आज पनि छुटेनन् रवि, बयानको निम्ति समय नपुग्दा हिरासतमै फर्काइए

आज पनि छुटेनन् रवि, बयानको निम्ति समय नपुग्दा हिरासतमै फर्काइए


सञ्चारकर्मी शालिग्राम पुडासैनीको आत्महत्याका निम्ति दुरुत्साहन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने आज पनि हिरासतमै रहने भएका छन् । बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय चितवनमा उपस्थित गराइए पनि आज उनको बयान लिन नभ्याइएको कारण रविलाई प्रहरी हिरासतमै राखिन लागिएको हो ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान भोलि सोमबार १० बजेबाट शुरु हुनेछ । समय अभावका कारण आज उनीहरुको बयान लिन नसकिएको उनले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दा रहेको छ । साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात् अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेपछि लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।

उनीहरु पक्राउसँगै समर्थकहरुले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ चितवनमा प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था रहेको छ । उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।

लामिछानेसहितको मुद्दाको टुङ्गो लाग्ने भन्दै ठूलो सङ्ख्यामा समर्थकहरुले प्रदर्शन गरेका थिए । आइतबार साँझ अदालतबाट उनीहरुलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरुलाई तितरवितर गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरुले प्रहारीमाथि ढुङ्गा प्रहार गरेका थिए ।

पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

ज्ञात रहोस्, प्रहरीले अनुसन्धानका क्रममा फेलापरेअनुसार सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोबाट घटनाको अनुसन्धान गर्न गएका एसपी दीपक रेग्मीले आइतवार भएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उनको भनाई थियो । अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने एसपी रेग्मीको तर्क छ ।

यस प्रकरणमा जिल्ला अदालतले कस्तो फैसला गर्छ भन्ने कुरा चौतर्फी चासोको विषय बन्न पुगेको छ ।