कति घातक छ कुकुरको दिसापिसाव ?

कति घातक छ कुकुरको दिसापिसाव ?


के आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन तपाईंले सार्वजनिक स्थानमा लैजाने गर्नुभएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालय निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुरधनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ ।

मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिक स्थलमा शौच गराइएको भेटिए कारवाही तयारी थालेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिक स्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउन आग्रह गरेको छ ।

कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घरपालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिए ।

एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औशत २७४ पाउन्ड (एक लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् ।

एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ ।

कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन् । हाल काठमाडौं महानगरपालिकामा करिव ८० हजार घरपालुवा र २२ हजार सामुदायिक कुकुर रहेको अनुमान छ ।