वित्तीय विवरणमा एकरुपता ल्याउने प्रक्रिया शुरु

वित्तीय विवरणमा एकरुपता ल्याउने प्रक्रिया शुरु


बैंक तथा वित्तीय संस्थालाई एउटा विवरण र राजश्व प्रशासनलाई अर्को विवरण बुझाउनेलाई कारवाही हुने भएको छ । वित्तीय विवरणको सूचना आदानप्रदान गर्ने स्वचालित प्रणालीको विकास भइसकेको जानकारी दिँदै बैंकले फरकफरक विवरण पेश नगर्न तथा नगराउन यसअघि पनि आग्रह गरिसकेको छ ।

सोही सन्दर्भमा बैंकले सूचना जारी गरी बैंक तथा वित्तीय संस्थाले उक्त प्रणालीमा पहुँचका लागि युजरनेम र पासवर्ड तथा अन्य थप सूचनाका लागि आफू दर्ता भएको कर कार्यालयबाट प्राप्त गर्नसक्ने उल्लेख गरेको छ ।

केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले व्यावसायिक ऋण प्रवाह गर्दा आन्तरिक राजश्व विभागको एकीकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको व्यक्तिले भर्नुपर्ने वित्तीय विवरणसँग सम्बन्धित सूचना र उक्त विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्ने व्यवस्था लागू गरिएको छ । त्यसबाट बैंक तथा वित्तीय संस्थामा एउटा र कर प्रशासनमा अर्को विवरण पेश गर्ने प्रवृत्तिको समेत अन्त्य हुने विश्वास गरिएको छ ।

बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार वित्तीय विवरणको सूचना आदानप्रदान गर्ने लक्ष्यका साथ सञ्चालमा ल्याइएको एकीकृत कर प्रणालीलाई बैंक तथा वित्तीय संस्थाले पनि सहज रुपमा कार्यान्वयन गरुन् भनेर सूचना प्रकाशित गरिएको हो ।