नेकपाका नेताहरु भन्छन्, ‘माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो’

नेकपाका नेताहरु भन्छन्, ‘माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो’


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्ने गरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई उचाल्न नहुने पनि स्पष्ट पारेका छन् ।

नेकपाका स्थायी समिति सदस्यद्धय देवेन्द्र पौडेल र आनन्द कुमार पोखरेलले नेकपा विचार केन्द्रित पार्टी भएकोले छलफल, विचार र बहस हुनु नौलो कुरा नभएको जिकिर गरे । नेता पौडेलले पार्टीभित्र भएका विचार तथा बहसहरु आन्तरिक रुपमा हल गर्न सकिने विषय भएको सुनाए । उनले भने,‘हाम्रो पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नै नसक्ने खालका होईनन् । आन्तरिक रुपमा हामी हल गर्छौं ।’

पौडेलले पार्टीको एकता महाधिवेशनसम्म सहमति र समझदारीका साथ अघि बढ्ने विश्वास दिलाए । उनले पार्टी जनमतअनुरुप अघि बढ्ने बताए । उनले भने,‘जनताको विश्वास जितेर अघि बढ्नुपर्छ । नेताहरुलाई मिलाएर जाने दायित्व छ । हामीले जनताको विश्वास जित्न सक्नुपर्छ ।’ उनले कम्युनिष्ट पार्टीमा सवर्गीय एकत्व हुनुपर्नेमा जोड दिए । उनले भने,‘को सिनियर, को जुनियर ? भन्ने कुरा यो त पार्टीभित्रको स्वभाविक र जीवन्त प्रक्रिया हो । पार्टीका बैठकहरुमा यस्तैखाले कुराहरु हुन्छन् ।’

यद्धपी उनले पार्टीभित्र आन्तरिक विवाद भयानक नै भयो भन्ने बाहिरी हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । उनले भने,‘बाहिर हल्ला भएजस्तो स्थिति छैन, र हामी हुन पनि दिँदैनौं ।’ पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि सिंगापुर गएको र यो बीचमा महत्वपूर्ण निर्णयहरु भएका पनि उनले सुनाए । उनले भने,‘उहाँ सिंगापुरबाट फर्किएर आएपछि सदनभित्र प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्नुभयो, संविधानलगायतका विषयमा राष्ट्रिय सहमतिका आधारमा अघि बढ्ने कुरा भयो ।

उनले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले राखेको ‘नोट अफ डिसेन्ट’ को प्रसँगमा पनि पार्टी पद्धतीअनुसार चल्नुपर्छ भन्ने कुरा पार्टीको सम्पत्तिको रुपमा रहने बताए । उनले भने,‘पार्टीभित्र कुरा राख्दा के नौलो भयो र ? ढुक्क हुनुहोस, पार्टी एकीकरण धेरै कुरा भैसकेका छन्, अब केही खाली ठाउँ भर्ने काम छन् ।’
नेता पौडेलले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा हुनेतर्फ अघि बढिरहेको पनि जनाए । कम्युनिष्ट पार्टी जनवादी केन्द्रियतामा आधारित भएर चल्ने पार्टी भएकोले पार्टीको नियामावली, विधार र प्रतिवेदनअनुसार नै अघि बढ्ने पनि उनको विश्वास छ । उनले भने,‘पार्टीमा सामूहिक निर्णय हुन्छ, व्यक्तिगत जिम्मेवारी पूरा गर्नुपर्छ ।’

अर्का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द कुमार पोखरेलले सिंगो कम्युनिष्ट आन्दोलनभित्र मतभेद, विभेद रहँदै आएको सुनाउँदै अहिले पार्टीभित्र भएको छलफल तथा बहसलाई ठूलो रुपमा लिन नहुने स्पष्ट पारे । उनले तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुवैबीच लक्ष्यमा भीन्नता नभएको पनि सुनाए ।

उनले कम्युनिष्ट आन्दोलनमा सानातिना बहस तथा छलफल हुनु स्वभाविक र सामान्य विषय भएकोले अहिलेपनि पार्टीभित्रको बहस र छलफलले यति धेरै चर्चा पाउनुपर्ने विषय नै नभएको जिकिर गरे । उनले भने,‘बैठकमा माधव नेपालले नोट अफ डिसेन्ट राख्नुभयो, यसलाई हाउगुजी बनाईयो, यसमा अतिशोयुक्ति प्रचार भयो, हुन त यो मिडियाको आफ्नो धर्म पनि होला । तर, बैठकमा पत्रकारहरु त हुनुहुन्थेन ।’

पार्टी सही दिशामा अघि बढिरहेकोले पार्टीभित्र हुने छलफल र बहसले एकतामा फरक नपर्ने उनको स्पष्टोक्ति थियो । उनले भने,‘हाम्रा हुनुहुन्छ, माधव नेपाल १५ वर्ष पार्टीको नेतृत्व गरेको नेता हुनुहुन्छ, उहाँले पार्टीभित्र राखेको नोट अफ डिसेन्ट हाम्रो सम्पत्ति हो ।’ यद्धपी उनले पार्टीभित्र राख्नुपर्ने विषय मिडिया अर्थात पत्रपत्रिकामा आएकोबारे भने असन्तुष्टि पोखे । उनले भने,‘यसले राम्रो सन्देश दिएको छैन् । पार्टीको माईन्यूटमा राख्नुपर्ने विषय हो । हामीले राम्रो कल्चरको विकास गर्नुपर्छ ।’