बिनाधरातलको हावामा उडिरहेको छ एनआरएनए आईसीसी

बिनाधरातलको हावामा उडिरहेको छ एनआरएनए आईसीसी


■ रविचन्द्र भट्टराई

झट्ट नाम सुन्दा मात्र होइन, व्यवहारमा पनि संसारको एक नम्बरको संस्था हो संयुक्त राष्ट्रसङ्घ । जसरी संयुक्त राष्ट्रसङ्घको कुनै घेरा छैन त्यसरी नै नेपाल र नेपालीको सेवा, सहयोग र नेपालप्रतिको संलग्नतामा एनआरएनएको कुनै सिमाना छैन । उस्तै उद्देश्य, उस्तै चाहना अनि उस्तै परिकल्पनाबाट तयार भएको संस्था भएर पनि किन नेपालीको एनआरएनए यति निरीह बन्दै छ, सोचनीय विषय छ यतिखेर ।

५१ देशबाट शुरु भएको संयुक्त राष्ट्रसङ्घ अहिले १९३ देशमा कार्यरत छ । त्यसैगरी एनआरएनए पनि संसारभर ७८ देशका नेपाली माझ आफ्नो प्रभुत्व जमाउँदै छ । पूर्वअध्यक्ष शेष घले एनआरएनएलाई संयुक्त राष्ट्रसङ्घजस्तै शक्तिशाली अथवा नेपालको परिवेशमा त्यस्तै मोडलको एउटा संस्था बनाउन चाहन्थे, तर सफल हुन सकेनन् । शायद अब त्यस्तै भिजन भएको कुनै अर्को लिडर आउलाजस्तो लाग्दैन ।

जसले जे भने पनि शेष घले अरूभन्दा फरक थिए । त्यसकारण उनलाई रुचाइएन र जमुना घलेले भवन भट्टसँग लज्जास्पद हार व्यहोर्नुपऱ्यो । तैपनि उनले पछिल्लो निर्वाचनमा गरेको खर्च आधा अर्ब नाघेको थियो भन्ने कुराहरू यत्रतत्र सुनिन्छ । राम्रो भिजन हुँदाहुँदै पनि घले सङ्घमा एक्ला पूर्वअध्यक्ष हुन् । जसको कुरा अरू पूर्वअध्यक्षहरूले सुन्दैनन् ।

एनआरएनए र संयुक्त राष्ट्रसङ्घ हुनुपर्ने उस्तैउस्तै थियो । यी दुईमा फरक त्यत्ति हो, संयुक्त राष्ट्रसङ्घले संसार हेर्दछ भने एनआरएनएले नेपाल मात्र हेर्दछ । जसरी संयुक्त राष्ट्रसङ्घका सदस्यराष्ट्रहरू छन् भने एनआरएनएका प्रत्येक देशहरूमा शक्तिशाली नेपाली भावना भएका ७८ वटा एनसीसीहरू छन् । यदि शेष घले सफल हुन्थे भने आज एनआरएनएको अवस्था अर्कै मोडमा जाने थियो, तर त्यो हुन सकेन । एनआरएनए किन नेपालको लागि संयुक्त राष्ट्रसङ्घजस्तो संस्था हुन सकेन ? आउनुस् नबुझेका कुराहरू खोतलौँ ।

संसारमा वीर गोर्खाली भनेर चिनिने नेपालीको सबैभन्दा ठूलो कमजोरी भनेको भावना हो । भावनामा बग्यो भने नेपाली पहाडबाट छिनमै फेदीमा आइपुग्छ, छिनमै आफूलाई पहाडजत्तिकै अग्लो पनि ठान्छ । नेपालको लागि संसारभर बस्ने नेपालीको भावना जति बलियो भए पनि समग्रमा हामी नेपालीको योजत्तिको ठूलो कमजोरी अरू केही छैन । त्यसकारण पनि नेपाली जहाँ पनि ठगिएका उदाहरण छन् । हरेक दिन कुनै न कुनै विषयमा हुने सामाजिक सञ्जालका भाइरल पनि यही भावनाका उपज हुन् ।

एनआरएनएका जन्मदाता उपेन्द्र महतोले जुन उद्देश्यका साथ नेपालीलाई एकजुट गरे पनि एनआरएनएलाई उनले भऱ्याङकै रूपमा प्रयोग गरे । उनले भावनाकै व्यापार गरे र सफल भए । अझै पनि जति नै पटक उनका भाषण सुन्दा हामीलाई उनले नेपाल र नेपालीका भावनाकै कुरा गरेर अलमल्ल पारिदिन्छन् । यति मीठो कुरा गरिदिन्छन् कि साँच्चै यिनी त देशका लागि केही गर्ने जस्तो रै’छन् कि झैँ पारिदिन्छन् । यो उनको खुबी हो । त्यति मीठो बोल्न सक्ने एनआरएनएमा अरू कोही छैनन् ।

डा. महतो रसियामा अध्ययन गरेका चिकित्सक हुन्, तर पेसाले उनि व्यापारी हुन् । उनीसँग भएको धनको कुरा गर्न सकिँदैन, अड्कल काट्ने हो भने नेपालका सबैभन्दा धनी उनी नै हुन् । उनको व्यवसाय एनआरएनएमा आउनुअगाडि रुस, बेलारुस, साइप्रसलगायत युरोपका अन्य देशहरूमा सीमित थियो, तर एनआरएनएमा पाएको सफलतापछि उनको लगानी नेपालमा देखिन थाल्यो । नेपालमा निर्माण तथा पूर्वाधार, स्वास्थ्य सेवा, दूरसञ्चार, कृषि, घरजग्गा, पर्यटन, मिडिया, बैंकिङ, बिमा आदिमा उनको लगानी छ । निर्वाचनको बेलामा सबै पार्टीका नेताहरूलाई सबैभन्दा धेरै चन्दा दिनेमा पर्दछन् उनी । उनको आफ्नो पार्टी छैन, तर चाहेको बेला जुनसुकै पार्टीका सांसद खरिद गर्न सक्ने हैसियत राख्छन् उनी । उनको अधीनमा यो विधि धन कसरी आयो ? नेपालमा लगानी गर्दा त नेपाली खुसी हुनुपर्ने होइन र ? यी गम्भीर विषयमा एनआरएनहरूको ध्यान पुग्नु जरुरी छ । अब विषय बदलौँ एनआरएनएको भविष्यको ।

एनआरएनए जसरी सङ्गठित भयो त्यसरी शक्तिशाली हुनचाहिँ सकेन । संयुक्त राष्ट्र सङ्घको अवधारणा र एनआरएनको उद्देश्यमा त्यही नै एउटा मात्र कुरा फरक छ । संयुक्त राष्ट्रसङ्घ सङ्गठनको आस्था, मर्म र अवधारणाअनुसार चल्छ र कुनै पनि भावनाको व्यापार त्यसले गर्दैन । संयुक्त राष्ट्रसङ्घमा सङ्गठनभन्दा व्यक्ति ठूलो हुनै सक्दैन जति पनि शक्ति सञ्चय हुन्छ त्यो सङ्गठनको मजबुत पिल्लर बनेर बस्दछ र त आज संयुक्त राष्ट्रसङ्घ संसारको एक नम्बरको संस्था बन्न पुगेको छ । संयुक्त राष्ट्रसङ्घ र एनआरएनए उस्तै भनेर उत्तिकै शक्तिशाली हुन्थ्यो भन्न खोजेको पनि होइन ।

नेपालका लागि या संसारका अरू कुनै देशका लागि संयुक्त राष्ट्रसङ्घको जति मान्यता छ, त्यति नै अथवा त्योभन्दा धेरै मान्यता एनआरएनएको नेपाल र नेपालीको बीचमा हुन सक्थ्यो । तर, विडम्बना ! सुरुवातीका दिनदेखि नै संस्थाभन्दा व्यक्ति ठूलो हुने चलन बसिदियो र एनआरएनए एउटा फड्को मार्ने प्लेटफर्मको रूपमा मात्र सीमित हुन पुग्यो । एनआरएनए व्यक्ति सफलताको एउटा माध्यम मात्र बन्न पुग्यो । आज जति पनि एनआरएनएमा समाजसेवा गर्छु भनेर आउछन् त्यो भ्रम हो । मान्छेहरू प्रतिष्ठाका लागि त्यहाँ आएका छन् । हिजोदेखि नै एनआरएनए प्रतिष्ठा सञ्चित गर्ने माध्यम बनेको हुनाले विदेशमा भएका जो पनि यस पदमा लोभिने अवस्था बनेको छ । यो तीतो सत्यलाई पदाधिकारीहरूले उही भावनाको व्यापारमा मिसाएर चोखिने गर्दछन् ।

छातीमा हात राखेर भन्ने हो भने विदेशमा बस्ने नेपालीलाई दोसल्लाको, पदको, सम्मानको, मञ्चमा गएर भाषण गर्ने मानसिक रोगको स्थापना गराउने नै एनआरएनए हो । एनआरएनएले कुनै पनि संस्थामा व्यक्तिको प्रतिष्ठा, विख्यात र व्यक्तिलाई विशिष्ट बनाउने मात्रै काम गऱ्यो । संसारभरिका एनआरएनहरूलाई दोसल्लाको रोगी बनायो । सङ्गठनमा लागेका व्यक्तिहरू भऱ्याङ चढेर बलिया भए र सङ्गठन जस्ताको तस्तै रह्यो । यो क्रम हिजो पनि त्यही थियो र आज त्यही छ । विडम्बना ! भोलि हुने पनि त्यही हो ।

संसारमा राष्ट्रियताको भावना सबैभन्दा शक्तिशाली भावना हो । एनआरएनमा त्यो भावना नेपालमा बस्ने नेपालीको भन्दा धेरै छ । जब एनआरएनएमा कुनै समस्या आउँछ लिडरहरू त्यही भावनाको मल्हम लगाउँछन् र अघि बढ्छन् । डा. महतो सबैभन्दा धेरै भावनाको खेल खेल्न सक्ने खेलाडी हुन् ।

जसरी यही प्लेटफर्मको प्रयोग गर्दै डाक्टर एउटा धनाढ्य व्यापारीको रूपमा नेपालमा स्थापित हुन सके ठीक त्यसरी नै भावनाको अर्को खेती गर्न तम्सिए अर्का नेता जीवा लामिछाने । यिनले पनि त्यही प्रतिष्ठाको आडमा बसेर महतो जति सफल नभए पनि ठूलो फड्को मारे । यतिखेर यिनको रसिया, युरोपलगायत नेपालमा ठूलो लगानी छ । एनआरएनका नेताहरूको लगानी कहाँबाट आउँछ र त्यसको यथार्थ के हो ? यो बुझ्नु जरुरी छ । र, एनआरएनका नेताहरूको चल्दै नचलेको रेस्टुरेन्ट अथवा होटेल पनि उत्पात नाफामा गएको हल्ला चलाउन लगाउँछन् । आखिर किन ? यी गम्भीर विषय हुन् ।

जीवा लामिछाने पूर्वअध्यक्ष भएर पनि आउँदै गरेको निर्वाचनमा भने उनको रोल प्रमुख रहनेछ । उनले जसलाई चाह्यो त्यही नै नयाँ नेतृत्वमा आउने अवस्था छ र त्यसको लागि उनले आवश्यक साम, दाम, दण्ड र भेदका सबै प्रक्रिया अपनाउने पक्का छ । एनआरएनए कब्जामा राख्ने पूर्वअध्यक्षहरूमा जीवा लामिछाने महतोपछि दोस्रो वरीयातामा पर्छन् । जीवा लामिछानेपछि आए शेष घले, तर उनी एनआरएनएमा आउनुअघि नै प्रतिष्ठित व्यक्तिमा गनिन्थे, जसले गर्दा एनआरएनएमा एउटा आशा पलायो, तर उनले खासै केही लछार्न भने सकेनन् । उनैले ल्याएको भिजन ट्वान्टी–ट्वान्टी पनि श्रीमतीको हारपछि सेलायो ।

दुईपटक अध्यक्ष भएपछि या त हिराचन जस्तै भएर रहनुपर्थ्यो नत्र उनै एलाइट क्लबको सदस्य मात्र भएर रहनुपथ्र्यो । शेष घलेमा यी दुई विकल्प मात्रै थिए । तर, उनले हिराचनको बाटो अपनाएको भए राम्रो हुने थियो । संसारभरका एनआरएनहरूले एनआरएनएको यथार्थ थाहा पाउँथे, तर शेष घलेले हिराचन बनेर बस्नुभन्दा एलाइट ग्रुपको सदस्य बनेर बस्न फाइदाजनक ठाने । आफ्नो कार्यकालमा खासै केही गर्न नसके पनि शेष घलेका कारण एनआरएनएले नेपालमा ठूलो प्रसिद्धि भने कमाउन सफल भएको हो ।

एनआरएनएमा सबैभन्दा धेरै वितृष्णा पलाएको चाहिँ वर्तमान अध्यक्ष भवन भट्टकै पालामा मात्र हो । एनआरएन भवन, लाप्राक परियोजनाले गर्दा शेष घलेले गर्दा कमाएको प्रसिद्धिमा भवन भट्टको पालाको एनआरएनएमा गिरावट आएको हो । जहाँ पनि जाँड खाएर पुग्ने बानीले उनलाई ओहोदामा रहने हैसियत भएको देखिन्न । भर्खरै मात्र नेपाल एयरपोर्टबाट सिंगापुर जाँदै गर्दा जाँड खाएर होहल्ला गरेको आरोपमा उहाँलाई जहाजबाट बाहिर निकालिएको खबरले सञ्जाल भरिएको थियो ।

जसरी नेपालमा जनताबाट भोट लिएर पटकपटक नेताहरूले आजसम्म राज्य लुटिरहे, त्यसैगरी संसारभर रहेका एनआरएनहरूको एनसीसीहरूबाट चुनिएको प्रतिनिधि बनेर प्रसिद्धिको व्यक्तिगत सदुपयोग गरी तिनै लिडरहरूले नेपाल र नेपालीको भावनाको खेती गर्दै एनसीसीहरूलाई लुटिरहेका छन् । शासन गरिरहेका छन् । एकलौटि रूपमा हिजो पनि तिनै महतो, जीवा, घले र भट्टकै राज थियो, आज पनि छ र भोलि पनि तिनैको नै हुनेछ । त्यसकारण पनि एनआरएनए संस्थाको रूपमा कहिल्यै पनि शक्तिशाली हुनै सक्दैन । यसरी नै प्रत्येक दुई वर्षमा भावनाको व्यापार गर्दै धेरै महतो जन्मिरहनेछन् भने धेरै हिराचन पलायन भइरहनेछन् । यिनीहरूलाई आवश्यक परेको बेलामा सबै एकजुट भएर तपाईं–हामीमाझ भावनाको मल्हम लिएर आउँछन् र त्यही भावनामा हामी पटक–पटक बगिदिन्छौँ ।

एनआरएनएको परिकल्पना नै साङ्गठानिक नियन्त्रण सधैँभर पकडमा राख्ने गरेर बनाइएको छ र पटकपटक संशोधित विधानले झन् तिनैलाई अझ थप मझबुत बनाइराखेको छ । एनआरएनएको विधानमा सम्पूर्ण अधिकार भएको एक मात्र परिषद् छ त्यो हो संरक्षक परिषद् । त्यसकारण जुन उद्देश्यले यो संस्था आजसम्म चलेको छ त्यही उद्देश्यले भोलि पनि चल्छ । किनभने उनीहरू चाहँदैनन् यहाँ त्यस्तो कुनै व्यक्ति आओस् र केही परिवर्तन गरोस् । दुई–दुईपटक अध्यक्ष चलाएका सर्वमान्य एनआरएन नेता शेष घलेलाई समेत पाखा लगाएर एक्लो बनाउन सक्ने खुबी के छ महतो र जीवामा । त्यस्तो ठाउँमा अरू को आएर परिवर्तन गराउला र ? अध्यक्ष मात्र होइन सङ्घमा अर्को महत्वपूर्ण पद हुन्छ महासचिव र त्यो पदमा विजयी हुन पनि महतो र जीवाकै आशीर्वाद पाउनुपर्छ ।

धेरै मानिसलाई यो भ्रम छ कि एनआरएनएले नेपालको समृद्धिमा सहयोग गर्न सक्छ । नेपालमा लगानी गर्न सक्छ । के–के न गर्ला एनआरएनएले भनेर मुख ताकेर बस्ने, आस गर्ने बानी छ । त्यो भ्रममा नपरे हुन्छ । एनआरएनएले भावनाको व्यापारभन्दा अरू केही गर्न सक्दैन । निर्वाचनका लागि दुई–चारवटा योजना हात्तीका देखाउने दाँत हुन् । सामूहिक लगानी भनेर उर्लेको १० वर्षभन्दा धेरै भयो अझै कुनै अत्तोपत्तो छैन ।

हरेक लिडरले स्रोत नखुलेका अर्बौं सम्पत्तिको लगानी विश्वभर छरिरहेका छन् कहाँबाट आउँछ त्यो सब ? तर, संस्थाको नयाँ भवन भने सरकारी हुने अवस्थामा छ । लाप्राकमा ३० वटा ट्वाइलेट बनाउन सबै एनसीसीसँग भिख माग्नु परेको छ । अहिलेसम्म कर्मचारी पालेको एनसीसीबाट लिने सदस्य शुल्क नै हो । सानो केही प¥यो भने एनसीसीहरूसँग बिन्तीभाउ गर्नुको अर्को विकल्प छैन । आखिर किन यस्तो हुन पुग्यो एनआरएनए ? अब बहस नगर्ने हो भने यसको साख झन् अरू गिर्नेछ ।

विरोध गर्नेहरूले एनआरएनएलाई धनीहरूको ‘एलाइट क्लब’ त्यसै भनेका होइनन् । एनआरएनएले नेपालमा जति सेवा गर्छ त्योभन्दा सय गुणा धेरै सम्मेलन र भेलाहरूमा खर्च गरेको छ भन्दा झट्ट विश्वास लाग्दैन । कुनै पनि क्षेत्रीय सम्मेलन हुँदा एनआरएनहरूको दशदेखि पन्ध्र करोड नेपाली रुपैयाँ स्वाहा हन्छ । त्यस हिसाबले युरोपले मात्र नेपालीको दुई अर्ब रुपैयाँ सम्मेलनमा मात्र सकिएको छ । त्यस्तै अरू क्षेत्रहरूमा पनि त्यहीअनुसारको खर्च गरेका हुन्छन् । नेपालमा हुने ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलनको त कुरै नगरौँ ।

गत चुनावमा भवन भट्टले मात्र २० करोडभन्दा धेरै व्यक्तिगत खर्च गरेको खुलासा भएको थियो । ठीक त्यस्तै अरूले पनि गरे । अझ लाजमर्दो विषय त यो छ कि नेपाल सरकारले नै २५–३० लाख रुपैयाँ सम्मेलनका लागि भनेर सहयोग गर्दछ । यी आर्थिक पक्षहरूलाई फेरि नियाल्नुको अर्को विकल्प छैन । एनआरएनएमा शुद्धीकरण गर्नुपर्ने प्रमुख पक्ष नै आर्थिक पक्ष हो ।

एनआरएनएलाई नेपाल र नेपालीका लागि संयुक्त राष्ट्रसङ्घजस्तै बलियो बनाउन नसकिने होइन । अबको कुनै पनि एउटा कार्यकालमा यो आमूल परिवर्तन गर्न नसकिने पनि होइन । तर, यतिखेर संसारभर भएका एनआरएनले चाहेर पनि त्यो सम्भव छैन । किनभने, एनआरएनएको विधान र सम्पूर्ण अधिकार महतोदेखि भट्टसम्म मात्र सीमित छ । भोलिको नेतृत्व कसलाई दिने यिनीहरूकै हातमा छ । र, यिनीहरूकै विश्वासमा भएकाहरूलाई नेपालका राजनीतिक पार्टीले समर्थन गरेपछि मात्र जन्म हुन्छ नयाँ नेतृत्व । अबका कुनै पनि लिडरले यी सबै अवरोध पार गर्दै त्यहाँ पुग्न तिनकै आशीर्वाद नभई हुँदैन । यहीँनेर आएपछि एनआरएनको भविष्य कस्तो छ भन्ने बुझिन्छ ।

सोझा एनआरएनलाई लाग्छ– हामीले फलानोलाई जिताइयो, अब केही गर्छ । तर, विडम्बना ! त्यसको ग्रान्डडिजाइन यिनै संरक्षक समिति र नेपाली राजनीतिक दलहरूले गरेका हुन्छन् भन्ने झिल्कोसम्म हामीले थाहै पाउँदैनौँ । किन गरेका छन् नेपाली राजनीतिक दलहरूले एनआरएनएको नेतृत्व तहको संरक्षण, किन भइरहेको छ एनआरएनमा राजनीतिक घुसपैठ ? यी कुरा एनआरएनएका लिडरले कमाएको भनिएको अकुत सम्पत्तिसँग जोडिएको हुनाले एनआरएनएको आर्थिक पक्षमा शुद्धीकरण हुन जरुरी छ ।

पछिल्ला केही वर्षयता खुल्लमखुला भोट खरिद–बिक्री गर्ने क्रियाकलापले त एनआरएनए अब कसरी अगाडि बढ्ला भन्नेमा शङ्का उत्पत्ति भएको छ । २०औँ करोड खर्च गरेर सामाजिक संस्थाको नेता बन्नेले त्यो खर्च गरेको रकम नउठाउला भनेर त सोच्न नै सकिन्न । अब कुरा मात्र यति रह्यो त्यति धेरै रकम खर्च गरेर त्यहाँ जानेले कहाँ र कसरी पैसा उठाउनेछन् अबको सच्चा एनआरएनले बुझ्नु आवश्यक छ । खर्च गर्नेको कुरा मात्र होइन, त्यो खर्च गराएर आफ्नो पेट भर्नेहरूको पनि लेखाजोखा हुनु आवश्यक हुन्छ ।

अर्को अचम्मको कुरा के छ भने भोट खरिद–बिक्री गर्ने नै यही नेतृत्व तहकाले हो । त्यसो गर्नु भनेको उनीहरूको आफ्नो बाटो सुरक्षित राख्नु मात्र हो । एउटा सामान्य मान्छे जतिसुकै सामाजिक सेवाको भावना भए पनि नेतृत्व गर्न पाउने अवस्थामा आउनै नसक्ने बनाइएको छ, जसले गर्दा एलाइट क्लबको शासन एनआरएनएमा सदा चलिरहनेछ । सामान्यस्तरबाट माथि उक्लिँदै गरेको नेतृत्वलाई त्यस पदमा करोडौँ खर्च नगरी जितौँला भन्ने नसोचे पनि हुन्छ । निर्वाचनको बेलामा सदस्यशुल्क २० हजार बनाएर सबै शुल्क आफैँ तिरिदिन्छन् । सबै आफैँले तिर्ने भएपछि किन २० हजार बनाउनुप¥यो ? २० रुपैयाँ बनाए हुँदैन ? ता कि त्यहाँ नेटवर्क नगरिएका भोटहरूको लागि निर्वाचन चासोको विषय नहोस् ।

कुनै पनि पदमा उम्मेदवारी दिन दुईदेखि १० लाख लाग्छ, ता कि त्यहाँ एलाइट क्लबभन्दा अरूले सोच्न पनि नसकून् । के सार्क राष्ट्रमा बस्ने नेपाली गैरआवासीय नेपाली होइनन् ? वर्षौँदेखि विदेशी भूमिमा बसेका पीडा तिनमा पनि त्यत्ति नै छ, किन तिनीहरूलाई समेट्न सक्दैन यो एनआरएनएले ? यसको मुख्य कारण त्यहाँका नेपालीको सङ्ख्या धेरै देखेर, सदस्यता धेरै भयो भने आफ्नो नियन्त्रणबाहिर एनआरएनए जाने सम्भावना हुनेछ । त्यसभन्दा पनि अर्को महत्वपूर्ण कुरा के छ भने अनलाइन भोटको व्यवस्था । अनलाइन भोट हाल्ने पद्धति भयो भने सदस्य शुल्क तिरिदिएर नियन्त्रण गर्न असम्भव नै हुनेछ ।

हरेक देशका हरेक सदस्यले भोट हाल्न नपाउनका लागि अनेक प्रावधानहरू बनेका छन् त्यसको मुख्य उद्देश्य नै नेतृत्व क्षमतामा हस्तक्षेप होला कि भन्ने डर हो । त्यति धेरै काँडेतारहरू राखेर पनि उनीहरूमा डर यथावत् छ । एनआरएनएलाई अर्को एराबाट कसैले लैजाला कि भन्ने डर । र, त्यो अन्तिम डरको सुरक्षार्थ स्थापना गरिएको थियो संरक्षक परिषद् । संरक्षक परिषद्को अन्त्य नभएसम्म जति नै शेष घले आए पनि, जस्तासुकै भिजन ल्याए पनि एनआरएनए नेपालीका लागि संयुक्त राष्ट्रसङ्घभन्दा महत्वपूर्ण बन्न सक्दैन । भिजन ट्वान्टी–ट्वान्टी होइन भिजन ट्वान्टी फोर्टीको पालामा पनि एनआरएनएको अवस्था यही रहनेछ ।

एकातिर यिनको उद्देश्य नै व्यक्तिगत प्रतिष्ठामा अड्किएको र अर्कोतिरर सङ्गठन आफ्नो मुठ्ठीमा रहिरहने प्रावधान भएको हुनाले एनआरएन विदेशमा बस्ने सबै नेपालीको पहुँचको सामाजिक संस्था भन्दै केही धनाढ्यहरूले नेपाली भावनाको व्यापार गर्ने प्लेटफर्मको रूपमा प्रमाणित भइसकेको छ । तैपनि यो व्यक्तिगत प्रतिष्ठा मात्र उकास्ने संरचना भएको सञ्जाल नेपाल र नेपालीको राष्ट्रिय भावनासँग जोडिएको हुनाले अत्यधिक बलियो छ र त्यति सजिलै तोडिने अवस्थामा पनि छैन । हरेक एनसीसीहरूमा केही त्यस्ता प्रतिनिधि छन् जसले त्यही प्रतिष्ठाको प्राप्तिका लागि आशा गर्दै ती धनाढ्यहरूसँग मिलेर फड्को मार्ने जमर्को गर्छन्, अन्धोभक्त भनेर तिनको वर्णन गर्छन् र त्यहाँका एनआरएनलाई भ्रममा पार्न सहयोग गर्छन् ।

समय परिवर्तनशील छ । मान्छेलाई झुक्याउन जति सजिलो छ अहिलेको जमानामा चेतना पलाउन पनि त्यति नै सजिलो छ । एलाइट क्लबको सदस्य बनेर नेपाल र नेपालीको नाममा भावनाको जुन लिलाम भइरहेको छ, त्यो रोकिनुपर्छ । गैरआवासीय नेपाली सङ्घलाई संयुक्त राष्ट्रसङ्घजस्तो बलियो बनाउन नसके पनि नेपालका लागि संयुक्त राष्ट्रसङ्घभन्दा महत्वपूर्ण बनाउन सकिन्छ । त्यसका लागि मात्र दुईवटा उपाय छन् ।

१, एलाइट क्लबका धनाढ्यहरूको एनआरएन कब्जा गर्ने विधान परिवर्तन र संरक्षक परिषद् नै खारेज गरी सबैको पहुँचमा पुग्न माथि उल्लेख गरिएका सम्पूर्ण कमजोरी हटाउनुपर्छ । जबसम्म संरक्षक परिषद् रहन्छ तबसम्म संस्थाले नयाँ उचाइ लिन सक्दैन ।

२, यदि त्यसो गर्न एनआरएनए असमर्थ भएको खण्डमा संसारभर रहने नेपालीले सबै एनसीसीको माध्यमबाट संरक्षक परिषद्को बहिष्कार गर्दै विधान सभाका लागि अनुरोध गर्नुपर्छ र त्यसमा एनआरएन शुद्धीकरण अभियान नै थालिनुपर्छ ।

त्यति गरिसकेपछि आएको नेतृत्वले जति पनि एनआरएनए एलाइट क्लबका धनाढ्यहरूका लगानीहरू छन् निष्पक्ष छानबिन गर्न दबाब दिने हो भने संसार जति नै ठूलो भए पनि प्रविधिले आर्थिक, राजनीतिक र आपराधिक क्रियाकलापको बाटो झन् साँघुरो बनाउँदै गइरहेको छ । धेरैथोक भन्न चाहन्न किनकि एक दिन सबैथोक छर्लङ्ग हुनेछ ।

यस्तो शुद्धीकरणको अभियानमा कोही पनि डराउनुपर्दैन । संसारभर भएका एनआरएन र ती एनआरएनका एनसीसीहरू सर्वशक्तिमान छन् । किनकि एनसीसीको आफलै धरातल छ । एनसीसीका आफ्नै भर्चुअल सदस्य छन् । खसिएला कि भनेर डराउनुपर्दैन । डराउनुपर्ने आईसीसी हो जुन बिनाधरातलको हावामा उडिरहेको छ । एनसीसीका भर्चुअल सदस्यहरूले सबै आफ्नै भन्ने भ्रमलाई मान्यता दिएको मात्र हो । त्यसकारण आईसीसीको कुनै धरातल छैन । खसिएला कि भनेर डराउनुपर्ने आईसीसी हो । तैपनि एलाइट क्लबका धनाढ्यहरूले एनसीसीलाई नै पटकपटक चाइनाजस्तो बनाइदिन्छु भनेर धम्की दिएको पटकपटक सुनिन्छ ।

वास्तवमा भावनाको खेती गरेर बसेको धरातल नै नभएको आईसीसीलाई एनसीसीले कुनै पनि बेला चाइनाजस्तो बनाउन सक्छन् । संसारभर रहने एनआरएनहरू र तिनका एनसीसीहरूले यी सबै यथार्थ कुरा बुझेका दिन यिनीहरूका ‘गेम अफ दी फेम’ सदाका लागि मेटिनेछ ।

(लेखक पूर्वआईसीसी सदस्य हुन् )

all pic: google

यो पनि हेर्नुहोस्-

एनआरएनएका तीन तह : एक निर्मम अपरेसन
https://www.ghatanarabichar.com/161216