सात मन्त्रीलाई दशा !

सात मन्त्रीलाई दशा !


कम्तीमा सातजना मन्त्रीहरूले मन्त्रीका रूपमा आगामी दशैँ मनाउन नपाउने चर्चा सत्ता–राजनीतिको उच्च तहमा चल्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट फर्किएलगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको छ ।

मन्त्रीहरूमध्ये विना मगर, रामबहादुर थापा, रघुवीर महासेठ, प्रदीप ज्ञवाली, मातृका यादव, गोकर्ण विष्ट, शक्ति बस्नेत, लालबाबु पण्डित, चक्रपाणि खनाल, युवराज खतिवडा र थममाया थापा मगरको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओली सन्तुष्ट नरहेको बुझिएको छ । असन्तुष्टि नै भए पनि विना मगरलाई बिदा गरेर प्रचण्डको मन दुखाउने पक्षमा प्रधानमन्त्री नरहेको बताइन्छ ।

त्यस्तै, शक्ति बस्नेत र रामबहादुर थापालाई खास कारणवश मन्त्रिमण्डलमा निरन्तरता दिइने सोच बनेको बुझिन्छ भने प्रदीप ज्ञवालीलाई निरन्तरता दिए पनि मन्त्रालय परिवर्तन गरिने प्रबल सम्भावना रहेकोे समाचार सूत्रको भनाइ छ ।

विभिन्न सूत्रबाट प्राप्त जानकारीअनुसार कम्तीमा सात मन्त्रीले मन्त्रिमण्डलबाट दशैँअघि बिदा पाउनेछन् । सात मन्त्रीमा थममाया थापामगर, मातृका यादव, युवराज खतिवडा, गोकर्ण विष्ट, लालबाबु पण्डित, चक्रपाणि खनाल र रघुवीर महासेठ रहेका छन् । मन्त्रिमण्डललाई प्रभावकारी र स्थिर तुल्याउन प्रधानमन्त्रीले पुनर्गठनका सन्दर्भमा थप केही गृहकार्य पनि गरिरहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।