अघोर बाबाको डिमाण्ड- ‘पचास करोड दिनेसँग बिहे गर्छु’

अघोर बाबाको डिमाण्ड- ‘पचास करोड दिनेसँग बिहे गर्छु’


■ राजन घिमिरे

काठमाडौंको मुटु मानिने लाजिम्पाटमा जन्मेर त्यही सेरोफेरोमा हुर्केका हुन् उनी । निकै शानसौकत र एकप्रकारले आलिसान जीवन नै भोगे किशोर वयमा उनले । स्कूलकालदेखि नै उद्दण्ड स्वभावका पनि थिए उनी । आज पनि लाजिम्पाट क्षेत्रका पुराना वासिन्दाले उनको नाम आउँदा सानोतिनो फटाहा र गुण्डाकै रूपमा चिन्छन् उनलाई । ‘होटलमा खायो अनि पैसा छैन भन्दै नतिरीकन हिँड्ने, कसैले गाली गऱ्यो भने ठोकिदिन्थेँ । अनि लाइफ ड्यामेज !’– यसै भन्छन् उनी ।

उनी अर्थात् यज्ञ केसी उर्फ विजय । तर, यो नामले उनलाई चिनिँदैन आजकल । अहिले उनको परिचय ब्यापक रूपले फेरिएको छ । सामाजिक सञ्जालमा ‘अघोर बाबा’, ‘भाइरल बाबा’ जस्ता उपनामले चिनिन्छ उनलाई ।

शहरमा जन्मेको केटो, बाहिरियाको धाक–धक्कु सहनै नसक्ने बानी, कसैले निहुँ खोज्यो भने पच्काइदिने बानी थियो मेरो । कसैको मुख ड्यामेज त कसैको नाक अनि कसैको खुट्टा । भएन त लाइफ ड्यामेज ? हा…हा…!’ बिगततिर गए अघोर बाबा । उनले बोल्ने ड्यामेज थेगो यतिबेला उनीसँगै ब्यापक भाइरल भैरहेको छ ।

मंगलवार बिहान (१७ भदौ) १० बजेतिर सुन्दरीजलनजिक रहेको उनको कुटी पुग्दा अघोर बाबाका एक भक्त उनको लागि खाना तैयार गर्दै थिइन् । ‘कहिलेकाहीँ भक्तजनहरू आएर पनि खाना पकाइदिनुहुन्छ, नत्र त म होटलमा नै खान्छु । यसैगरी अगाडि बढेको छ ड्यामेज लाइफ’ अघोरले भने । पछिल्लो समय आफू सामाजिक सञ्जालमार्फत चर्चामा आएको कुरा उनले राम्ररी बुझेका छन् । अहिलेसम्म फेसबुक एकाउन्ट खोलेका छैनन् उनले । ‘त्यत्तिकै त खोजि–खोजि आउँछन्, त्यसमाथि सिधै सामाजिक सञ्जालसँग आवद्ध भएँ भने त जुलुस आउँछन् यहाँ, थेग्नै मुस्किल पर्छ फेरि !’ उनले भने ।

आफूलाई यूट्यूबरहरूले मजाकको पत्रका रूपमा प्रयोग गरेर भाइरल बनाएकोमा भने अघोर बाबाको चित्त दुखेको छ । उनले समग्र मानिसहरूको हित र सन्देशको रूपमा भन्दा पनि आफ्नो बारेमा मजाक र हास्य प्रकृतिको कुराकानी मात्र गरेर आफ्नो तन्त्रमन्त्रको दैनिकीलाई ड्यामेज गर्न खोजेको भन्दै गुनासो गरे उनले । ‘त्यसैले अहिले यूट्यूबरहरूलाई प्रवेश निषेध भनेर ढोकामा सूचना टाँसेको छु । मलाई प्रयोग गरेर अनि मेरै खिल्ली उडाएर धेरैले धेरै दाम कमाएछन् । यो कुरा पछि पो थाहा पाएँ । राम्रो र ज्ञानका कुरा त कसैले सुन्न नै नचाहने र कुनै पनि मिडियालाई यो कुराको मतलब नै छैन । सबैलाई ड्यामेज समाचार मात्र चाहिएको छ । त्यसैले त मानिसहरूको सोच र दिमाग मात्र होइन कि देश नै ड्यामेजतिर लागिरहेको छ’– निकै जडी कुरा गरे अघोर बाबाले ।

लाजिम्पाटका यज्ञ यसरी अघोर बनेको २० वर्ष पुगिसकेको छ । यो बीचमा उनको जीवनमा आएको उतारचढाव पनि उल्लेखनीय नै छ । हाल ५८ वर्ष पुगेका उनलाई अहिलेसम्म विवाह किन नगरेको भनी जिज्ञासा राख्नदा उनले भने– ‘बिहे गर्न त मन छ, तर मसँग बिहे गर्न चाहने युवतीले पचास करोड नगद दिनुपर्छ । अचल सम्पतिमाथि म विश्वास गर्दिनँ । आफ्नै जीवन ड्यामेज भैरहेको समयमा धन–सन नभएकी केटीलाई ल्याएर किन उसको समेत जीवन ड्यामेज पार्ने ? त्यसैले मैले पचास करोडको डिमाण्ड तेर्स्याएको हुँ ।’ अघोर बाबाले बडो संवेदनशील कुरा गरे ।

लाजिम्पाट छँदा नै गीत–संगीत र अभिनय विधामा उनको रूचि थियो, तर समयले साथ दिएन । अघोर बाबालाई आज पनि त्यो रहर मरेको रहेनछ । उनी भन्छन्– ‘मलाई फिल्म खेलाउने हो भने एक–दुई करोड बजेटको फिल्ममा काम गरेर के गर्नु ? बाहुबलीजस्तो फिल्म बनाउनु पर्छ र त्यस्तो लगानी गर्न सक्नेको फिल्ममा मात्र काम गर्छु म त !’ अघोरको यो डिमाण्ड आफ्नो रहर पूरा गर्नको निम्ति हो वा फिल्ममा अफर गर्नेहरूलाई पन्छाउनका लागि हो, योचाहिँ प्रष्ट भएन ।