केपीको अनुपस्थितिमा पहिलोपटक प्रचण्डले बोलाए सचिवालय बैठक

केपीको अनुपस्थितिमा पहिलोपटक प्रचण्डले बोलाए सचिवालय बैठक


केपी शर्मा ओलीको अनुपस्थितिका कारण कार्यकारी भूमिकामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सक्रियता बढाएका छन् । यसैक्रममा पार्टीको साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी उनले सोमबार (९ भदौ) सचिवालय बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा सत्तारुढ नेकपाको बैठक बस्ने भएको छ ।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि गत बिहीबार सिङ्गापुर प्रस्थान गरेपछि प्रचण्डले पार्टीको बैठक डाकेका हुन् ।

नेकपामा प्रवास कमिटी, महानगरहरूको नेतृत्व, पोलिटब्यूरो गठन, अन्य केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ । सोमबारको बैठकमा यिनै विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन् । बैठकमा यी विषयमा सहमति जुटेमा सोमबार नै यी विषय टुङ्गो लाग्ने उनको दाबी छ ।