नेपाल-चीन सम्बन्धले नयाँ गति र उचाइ चुम्ने विश्वास

नेपाल-चीन सम्बन्धले नयाँ गति र उचाइ चुम्ने विश्वास


■ शरच्चन्द्र भण्डारी

चीनबाट चार वर्षपछि उच्च राजनीतिक तहमा आगामी साता हुन लागेको नेपालको भ्रमणले नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइ चुम्ने विश्वास गरिएको छ ।

चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही भदौ २२ देखि २४ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा मात्र गरिएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहनुभएका विदेशमन्त्री वाङको यो भ्रमणलाई नेपालसँगको सम्बन्धलाई बेइजिङले अतिउच्च महत्व दिएको स्पष्ट हुन्छ ।

पन्ध्र सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार अपराह्न काठमाडौँ आइपुग्ने विदेशमन्त्री वाङले तीन दिवसीय नेपाल बसाईका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग बेग्लाबेग्लै भेटेर द्विदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श गर्नुहुनेछ ।

आफ्ना समक्षी प्रदीपकुमार ज्ञवाली नेतृत्वको टोलीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तामा चिनियाँ विदेशमन्त्रीले नेपालका विकासका प्राथमिकता र अपेक्षाबारे बुझ्नुहुनेछ भने चिनियाँ सहयोगमा नेपालमा सञ्चालन भएका परियोजनाबारे जानकारी लिनुहुनेछ । साथै भावी दिनमा नेपाल–चीन सहकार्यात्मक सम्बन्धलाई उदाहरणीय तुल्याउने मार्गचित्रको खाका तयार गर्न वार्तालाई उपयोग गर्नुहुनेछ । पेशेवर कूटनीतिज्ञ वाङ नेपालका पुराना मित्रमात्र हुनुहुन्न यहाँका विकासका आकाङ्क्षाका जानकार पनि हुनुहुन्छ ।

वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा साकार गर्ने नेपाल सरकारको उद्देश्य पूरा गर्न चीनले निरन्तर सहायता गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको सन्दर्भमा उच्च राजनीतिक तहमा चीनबाट भएको यो भ्रमणले दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिनेमा ढुक्क हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता प्रकाशशरण महत । पूर्व परराष्ट्रमन्त्री महत नेपालको प्राथमिकता र राष्ट्रिय स्वार्थलाई सर्वोपरि मानेर चीनसँग विकास सहायता लिनुपर्नेमा जोड दिनुहुन्छ । चीनसँगको व्यापार घाटा घटाउने उपायको खोजी र त्यसको कार्यान्वयनलाई पनि भ्रमणका बेला उपयोग गर्नुपर्ने उहाँको ठम्याइ छ ।

उच्चस्तरीय भ्रमण आदानप्रदानबाट एकआपसका चाहना र आवश्यकताबारे जानकारी लिन मद्दतमात्र पुग्ने नभई सम्बन्धको नवीकरण एवं आत्मियता प्रकट गर्ने उपयुक्त अवसरका रूपमा चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई लिनुपर्ने बताउनुहुन्छ पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई ।

नयाँ संविधान जारी भएसँगै त्यसैअनुरूप तीनवटै तहका निर्वाचनपछि नेपालको परिवर्तित राजनीतिक–सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रामा नेपाल लागेका बेला भएको यो भ्रमणको महत्व रहेको उहाँ बताउनुहुन्छ ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को दोस्रो बैठकले छनोट गरेका ६४ परियोजनामध्ये ‘इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटी’ परियोजनामा नेपाललाई समेटिएको छ । त्यसमा ‘नेपाल–चीन ट्रान्स–हिमालयन मल्टी डायमेन्सनल कनेक्टिभिटी नेटवर्कअन्तर्गत नेपाल–चीन क्रस बोर्ड रेल्वे पनि सामेल छ । नेपाल र चीनबीचको सम्बन्ध बिआरआईमार्फत अझ निकट भएको छ ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीबाट रेलमार्ग निर्माणका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौताले नेपालको व्यापार विविधीकरणमा सहयोग हुनका साथै त्यसले नेपालको व्यापार वृद्धिमा त्यसले योगदान पुग्नेछ ।

नेपालमा सर्वाधिक विदेशी लगानी गर्ने मुलुक चीन भएको र दोस्रो ठूलो व्यापारको साझेदार चीनले भूकम्पपछिको पुनःनिर्माण, वसन्तपुरको नौतले दरबार, दरबार हाइस्कूल, अन्तर्राष्ट्रिय खेलकूद केन्द्रको पुनःनिर्माण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतसम्भार, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, माथिल्लो त्रिशूली तीन–ए ३० मेगावाट बिजुली उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको, भेरी–बबई बहुउद्देश्यीय परियोजनाको सुरुङ निर्माणमा सघाइरहेको छ ।

विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपतिको निकट भविष्यमा हुने नेपाल भ्रमणको तयारीका रूपमा पनि लिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यसै वर्ष गर्नुभएको चीनको राजकीय भ्रमणका क्रममा आफ्ना चिनियाँ समकक्षीलाई नेपाल भ्रमणका निम्ति गर्नुभएको आमन्त्रणको राष्ट्रपति सीले सकारात्मक जवाफ दिनुभएको थियो ।

ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटीमा नेपाल र चीन जोडिएसँगै अब हिमाली क्षेत्रको पर्यावरण एवं जलवायु परिवर्तनसम्बन्धी परियोजनाहरूका साथै रेल्वे सञ्जाल विस्तारमा चीनले योगदान गर्नेमा नेपाली विश्वस्त छन् भने बिआरआईसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको सम्पर्क सञ्जाल विस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रूपान्तरणमा ठूलो टेवा पुग्ने आशा गर्न सकिन्छ ।

नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वाधीनतामा चीनको सदैव समर्थन रहेको छ भने एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता छ । नेपालले बेइजिङको संवेदनशीलतालाई राम्ररी बुझेको छ र चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ । सोमबार हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–चीन सम्बन्धका सबै पाटा र पक्षबारे गहन छलफल हुने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी बताउनुहुन्छ ।

वार्तामा द्विपक्षीय सम्बन्धको समीक्षाका साथै पारस्परिकहित र चासोका सबै विषयमा विचार विमर्श हुनेछ । आफ्ना चिनियाँ समकक्षी र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्षलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी हुनेछन् ।

मन्त्री ज्ञवालीले नेतृत्व गर्ने उक्त वार्तामा अर्थमन्त्री युवराज खतिवडा, अर्थ सचिव राजन खनाललगायत वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ ।
rss