प्रशिक्षण कार्यक्रममा देउवा र पौडेलबीच घोचपेच

प्रशिक्षण कार्यक्रममा देउवा र पौडेलबीच घोचपेच


नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा भक्तपुरको बोडेमा शुक्रबार (२० भदौ)देखि दुईदिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ । तर, प्रशिक्षणको विषयले भन्दा काङ्ग्रेसका दुई शीर्ष नेताहरूको आरोप–प्रत्यारोपका कारण प्रशिक्षण आरम्भ समारोह चर्चामा रहेको छ । कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आरोप प्रत्यारोप चलेको हो ।

‘पार्टीमा अन्तर्घात गर्नेलाई कारवाही हुन्छ, कारवाही गर्न कसले रोक्छ हेर्छु म ? चुनावमा पार्टीलाई हराउनेलाई कारवाही गर्न नपाउने ? कारवाही हुन्छ, हुन्छ’ भन्दै सभापति देउवाले आफ्नो भनाई राखे । निर्वाचनमा अन्तर्घात गर्नेलाई कुनै पनि हालतमा कारवाही गरिने जिकीर गर्दै उनले निर्वाचनमा हराउनेप्रति आक्रोश पोख्दै भने, ‘चुनावमा पार्टी किन हाऱ्यो ? साँच्चिकै पार्टीभित्र एकता भएर हारेको हो ? टिकट पाइन भनेर एकले अर्कोलाई हराउन खोजेर हारेको हो ।’

रामचन्द्र पौडेलतर्फ दृष्टि दिँदै देउवाले भने– ‘रामचन्द्रजी, अहिले पनि सरकारको गलत कामकाविरुद्ध हामी लडिरहेका छौँ, संसद्देखि सडकसम्म आवाज उठाएका छौँ ।’

यसअघि आफ्नो मन्तव्य दिने क्रममा नेता पौडेलले सरकारको गलत कामका विरुद्ध काङ्ग्रेसले आवाज उठाउन नसकेको आरोप लगाएका थिए । उनको भनाई थियो– ‘दुई तिहाइको बलमा सरकारले संवैधानिक अङ्गदेखि विभिन्न क्षेत्रमा एकतर्फी रूपमा भर्ना गरिरहेको छ, काङ्ग्रेसले आवाज उठाउन सकेन, रोक्न सकेन ।’

काङ्ग्रेस सही बाटोमा हिँडे मात्रै देश सही बाटोमा हिँड्छ भन्दै पौडेलले पुरानै अन्धविश्वास, गुटउपगुटको एउटा एउटा हाँगो समातेर अन्धविश्वासतर्फ धकेलिँदै गएको काङ्ग्रेस नभई लोकतान्त्रीकरण गरेर जनताले खोजेको काङ्ग्रेस बनाउनु जरुरी रहेको सुझाव दिए । उनको यस अभिव्यक्तिबाट भड्किएका देउवाले पौडेललाई लक्षित गरेर आफ्ना अभिव्यक्ति राखेका थिए ।

कार्यक्रमका सभापति एवं काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाका अनुसार प्रशिक्षण कार्यक्रममा प्रदेश नं ३ का काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका ३१० महाधिवेशन प्रतिनिधि सहभागी छन् । प्रदेश नं ३ का बाँकी रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।