मातृभूमिका लागि नेपाली

मातृभूमिका लागि नेपाली


■ सुशील देवकोटा

देशको माटो शिरमा लगाई
बढेका हौँ यस्तो कसम खाई
मेट्न दिँदैनौँ नेपालको नाम
चुकाउनुपरोस् चाहे जस्तोसुकै दाम
लड्छौँ अन्तिम साससम्म
चन्द्र–सूर्य उचाली
अखण्ड नेपालको हुँकार गर्दै
आयौँ–आयौँ हामी
मातृभूमिका लागि नेपाली

अन्याय अत्याचार अति भो
भ्रष्टाचार दुराचार अति भो
सक्दैनौँ यस्तो हेरेर बस्न
दिँदैनौँ अब जनताको रगत चुस्न
बन्द गर अब जनता भाँड्न
भूगोलको नाममा हामीलाई बाँड्न
होइनौँ हामी मधेसी पहाडी हिमाली
अखण्ड नेपालको हुँकार गर्दै
आयौँ–आयौँ हामी
मातृभूमिका लागि नेपाली

सङ्घीयता हामीले मागेका होइनौँ
धर्मनिरपेक्ष हामीले चाहेका होइनौँ
हराउन दिँदैनौँ हाम्रो परम्परा र संस्कार
चाहे फ्याँक्नुपरोस् यो व्यवस्था र सरकार
जोगाउँछौँ हामी हाम्रो सबै चाडपर्व
चाहे गर्नु परोस् हाम्रो ज्यानै उत्सर्ग
स्वार्थ छोड, होसमा आउ
बन्द गर विदेशीको दलाली
अखण्ड नेपालको हुँकार गर्दै
आयौँ–आयौँ हामी
मातृभूमिका लागि नेपाली !!!