जसले फ्रान्सको अन्तर्राष्ट्रिय हिमाली दौडमा नेपाली झण्डा फहराए

जसले फ्रान्सको अन्तर्राष्ट्रिय हिमाली दौडमा नेपाली झण्डा फहराए


गोरखाका डिना बगाले अर्थात अन्तराष्ट्रिय धावक । जसले दौडिएरै नेपाललाई विश्वसामु चिनाएका छन् ।

गोरखाको भिमसेन थापा गाउँपालिकास्थित मसेल घर भएका बगालेले पछिल्लो पटक युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँलाई फन्को मारे । हातमा नेपालकोे त्रिकोणात्मक झण्डा फहराउँदै अन्तराष्ट्रिय दौड प्रतिस्पर्धामा सहभागि भए । प्रतिस्पर्धामा नेपालको तर्र्फबाट सहभागिता जनाएका अन्तराष्ट्रिय धावक बगालेले युटिएमभि मो ब्लँ अल्ट्रा रन भनिने १७१ किलोमिटर लामो यो दौडमा सहभागि भएर देशको इज्जत राखेका छन् । ‘अल्ट्रा रनमा यो प्रतिस्पर्धा विश्वको सबैभन्दा ठूलो हो ।’ उनले भने, ‘प्रतिस्पर्धामा नेपालको तर्फबाट सहभागि हुँदा मुलुकलाई चिनाउने काम भएको छ । यो नै ठूलो कुरा हो ।’

गत शुक्रबारदेखि मो ब्लँ हिमालको फ्रान्सतिर पर्ने मोहडाबाट शुरु भएको दौड इटाली र स्विजरल्याण्ड हुँदै फेरि फ्रान्स आएर टुंगिएको धावक बगाले बताउँछन् । ‘दौडमा विश्वका एक सय भन्दा बढि देशका १० हजार बढि धावकहरु सहभागि भएका थिए ।’ उनले भने, ‘यो अवसरमा मैले नेपालको झण्डा बोकेर दौडमा सहभागि हुन पाउँदा निकै खुसी लागेको छ ।’

धावक बगालेका अनुसार दौड निकै चुनौतिपूर्ण थियो । उनि भन्छन्, ‘लगातार ३० घण्टाभन्दा बढि दौडेर पहाड, समथर र पहरा हुँदै १० हजार फिटको उचाईसम्म पुग्न निकै संघर्ष गर्नुपरे पनि अल्ट्रा दौडमा नेपालको तर्फबाट सहभागिता जनाउन पाउनु सुखको विषय हो ।’

विभिन्न मुलुकहरुमा आयोजना गरिएका प्रतिस्पर्धात्मक दौडबाट बगालेले नेपालको नाम विश्वमाझ चिनाएका छन् । उनि भन्छन्, ‘यूरोपमा आयोजना गरिएको अल्ट्रा दौडमा नेपालको सहभागिताले नेपालमा आयोजना गरिएको भ्रमण बर्षलाई टेवा मिलेको छ । यसले पर्यटन आगमनमा बृद्धि हुनेछ ।’ बगालेले यसअघि जापानको माउन्ट फूजीमा भएको प्रतिस्पर्धात्मक दौड प्रतिोगितामा समेत नेपाली झण्डाका साथ सहभागिता जनाएका थिए ।

बगालेका अनुसार अल्ट्रा दौडमा विश्वका चर्चित धावक, ब्यापारी, संघसंस्था र संचारमाध्यमहरुको जमघट थियो । उनले भने, ‘१० हजार मानिसहरुका बिचमा नेपाललाई चिनाउन पाइने भएकाले म नेपालका तर्फबाट भाग लिन गएको हुँ’- बगालेले बताए ।