अस्पतालमा राखिएको बताइएको छ । घटनाका विषयमा रुसमा रहेका नेपाली राजदुतावासमा जानकारी गराइएको छ ।

०७४ सालमा रुसबाट राजकुमार घर आएका थिए । तीन महिना नेपाल बसेर उनी गत ०७४ फागुनमा रुस फर्केका थिए । रुसको पास्ता सिटीमा मृतकले विभिन्न कम्पनीको सिमकार्ड आपूर्ति गर्ने काम गर्दथे । राजकुमार ब्यापारिक भिसामा रुस छिरेका थिए ।

राजकुमारको मत्युको खबरले ठुलो सडवा गाउँ नै शोकमग्न भएको छ । उनको परिवार बुधवारदेखि नै गहिरो शोकमा डुबेको छ । मृतकका श्रीमती र एक सातमहिने छोरा तथा ३ दाजुभाइ, एक दिदी, आमाबुबा छन् । श्रीमानको मृत्युको खबर पाएदेखि नै राजकुमारकी श्रमिती राजकुमारी यादव अर्धचेत अवस्थामा छिन् ।

मृतककी आमा जितनी अहिर परिवारको खुशीका लागि विदेशिएको ठुलो छोराको मृत्युले बेहाल बनकी छिन् । जितनीले आफ्नो छोराको शव चाँडै ल्याउन पहल गरीदिन मागसमेत गरेकी छिन् । कपिलवस्तु नगरपालिका–३ का वडा अध्यक्ष प्रकाश गैरेले मृतकका लागि चाहिने आवश्यक सिफारिसहरु पठाइसकेको बताए । मृतकको शव ल्याउन पहल गरिएको उनको भनाई छ ।

एनआरएन रुसका उपाध्यक्ष सुमन रिजालले मृतकको शव घर फर्काउन आवश्यक प्रकृयामा लागेको मृतकको परिवारलाई जानकारी गराएका छन् ।