एनओसीको निर्वाचन स्थगित

एनओसीको निर्वाचन स्थगित


आज (२० भदौ शुक्रबार) का लागि निर्धारित नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन स्थगित भएको छ । सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको छ ।

यही भदौ १७ गते सर्वोच्च अदालतले एनओसीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षलाई यही भदौ २२ गते छलफलका लागि बोलाएको छ ।

यसरी तय भइसकेको निर्वाचन रोकिएपछि एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले दुःख प्रकट गरेका छन् । नेपालको खेल क्षेत्रलाई स्वस्थ ढंगले अघि बढ्न नदिने षडयन्त्रको शिकार हुन पुगेको प्रतिक्रिया उनले दिएका छन् ।