रातारात ‘स्टार’ बनिन् ‘भिखारी गायिका’

रातारात ‘स्टार’ बनिन् ‘भिखारी गायिका’


रेलवे स्टेशनको एउटा कुनामा बसेर स्वर–साम्राज्ञी लता मंगेसकरको गीत गाउँदै भिख माग्दै आएकी रानु मन्डल रातारात बलिउडकी ‘स्टार’ बनेकी छिन् । रानुको कर्णप्रिय स्वर एवम् ट्यालेन्ट देखेर गायक तथा संगीतकार हिमेश रेशमियाले उनलाई आफ्नो एक फिल्ममा गाउने अवसर दिएका छन् ।

हिमेशले रानुलाई बलिउडमा डेब्यू गर्ने क्रममा फिल्म ‘तेरी मेरी कहानी’मा गाउने मौका दिएका हुन् । उनले रानुसँग गीत पनि रेकर्डिङ गरिसकेका छन् । रेकर्डिङसँगै गीतको भिडियो समेत हिमेशले शेयर गरेका छन्, जसले यतिबेला सनसनी नै फैलाएको छ । रानुको जादुमय आवाजको अहिले जताततै प्रशंसा भैरहेको छ ।

आफ्नो फिल्ममा गीत गाएपछि हिमेशले रानुलाई मोटो रकम पारिश्रमिकको रुपमा दिएको चर्चा चलेको छ । दुई फिल्ममा गीत गाएको पारिश्रमिक ६ देखि ७ लाख दिएको भारतीय संचारमाध्यमले जनाएका छन् । हिमेशले रानुको आवाजमा ‘हेप्पी हार्डी एन्ड हीर’ फिल्मको लागि पनि गीत रेकर्डिङ गराएका थिए ।

रानुले आफ्नो ‘डेब्यु’ गीतको लागि हिमेशसँग रकम लिन अस्वीकार गरे पनि हिमेशले उनलाई पारिश्रमकवापत जबर्जस्ती ६–७ लाख दिएको बुझिएको छ । साथै उनले रानुलाई सुपरस्टार बन्नबाट कसैले रोक्न नसक्ने दाबी समेत गरेका छन् ।