नेपालको योजनाबद्ध कामको श्रीगणेश

नेपालको योजनाबद्ध कामको श्रीगणेश


अरू राष्ट्रमा अङ्ग पुगेका योजनाले देश विकास भएको थाहा पाउने थोर–बहुत बुज्रुकहरू पनि त्यस्तै काम नेपालमा पनि हुनुपर्दछ भनी मुख फोरेर श्री ३ महाराजलाई बिन्ती गर्न त्यस बेलासम्म हिम्मत गर्दैनथे । कारण, जान्ने भएर नेपालमा यसो गर्नुपर्दछ र उसो गर्नुपर्दछ भन्ने त्यो जमाना अवस्था थिएन । अलि प्रगतिशील देखिएका मानिसलाई तत्कालीन धेरैजसो दिग्गज रोलवाला राणाले दागा धर्दथे र दुई आँखाले देखिसहँदैनथे । त्यसबखत धेरै मानिसलाई प्रधानमन्त्रीको भन्दा पनि रोलमा माथि चढेका (मुख्तियार, जङ्गीलाठ, पू.क.ज., द.क.ज. र उ.क.ज.) वरिष्ठ राणाजीको बढी डर र धक मान्नुपर्दथ्यो– समयान्तरमा यिनीहरू नै नेपालको भाग्यविधाता हुने हुँदा ।

ज. ब्रह्मशमशेरले त्यसताका तुलसी मेहरको सङ्गत गरेको, खादीको विकास गर्नुपर्छ भनेको ‘हरिजन’ छाप पढ्ने गरेको र खादीको लुगा लगाएकोले उनी उच्चस्तरीय राणाका आँखाका कसिङ्गर बनेका थिए । ज. ब्रह्मशमशेरको आफ्ना बाबु पूर्वतर्फका कमान्डिङ जर्नेल बबरशमशेरसँग त्यसैकारणले खटपट पर्दा उनलाई अरू मानिसले उस्तो गन्दैनथे– उनको चाकरी गयो, उनीसँग हेलमेल देखायो भने बबरशमशेर नाराज होलान् भन्ने डरले । त्यसैले दिलभित्रैबाट प्रगतिशील बन्नको त के कुरा त्यस्तो देखिन पनि जो पायो त्यो रोलवाला राणाजी सत्र भाइहरूसमेतको त्यसबेला हिम्मत थिएन, दुनियाँदारको त के कुरा । देश विकास गर्न खोज्ने मानिस गनिन्थ्यो राणा व्यवस्थाविरोधीजस्तो । विकास र राणाव्यवस्था गनिएका थिए कुकुर– बिरालाजस्ता ।

श्री ३ जुद्धशमशेरको हुकुम शिरोपर गरी यसरी हाँसको बथानमा बकुल्लोजस्तो बनी, मे.ज. विजयशमशेरले नेपालको चाँडो आर्थिक विकास योजना बनाउन र त्यसलाई कार्यान्वयन गर्न त्यसबखत कम्मर कस्नाका अनेक कारण थिए । प्रथम, उनलाई लागेको थियो आफू प्रधानमन्त्रीको विश्वासपात्र छु भन्ने (राणा व्यवस्थामा प्रधानमन्त्रीको मन परेको मानिसलाई बाह्र हातको टाँगोले पनि कसैले छुन सक्दैनथ्यो) । दोस्रो, उनी रोलवाला राणाजीहरूमा सबैभन्दा बुजु्रक र कट्टर दक्षिणपन्थी कहलिएका जङ्गीलाठ मोहनशमशेरका मन परेका कान्छा छोरा थिए (त्यसकारणले जो पायो त्यसले उनलाई हिक्न सक्दैनथ्यो) । तेस्रो, नेपालको तरक्की हुन्छ भने अरूको त के कुरा आफ्नै बाबुको पनि कति डर नमान्ने मे.ज. विजयशमशेरको प्रवृत्ति थियो । चौथो थियो, उनको नेपाल र नेपालीप्रति अगाध प्रेम, ममता, भरोसा र नेपालको भलो हुन्छ भने जस्तोसुकै खतराको पनि खुसीसाथ सामना गर्न हरहमेसा तयार रहने मनोवृत्ति र पाँचौँ, योजनाबद्ध तरिकाले नेपालको चाँडो आर्थिक विकास हुन सक्दछ, गर्नुपर्दछ र सो गरिएन भने नेपाल डुब्दछ भन्ने कुरामा उनको अटल धारणा ।

यी सब कुराका साक्षी छन्, उनको छोटो तर अति गतिशील, घटनापूर्ण उत्कृष्ट जीवनी र उनका समकालीन सहपाठी नेपालीहरू । २० वर्षको उमेरमा उनले कलकत्ता विश्वविद्यालयबाट एम.ए पास गरे । मे.ज. विजयशमशेरको यही खुवी, बुद्धि र आँटले गर्दा श्री ३ जुद्धशमशेरको मनले उनलाई खाएको हो । मानका उनी त्यसबखत श्री ३ का हरिया जर्नेल नभए तापनि, विकाससम्बन्धी काममा उनी एक्का थिए भन्ने कुरालाई पछिको लेखले र १९९९ सालदेखि २००२ सालसम्म श्री ३ जुद्धशमशेर र मे.ज. विजयशमशेरको अति घनिष्ठ सम्बन्धले प्रमाणित गर्दछ ।

प्रधानमन्त्रीको त्यत्रो भरपत्यारले पनि युवक मे.ज. विजयशमशेरको हौसला त्यसबखत जरुर बढाएको थियो । तर, त्यसभन्दा पनि उनी बढी प्रेरित भएका थिए उनको १९९३–९४ सालतिर कलकत्ताको पठन–पाठन र त्यहाँ जवाहरलाल नेहरू, सुभाषचन्द्र बोस, के.एफ. नरिमन, मिनो मसाने, जेड.ए. अहमद, आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, अच्युत पटवर्धनहरू, कमलादेवी चट्टोपाध्यायजस्ता वामपन्थी विचार भएका नेतासँगको कताकति सम्पर्क र उनीहरूको लेख र भाषणले ।

डी.एफ. करक्काका पुस्तक उनी खुब मन पराउँथे र पढ्थे । योजनाबद्ध तरिकाले स्वतन्त्र हितको आर्थिक विकास गर्ने तत्कालीन भारतीय राष्ट्रवादी नेताले चलाएको अभियान र सन् १९४०–४१ तिर भारतमा पं. जवाहरलाल नेहरूको अध्यक्षतामा गठित राष्ट्रिय योजना आयोगको प्रतिवेदन र भारतका प्रमुख उद्योगपतिले तयार गरेको भा.रु. १०,००० करोडको मस्यौदा योजनाले मे.ज. विजयशमशेर र प्रो. भीमबहादुर पाँडे खुबै प्रभावित भएका थिए र त्यस्तै विचार मनमा राखी उनीहरूले नेपालमा त्यस्तै खालको मस्यौदा आर्थिक योजना तयार गर्न १९९९ सालको हिउँदमा शुरु गरे (यसको देहायपछिका लेखमा परेका छ) ।

नाटीकुटीमा विश्वास गर्ने कर्मचारीहरूले २००० सालको पछाडि तीन शून्य परेकाले त्यसलाई अति बिच्छुकी साल गनेका थिए । त्यही तत्वले २००० साल नलाग्दै ‘इन्डष्ट्रियल सर्भे औ को–अपरेटिभ सोसाइटी’ को काम नेपाल अधिराज्यमा शुरु गर्ने प्रस्ताव ने.क.घ.ई. समितिबाट पास गराई श्री ३ महाराजका जुनाफमा जाहेर गर्ने सुझाव मे.ज. विजयशमशेरलाई दिए ।

उनी पनि आफ्नो आर्थिक योजनाको पहिलो चरण अर्थात् योजना बनाउन अति आवश्यक ध्यान सङ्कलन गर्ने काम चाँडो कार्यान्वयन गर्न अति उत्सुक थिए– बरु उनले सम्झिएका थिए त्यो इन्डष्ट्रियल सर्भे एण्ड को–अपरेटिभ सोसाइटी’को कामको शुरुवात नयाँ शताब्दी सरेको दिनलाई नयाँ ठूलो उपहार हुनेछ भन्ने । त्यसैले नयाँ कामको सनदमा २००० नलाग्दै १९९९/१२/४/४ मा खड्ग निशाना लाग्यो । अर्थात्, आजकलको हिसाबमा, प्रोजेक्ट पास भयो । योजनाबद्ध तरिकाले नेपालको आर्थिक विकास गर्ने कामको नेपालमा श्रीगणेश भयो ।

(सरदार भीमबहादुर पाँडेको ‘त्यसबखतको नेपाल’बाट)