ओमानमा कार्यरत नेपाली इञ्जिनियर, जो गर्छन् यस्ता अनुकरणीय काम

ओमानमा कार्यरत नेपाली इञ्जिनियर, जो गर्छन् यस्ता अनुकरणीय काम


■ आरके श्रीवास्तव, ओमान

ओमानमा रहेका नेपालीहरू पेशागत रूपले विविध क्षेत्रमा क्रियाशील छन् । काम कुनै ठूलो र सानो भन्ने त हुँदैन, सबैले आ–आफ्नो रुचि, क्षमता र परिवेशअनुसारको कर्म गर्ने हो । आफूले गरेको कर्मप्रति प्रतिबद्ध र इमानदार रहनुपर्छ, त्यसले नै व्यक्तिलाई सफल या असफल तुल्याउने हो ।

यो भूमिकासहित यहाँ एक यस्ता युवाको चर्चा गर्न लागिएको छ जो बितेको करिव एक दशकदेखि ओमानमा एक सर्वे इञ्जिनियरको रूपमा कर्मशील छन् । पसिना ओमानमा बगे पनि उनको मन–मुटू स्वदेशकै सम्झना र प्रेममा हरदम तरङ्गित भइरहन्छ, जसरी विदेशमा रहेका तमाम नेपाली युवाको मन नेपालप्रति नै समर्पित रहेको हुन्छ ।

स्वदेशको माया हृदयमा बोकेर विदेशमा कर्म गरिरहेका यस्तै नेपालीमध्येका एक विरोज लामाको जीवनका भोगाईहरू केही जान्ने प्रयास यहाँ गरिएको हो । मकवानपुर जिल्ला, भीमफेदी गाउँपालिका वार्ड नं. ४ चिउरीबँगैचाका विरोज लामा (विनोद) धेरै लामो समयदेखि खाडी मुलुक ओमानमा सर्वे इञ्जिनियर पेशामा काम गर्दै आइरहेका छन् ।

विगत १० वर्षदेखि लगातार डिजर्ट लाइन प्रोजेक्ट हुँदै गल्फ पेट्रोकेमिकल सर्विस एलएलसी ओमान कम्पनीमा कार्यरत उनी घटना र विचारसँगको कुराकानीमा यस्तो भन्छन्– ‘बाध्यताले विदेश पलायन भएँ । यो अवधिमा लगभग आफ्ना कतिपय सपना पनि पूरा गरियो र यहाँबाट समाजसेवा गर्नुको साथै धेरै नयाँ काम सिक्ने पनि अवसर मिलेको छ । अब आउने दिनमा नेपाल गई यहाँ सिकेका कुराहरूलाई सदुपयोग गरी नयाँ केही गर्ने र आफ्नो बाँकी अध्ययनलाई पूरा गर्ने विचार छ ।’

सन २००५ मा थापाथली इन्जिनियरिङ कलेज (टियू)बाट डिप्लोमा इन सिविल इन्जिनियर र मकवानपुर मल्टिपल कलेज हेटौंडाबाट सोसल साइन्सअन्तर्गत ब्याचलर डिग्री अध्ययन पूरा गरेका छन् ।

अध्ययनलगत्तै जापान सरकारको सहयोगमा निर्मित सिन्धुलीदेखि बनेपासम्म फेज २ अन्तर्गत रोड कन्ट्रक्सन प्रोजेक्टमा क्वान्टिटी सर्वे इन्जिनियरको रुपमा काम गरेका थिए ।

सन २००७ देखि हेटौंडा उपनगरपालिकामा नयाँ बसपार्क निर्माणका लागि सिनियर सिभिल सुपरभाइजरको रुपमा कार्यरत साथै युसेफ नेपाल आइएनजिओ र सिटिइभिटिको सहकार्यमा भूकम्पप्रतिरोधात्मक भवन निर्माण र वैदेशिक रोजगारमा जानेहरूलाई सीपमुलक तालिमका लागि प्रशिक्षकको रुपमा पनि कार्यरत रहेका थिए ।

साथीहरूको सहकार्यमा इन्जिनियर कन्सलटेन्सीबाट हेटौंडा नगरपालिकामा आनेकोउ भुकम्पप्रतिरोधात्मक भवनको नक्सा डिजाइन, लागत अनुमान इस्टिमेसन, बैकिङ भ्यालुएसन जस्ता कार्यहरू उनले गरे ।

आज पनि हेटौंडामा उनको डिजाइनमा बनेका भवनहरू देख्नेले खोजी गर्ने गर्दछ, र सम्पर्कमा आउनेहरूलाई छुट्टीमा नेपाल जाँदा भ्याएसम्म उनले सेवा दिने पनि गर्दछन् ।

अध्ययनलाई अझै निरन्तर गर्ने उद्देश्यले अध्ययनसँगै काठमाडौंमा सिभिल हाउजिङ प्रोजेक्टअन्तर्गत सुनाकोटी ललितपुर फेज ३ हाउजिङ कोलेनी र सुन्धारास्थित सिभिल मल निर्माणमा सिभिल सुपरभाइजरको रुपमा कार्यको साथै पार्ट इन्जिनियरिङ कन्सलटेन्सिबाट आनेकोउ नेपालको ग्रामीण रोडको सर्वे डिजाइन इस्टिमेसन कार्य गरेका थिए ।

वैदेशिक रोजगारको कुनै इच्छा नभई नेपालमै केही गर्नुपर्छ भन्ने सोच हुँदाहुँदै पनि बाध्यताले विदेश पलायन हुनुपरेको उनी बताउँछन् ।

थोरबहुत पैसा र काठमाडौंमा एउटा घर अत्यन्त आवश्यक रहेछ भन्ने महसुस हुनुका साथै यस्तै–यस्तैै विभिन्न पारिवारिक समस्याले गर्दा आफ्नो अध्ययन अनि कामलाई त्यत्तिकै थाती राखी सन् २०१० मा वैदेशिक रोजगारको सिलसिलामा सर्वे इञ्जिनियर कामको लागि विरोज ओमान आइपुगेका थिए ।

आफ्नो भाइ हेटौंडा अमलेखगञ्जमा गाडी एक्सीडेन्ट भई उपचारको लागि काठमाडौंमा ल्याउँदै गर्दा एक्कासी भाइसवार गाडी नै त्रिशुली नदीमा खस्न गई सम्पुर्ण गाडीमा सवार व्यक्तिहरू लापत्ता भए पनि भाइ बाँच्न सफल भएका थिए । पहिल्यै एक्सीडेन्ट भएको भाइ फेरि एक्सीडेन्ट हुँदा ठुलो चोटपटक लागेकोले बीएण्डबी हस्पिटलमा महिनौं उपचार हुँदा धेरै नै खर्च लागेकोले पैसाको अभाव र काठमाडौंमा घरभाडामा बस्दा घरबेटीको अत्याचारले गर्दा जसरी पनि अलिक कमाउनैपर्ने रहेछ भन्ने भाव उनमा पैदा भयो ।

थोरबहुत पैसा र काठमाडौंमा एउटा घर अत्यन्त आवश्यक रहेछ भन्ने महसुस हुनुका साथै यस्तै–यस्तैै विभिन्न पारिवारिक समस्याले गर्दा आफ्नो अध्ययन अनि कामलाई त्यत्तिकै थाती राखी सन् २०१० मा वैदेशिक रोजगारको सिलसिलामा सर्वे इञ्जिनियर कामको लागि विरोज ओमान आइपुगेका थिए । आफ्नो मेहनत र लगनशीलले गर्दा केही वर्षमै पदोन्नति भई सिनियर सर्वे इन्जिनियर हुने अवसर उनले पाए ।

वैदेशिक रोजगारीमा रहेर पनि आफ्नो कामको साथसाथै आफ्नो देश र समाजप्रति समाजसेवाको भावना जागृत भई आफ्नो जाति धर्म–संस्कृतिको जगेर्ना गर्नुको साथै समाज सेवा गर्ने उद्देश्यले उनले ओमानमा रहेका सक्रिय तामाङ समुदायका दाजुभाइ–दिदीबहिनीको साथमा सन् २०१४ मा नेपाल तामाङ समाज ओमान स्थापना गरेका थिए । नेपाल तामाङ समाज ओमानबाट आफ्नै संयोकत्वमा आर्थिक संकलन गरी ओमानमा दुःख पाएका नेपालीलगायत नेपालमा धेरै सामाजिक कार्य र दीन–दुःखीहरूलाई सहयोग गर्ने गरेका छन् ।

समाजको वरिष्ठ उपाध्यक्ष रहेका उनले २०७२ मा विनासकारी भूकम्प जाँदा अर्थ संकलन गरी राहत वितरण, तराई डुबान हुँदा बस्ती निर्माणको लागि आर्थिक सहयोग, नेपालमा धेरै ठाँउमा गुम्बा निर्माणको लागि आर्थिक सहयोग धेरै बिरामीहरू क्यान्सरपीडित, मृर्गौलापीडित, अपाङ्ग र करेन्ट लागेर घाइते भएका दुःखीहरूलाई आर्थिक सहयोग, शैक्षिक कोषअन्तर्गत आर्थिक अवस्था कमजोर भएको टुहुरा अपाङ्ग बालबालिकाहरूलाई छात्रवृत्ति उपलब्ध र साथै आफ्नो जातित्वको चाँडपर्व संस्कृतिअन्तर्गत बुद्धजयन्ती, ल्होछार पर्वमा ओमानमा रहेका नेपालीहरूलाई एकीकृत गरी वृहत सांस्कृतिक कार्यक्रम आयोजना पनि गराउने गर्छन् ।

यसरी आफ्नो बाध्यताले विदेशमा पसिना बगाएर पनि आफ्नो देश र आफ्ना दाजुभाइ–दिदीबहिनीप्रतिको कर्तव्य निर्वाह गर्न हरदम लागिपर्ने इञ्जिनियर विरोज हामी विदेश बस्ने सबै नेपालीका लागि एक अनुकरणीय पात्र बनेका छन् । सलाम छ विरोजलाई, सुकर्म अघि बढिरहोस् ।