बेलायती प्रधानमन्त्रीको अडान कायम, निर्वाचनबारे संसदमा पुनः मतदानको तयारी

बेलायती प्रधानमन्त्रीको अडान कायम, निर्वाचनबारे संसदमा पुनः मतदानको तयारी


बेलायतमा समयअघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुने भएको छ ।

बेलायती सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले दिएको जानकारीअनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान गराउन लागिएको हो ।

समयअघि नै निर्वाचन गराउने प्रस्तावमाथि संसदमा यसअघि पनि मतदान गराइएको थियो । पहिलो पटकको निर्वाचनमा प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत भएको थियो ।

वरिष्ठ मन्त्री याकोब रिस मोग्गाले अग्रीम निर्वाचनका लागि आफूले संसदमा प्रस्ताव पेस गर्ने तयारी गरको सांसदहरूलाई जानकारी दिएका छन् ।

बेलायती संसद् हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदानको नतिजा प्रधानमन्त्री जोन्सनको विपक्षमा आएका छन् ।

प्रधानमन्त्री जोन्सनले गत बुधबार आगामी अक्टोबर १५ मा आमनिर्वाचन गर्नेगरी प्रस्ताव गरेका थिए तर संसदले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो । त्यस्तै, युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिना सम्झौता गर्ने प्रधानमन्त्री जोन्सनको अर्को प्रस्ताव पनि संसद्ले अस्वीकृत गरेको थियो ।

संसदमा चुनावी नतिजा आफ्नो पक्षमा नआएका कारण हतास देखिएका प्रधानमन्त्री जोन्सनले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन जनताको बीचमा जान डराएको आरोप लगाएका छन् ।

ब्रेक्जिटको गतिरोध अन्त्य गर्ने दृढ विश्वासका साथ ६ हप्ताअघि प्रधानमन्त्री बनेका प्रधानमन्त्री जोन्सन अहिले संसदमा सहमति नजुट्दा संकटको घेरामा परेका छन् । प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ को मितिभित्रै युरोपेली संघ छाड्नैपर्ने पटकपटक बताएका छन् ।

उनले सम्झौतासहित वा बिनासम्झौता बहिर्गमनको पक्षमा अडान प्रकट गर्दै आएका छन् । तर जोन्सनकै कन्जरभेटिभ पार्टीका समेत धेरै सांसदहरु प्रधानमन्त्री जोन्सनको कठोर निर्णयको पक्षमा छैनन् । सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा झिनो बहुमत प्राप्त भएको थियो ।

चुनावको घोषणाका लागि ६५० सदस्यीय हाउस अफ कमन्समा दुई तिहाई अर्थात् ४३४ मत आवश्यक हुन्छ, तर संसदमा भएको मतदानमा चुनावको पक्षमा केवल २९८ मत परेको थियो भने ५६ जनाले विपक्षमा मतदान गरेका थिए । बाँकी सांसदहरु अनुपस्थित थिए ।