सामाजिक जञ्जाल !

सामाजिक जञ्जाल !


■ दीपेन्द्र पाण्डे

१९ तोपको सलामी पाउने पक्कापक्की गरेर जंगबहादुर राणा बेलायत हिँडे । युरोप यात्राको दौरान उनले महारानी भिक्टोरियासँग बग्गीमा बसेर बेलायतको सौन्दर्य चाख्न पाए । बेलायत भ्रमणको दौरान घटेको एउटा किस्साअनुसार एक दिन उनी महारानीसँगै बग्गीमा घुम्दै गर्दा फुटपाथको मानिसले महारानीलाई एक थप्पड लगाइदिएछ । जंगबहादुरले यस्तो घटना देख्नेबित्तिकै त्यस मानिसलाई तरबार लिएर लखेट्न आँटेछन् । यहाँ त्यसरी मानिस लखेट्न हुँदैन, प्रहरी छ, पक्राउ गरिहाल्छ भनेर महारानीले जंगबहादुरलाई रोकिछिन् । उनले बेलायत बसुन्जेल हरेक दिन सरकारी मानिससँग उक्त घटनाबारे सोधखोज गरिरहे रे ! केही समयपश्चात् त्यस मानिसलाई दुई महिनाको कैद भयो भन्ने सुन्दा उनी दङ्ग परे रे । त्यस घटनाको प्रभावमा परेर उनले मुलुकमा ऐन–नियम बनाए भन्ने इतिहासकार ज्ञानमणि नेपालले उल्लेख गरेका छन् ।

आफ्नो शासनको समयमा मुखले जे बोल्यो, त्यही कानुन हो भन्ने जंगबहादुरले बेलायत भ्रमणपछि मुलुक विधि, विधान, नीति, नियम, ऐन, कानुनअनुसार चलाउनुपर्छ भन्ने महसुस मात्र गरेनन् मुलुकी ऐनसमेत निर्माण गरे । विगतको अन्धकारपूर्ण अवस्थाबाट मुलुकले ठूलो फड्को मार्दै विज्ञान, प्रविधि मात्र होइन राजनीतिमा समेत छलाङ मारेको समयमा समाज भने ‘फास्टट्र्याक’बाट सबै कुरा प्राप्त होस् भन्ने चाहन्छ । मुलुकलाई राजनीतिले डो¥याउनुपर्ने मान्यतालाई लत्याउँदै राज्यको कमजोर शासनशैली र राजनीतिक उपस्थितिको धज्जी उडाउँदै विधि, कानुन र नियम तोड्ने खेल लोकतन्त्रमा विचित्र ढङ्गले बढदै छ ।
चरम हत्या, हिंसा, ध्वंस र निरङ्कुशताबाट मुलुक लोकतन्त्रमा प्रवेश गर्नासाथ आममानिसको पहुँचमा आइपुगेको युट्युब, फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, लिंकडिन, पिनेरेस्ट, ट्विटरको प्रयोगबिना अनुगमन र नियन्त्रणको साथ आममानिसको दैनिकी बन्न थाल्यो । व्यापार, राजनीति, मनोरञ्जन, सूचनाको अर्गानिक कन्टेन्ट बन्दै आममानिसको मनमन्दिरमा बस्न सफल सामाजिक सञ्जाल बिस्तारै राज्यको विकृति, विसङ्गति, भ्रष्टाचार, अत्याचार, ढिलासुस्तीजस्ता विषयमा प्रवेश गर्न हतारियो ।

मुलुकमा कानुनी शासनलाई स्थापित गर्दै शान्ति र स्थिरताको जगमा समृद्धि खोज्ने बेलामा सामाजिक सञ्जालको तागतलाई दुरुपयोग गरिएको दृश्य लोकतन्त्रले टुलुटुलु हेर्दै छ ।

विश्व राजनीतिले तय गरेका ‘लक्ष्मणरेखा’भित्र सर्वसाधारण जनता बस्न कठिन बनाउने माध्यम बनेर मुलुकमा सामाजिक सञ्जाल उदाएको छ । राज्यको नाकमा घाउ लगाउन सक्ने निर्मला बलात्कार पछि गरिएको हत्याकाण्ड र पुडासैनी आत्महत्या प्रकरणमा आगो बनेर निस्किएको सामाजिक सञ्जालको तागतले एकपटक सबैको दिमाग खलबल्याउन सफल भएको छ । मुलुकमा कानुनी शासनलाई स्थापित गर्दै शान्ति र स्थिरताको जगमा समृद्धि खोज्ने बेलामा सामाजिक सञ्जालको तागतलाई दुरुपयोग गरिएको दृश्य लोकतन्त्रले टुलुटुलु हेर्दै छ ।

असङ्ख्य घटनाहरूले पुष्टि गरिसकेको छ– संसारका जनता न्यायप्रेमी हुन्छन् । उनीहरू विचित्रको हतारमा हुन्छन् । राज्य र सत्ताको सीमितता, चरित्र र बाध्यताप्रति जनताले कुनै सरोकार राख्दैनन् । जसले उनीहरूलाई भावनामा बग्न छुट दिन्छ । सर्वसाधारण जनताको कमजोरी, भावना र चाहनालाई विभिन्न समयमा अनेकखाले शक्तिले प्रयोग र दुरुपयोग गरिरहन्छन् । यो रोगले पछिल्लो समय विश्वभरका सत्तालाई सताउँदै छ ।

मुलुकलाई प्रयोगशाला बनाउनेहरूले मुलुकभित्र स्थापित मूल्य, मान्यता, धर्म, परम्परा, संस्थालाई ध्वस्त पारेसँगै आममानिसको पहुँचमा पुऱ्याइएको सामाजिक सञ्जालको प्रयोग अल्पविकसित मुलुकमा अनिष्ट बन्न सक्ने खतरा सदैव रहन्छ । राजनीतिजीवीहरूले विगतमा बाँडेका तमाम सपना ‘कोमा’मा पुगेको समयमा निराश र रुष्ट जनताको हात लागेको सामाजिक सञ्जाल ठूलो भड्कावमा पर्ने खतरा देखिन्छ । सकारात्मक र रचनात्मक तरिका मुलुकबाट लोप भएको समयमा युवायुवतीको ‘अम्मल’बनेर निस्किएको सामाजिक सञ्जाल आफ्नो कर्तव्यबाट कोसौँ टाढा भाग्दै छ ।

सन् २००४ पछि सामाजिक सञ्जाल आममानिसको नजरमा चमत्कार बनेर निस्किएको छ । विश्वका मानिसलाई एकसाथ प्रभाव पार्न सफल सामाजिक सञ्जाल सूचना र भ्रम एकसाथ पस्कन सफल छ । सुरुवाती समयमा उच्च वर्ग र मध्यम वर्गसामु पहुँच राख्ने सामाजिक सञ्जाल पछिल्लो समय सर्वसाधारणसम्म पुगेको छ । छोटो समयमा स्मार्ट फोन र इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जाल मानिसलाई जोड्दाजोड्दै तोड्न सफल भएको छ । विचारधाराको स्तरमा मात्र होइन परिवार, साथी र समुदायलाई भावनात्मक रूपमा समेत भताभुङ्ग बनाउँदै छ ।

सामाजिक सञ्जाललाई गरिब, असहाय, निमुखाको ‘मुखपत्र’ र आवाज बनाउन अघोषित आचारसंहिता यसका प्रयोगकर्ताले बनाउनु अत्यन्त जरुरी छ । गरिबी, अशिक्षा, बेरोजगारी, राजनीतिक सङ्क्रमणकाल लम्बिएको मुलुकमा सर्वसाधारण मानिस सामाजिक सञ्जाललाई सदुपयोग गर्ने मामिलामा चुक्न पुगे राज्यले नियमन गर्ने नाममा यसको आत्मा मार्ने खतरा बढ्नेछ ।

सन् २००९ मा इरानको ट्विटर क्रान्ति र २०१० मा ट्युनिसियाबाट शुरु भएको अरब क्रान्तिले विश्वलाई सोसल मिडियाको तागत देखाउन सफलता पाइसकेको छ । तत्कालीन समयमा पश्चिमी देशहरूले अरब क्रान्तिलाई सोसल मिडियाको देन भन्न तम्सियो । छोटो समयमा, अत्यन्त न्यून लागतमा अत्यधिक समुदाय, समर्थक, शुभेच्छुक, दर्शक, कार्यकर्ता र भिडसामु आफ्ना विचार र धारणा पुऱ्याउन सामाजिक सञ्जालको प्रयोग अल्पविकसित देशदेखि विकसित देशसम्म समान रूपमा हुँदै छ ।

भारतको सवा अर्ब जनसङ्ख्यामा करिब २५ करोड मानिसको हातमा स्मार्टफोन भएको आँकडा सन् २०१७ मा बीबीसीले प्रस्तुत गरेको थियो । सन् २०१४ र २०१९ को निर्वाचनमा भारतीय नेता नरेन्द्र मोदी सामाजिक सञ्जालमार्फत कसरी भारतीयको मनसम्म पुग्न सफल भए भन्ने अनुसन्धानको गतिलो विषय बन्न सक्छ । राजनीतिमा सामाजिक सञ्जाल ‘दुवैतर्फ धार भएको तरबार’ हो भन्नेमा नेताहरूको असहमति फेला परेको छैन । उनीहरू सभ्य भाषामा स्वीकार गर्छन्, ‘सामाजिक सञ्जाल’ रोग पनि, औषधि पनि !’

न्युयोर्क टाइम्समा छापिएको एक रिपोर्टअनुसार अमेरिकामा सम्पन्न सन् २०१६ को राष्ट्रपति निर्वाचनमा सोसल मिडियामार्फत रुसी ह्याकरहरूले ट्रम्पलाई जिताउन भूमिका खेलेको खुलासा भइसकेको छ । सामाजिक सञ्जालमा नक्कली आईडी खोल्दै झुट फैलाउने, विभिन्न झुटा सामग्रीलाई सनसनीपूर्ण ढङ्गले प्रचारप्रसार गर्दै सर्वसाधारण मानिसलाई उत्तेजित गर्न सामाजिक सञ्जाललाई दुरुपयोग गर्ने लहर ह्वात्तै बढेको छ । जसको कारण मानिस लाई राजनीतिक धु्रवीकरण मात्र होइन नयाँ–नयाँ अतिवादमा धकेल्दै छ ।

नाम चलेका मिडिया हाउस, टेलिभिजन, पत्रपत्रिका र रेडियो नागरिकको पहुँचबाट बिस्तारै टाढा जाँदै छ । वैश्य युगमा आमसञ्चारमाध्यम निश्चित समुदाय, वर्ग र स्वार्थ–समूहको कब्जामा पर्दै गरेको सर्वसाधारणले महसुस गरिरहेको समयमा अभिव्यक्ति स्वतन्त्रताको सबैभन्दा सजिलो माध्याम सामाजिक सञ्जाल बनेर निस्किएको छ । सामाजिक सञ्जाललाई गरिब, असहाय, निमुखाको ‘मुखपत्र’ र आवाज बनाउन अघोषित आचारसंहिता यसका प्रयोगकर्ताले बनाउनु अत्यन्त जरुरी छ । गरिबी, अशिक्षा, बेरोजगारी, राजनीतिक सङ्क्रमणकाल लम्बिएको मुलुकमा सर्वसाधारण मानिस सामाजिक सञ्जाललाई सदुपयोग गर्ने मामिलामा चुक्न पुगे राज्यले नियमन गर्ने नाममा यसको आत्मा मार्ने खतरा बढ्नेछ ।

अशिष्ट, अभद्र, भावनात्मक, उत्तेजनात्मक, निम्नस्तरको भाषाको प्रयोग हुनुले सामाजिक सञ्जाल असामाजिक ‘जञ्जाल’तर्फ उन्मुख भएको चिन्ता सुनिँदै छ । पछिल्लो समय सामाजिक सञ्जालको लोकप्रियता र बढ्दो तागत राज्यको टाउकोदुखाइ बन्दै छ । जसको कारण सत्ता र स्वार्थ समूहले सामाजिक सञ्जालको तागत घटाउन अनेक घुसपैठ गराउँदै यसको आत्मामाथि प्रहार गर्दै छ ।

युवायुवतीको बुझाइमा सामाजिक सञ्जाल भनेको ‘स्वतन्त्रता अभिव्यक्ति’को प्लेटफर्म हो । एउटाले भन्ने र धेरैले प्रतिक्रिया दिने सामाजिक सञ्जालको प्रयोग र सुविधा अतुलनीय छ । सामाजिक सञ्जाल एकसाथ फाइदा र बेफाइदाको खेल खेल्न सक्छ । साथी–भाइहरूबीच पुनर्मिलन गराउन सक्छ । श्रीमान्–श्रीमतीबीच छोडपत्र दिलाउन पनि सक्छ । संवाद गराउँदै झगडा पार्न पनि सक्छ । बिनाशुल्क सन्देश, फोटो सङ्ग्रह, गेम, निमन्त्रणा दिन सक्छ भने तपाईंको बहुमूल्य समय त्यसै खाइदिन पनि सक्छ । दुनियाँसँग जोड्ने नाममा घरभित्रै तपाईंलाई पराई बनाइदिन पनि सक्छ । किशोरकिशोरीहरू यौनिक अथवा आर्थिक प्रलोभनमा पर्न सक्छन् । लज्जास्पद फोटो वा प्रतिक्रियाको कारण जीवन नै गुमाउन पनि सक्छन् ।

वैश्य युगमा उच्च वर्गले मिडिया हाउस चलाउन, किन्न मात्र होइन शासन सत्ताको प्रयोग, दुरुपयोग, धम्कीपूर्ण भाषाको तागतले आफ्ना काम फत्ते गर्न सक्छ । प्रशासन, अदालत र स्वार्थ समूहलाई आफ्नो पक्षमा पार्न सक्छन् । सामाजिक सञ्जालमार्फत सर्वसाधारण मानिसले प्राप्त गरेको सस्तो र असरदार सञ्जाललाई जञ्जाल बन्नबाट रोक्नु उनीहरूकै हितमा छ । मानवजीवनको अभिन्न अङ्ग बनिसकेको सामाजिक सञ्जाल अल्पविकसित मुलुकमा वरदानभन्दा अभिसाप बन्न हतारिएको छ । यसलाई रोक्न निमुखा सञ्जालकर्ता चनाखो हुनुपर्नेछ ।

अशिष्ट, अभद्र, भावनात्मक, उत्तेजनात्मक, निम्नस्तरको भाषाको प्रयोग हुनुले सामाजिक सञ्जाल असामाजिक ‘जञ्जाल’तर्फ उन्मुख भएको चिन्ता सुनिँदै छ । पछिल्लो समय सामाजिक सञ्जालको लोकप्रियता र बढ्दो तागत राज्यको टाउकोदुखाइ बन्दै छ । जसको कारण सत्ता र स्वार्थ समूहले सामाजिक सञ्जालको तागत घटाउन अनेक घुसपैठ गराउँदै यसको आत्मामाथि प्रहार गर्दै छ । सभ्य भाषा र शैलीमा कमेन्ट, रिकमेन्ट, नयाँ पोस्ट गर्दै राज्यको विरुद्ध खबरदारी गर्न सञ्जालकर्ताहरू सतर्क र संयमित हुनुपर्नेछ । अन्यथा अराजकता र असभ्य शब्दको बाढीमा सामाजिक सञ्जाल ‘सामाजिक जञ्जाल’मा रूपान्तरित हुनेछ । तत्पश्चात् ‘सामाजिक जञ्जाल’ आफ्नै कारणले रोगी र अर्थहीन बन्दै अकालमा मर्नुपर्नेछ ।