बीपी साहित्य सम्मान ‘बैरागी काइला’लाई

बीपी साहित्य सम्मान ‘बैरागी काइला’लाई


जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘बीपी साहित्य सम्मान पुरस्कार’ वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ ‘बैरागी काइला’लाई दिने निर्णय गरेको छ ।

रु एक लाख एक हजार राशिको यो नगद पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार ‘बैरागी काइला’लाई दिने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए । यसैगरी रु ५१ हजार राशिको ‘सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्वपूर्ण योगदान पु¥याउने सप्तरीका मधुकान्त सिंहलाई दिने निर्णय गरिएको छ ।

ट्रष्टले प्रत्येक वर्ष बीपी जयन्तीका अवसरमा बीपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गर्दै आएको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचन सदस्य रहेको सिफारिस समितिले उक्त निर्णय गरेको हो । यी पुरस्कारहरु आगामी भदौ २४ गते बीपी जयन्तीका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ ।

यसभन्दा अघि २०७१ सालमा साहित्य सम्मान वरिष्ठ साहित्यकार रत्नशम्शेर थापा र सेनानी सम्मान नूतन थपलियालाई, २०७२ सालमा साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व तारानाथ कोइरालालाई प्रदान गरिएको थियो ।

यसैगरी २०७३ सालमा साहित्य सम्मान साहित्यकार भुवन ढुङ्गाना तथा सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो । विसं २०७४ मा साहित्य सम्मान प्राडा अभी सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई प्रदान गरिएको थियो भने २०७५ सालमा साहित्य सम्मान साहित्यकार रोचक घिमिरे र सेनानी सम्मान स्व चक्रप्रसाद वाँस्तोलालाई प्रदान गरिएको थियो ।