चिनियाँ विदेशमन्त्री आइतबार काठमाडौं आउँदै

चिनियाँ विदेशमन्त्री आइतबार काठमाडौं आउँदै


चीनका विदेशमन्त्री वाङ यी दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिङपिङ नेपाल आउने अनुमान भइरहेकै बेला सम्भावित भ्रमणको मितिभन्दा एक महिनाअघि चिनियाँ विदेशमन्त्री यी नेपाल आउने भएका हुन् ।

इस्लामावादमा हुने पाकिस्तान–अफगानिस्तान–चीनबीच हुने त्रिपक्षीय बैठकमा सहभागी भएर उनी आइतबार साँझ काठमाडौं आउने तय भएको परराष्ट्र स्रोतले जनाएको छ ।

उनी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउन लागेका हुन् । भ्रमणका क्रममा वाङको राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको बुझिएको छ । भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

उनी चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि काठमाडौं आउन लागेको स्रोतको अनुमान छ ।

चिनियाँ राष्ट्रपति सीको अक्टोबर ११ देखि पाँचदिने भारत भ्रमणको समय तय भइसकेको छ । भारत भ्रमण गर्नुअघि वा पछि समय मिलाएर राष्ट्रपति सी नेपाल भ्रमणमा आउने अनुमान छ ।
राष्ट्रपतिको सीको सम्भावित नेपाल भ्रमणलाई लिएर यसअघि नेपालको सुरक्षा अवस्थाबारे बुझ्न हालै चिनियाँ सुरक्षा निकायको टोली काठमाडौं आएर फर्किसकेको छ ।