हिन्दूधर्म र मष्टो संस्कृति

हिन्दूधर्म र मष्टो संस्कृति


■ इन्द्रबहादुर बराल

नेपालमा विगत दुई दशकभन्दा पहिलेदेखि नै धर्मलाई मुद्दा बनाएर विवाद र बहसहरू चल्दै आए । वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएपछि झनै असन्तुष्टि देखिएको छ । धर्म के हो भन्नेबारे चाहिँ यथेष्ट बहस गरेको पाइँदैन । धर्म मानिसको एउटा आस्था र विश्वास हो जसरी राजनीतिमा आस्था र विश्वास हुन्छ । धर्मको सही र वास्तविक व्याख्या–विश्लेषणको अभावमा नेपाली समाज तड्पिराखेको अवस्था छ । धर्म मानिसको अभिन्न अङ्ग भइसकेको छ । यसर्थ मानवजीवनलाई धर्मबाट अलग गराउन सकिने अवस्था देखिँदैन ।

नास्तिक भन्न रुचाउनेहरूले पनि कुनै न कुनै धर्मको आड लिएको पाइन्छ । जसरी लोकतन्त्रलाई एउटा जीवन पद्धतिको रूपमा लिइन्छ त्यसरी नै धर्म पनि जीवन पद्धति नै हो । जीवनका हरेक पलपलमा धर्मको प्रभाव प्रस्टै देखिन्छ । त्यसैले मानवजीवनमा धर्मको अपरिहार्यता सधैँसधैँ रहने कुरा हो ।

हुन त एउटै धर्ममा पनि धेरै सम्प्रदायहरूको उपस्थितिले कतिपय अवस्थामा अन्योल र भ्रम पैदा गरेको पाइन्छ । एउटै धर्ममा पनि विभिन्न सम्प्रदाय छन् । यो कुनै एक धर्ममा मात्रै नभई प्रचलित सबै धर्ममा विभाजन प्रस्टै छ । धर्मका बारेमा मतैक्यता नहुँदा भ्रमहरू उत्पन्न हुनु पनि स्वाभाविक हो । हिन्दूधर्ममा पनि त्यो समस्या जरा गाडेर बसेको छ । जसरी राजनीतिमा एउटा राजनीतिक दलले अर्को दलको विरोध र आलोचना गर्दछ, ठीक त्यस्तै गरेर हिन्दूधर्मभित्र पनि मतैक्यता देखिँदैन र परस्पर विरोधाभाष देखिन्छ । जसका कारण हिन्दूधर्मविरोधीहरूलाई राम्रै मलजल गरेकै छ ।

एउटै धर्म–सम्प्रदायभित्र पनि विभेदका डरलाग्दा अवस्थाका कारण पनि मुलुकलाई धर्मनिरपेक्ष बनाउने षड्यन्त्र सफल भएको यथार्थ र तीतो सत्य हो । विशेष गरेर हिन्दू धर्मानुरागी र धर्मगुरुहरू नेपाललाई हिन्दूराष्ट्र बनाउने काममा चुकेकै हुन् । उनीहरू राज्यको नीति निर्माण गर्ने थलोमा थिएनन्, तथापि संविधान निर्माणको बेला सङ्गठित रूपमा राजनीतिक दलहरूलाई खबरदारी गर्न सकिन्थ्यो नि ! अब बितेका विषयमा फर्केर हेरिरहनुभन्दा आगामी दिनमा नेपालको संविधानबाट धर्मनिरपेक्षता कसरी हटाउन सकिन्छ– त्यसबारे सम्पूर्ण हिन्दूवादीहरू एकजुट हुन जरुरी छ । हिन्दू धर्मशास्त्र ‘गरुड’ पुराणमा उल्लेखित केही भनाइलाई आधार बनाएर पङ्गु बनाउन खोज्ने अन्य धर्मावलम्बीलाई राम्रो र सुहाउँदो जवाफ दिन जरुरी छ ।

भ्रमपूर्ण हल्लाले बाहुनक्षत्रीलाई देशैबाट लखेट्नुपर्छ भन्ने जस्ता आवाजहरू बुलन्द भएर आए । त्यो भ्रमपूर्ण हल्लाको पछाडि कतिपय बाहुनक्षत्री पनि नदेखिएका होइनन् ।

अधिकांश हिन्दूहरूलाई आफ्नो धर्मको राम्रो ज्ञान नहुनु पनि एउटा कारण हो धर्मनिरपेक्ष हुनुमा । यसर्थ धर्मबारे व्यापक बहस र छलफलको आवश्यकता महसुस भएको हो । हिन्दूधर्म केवल पूजापाठ वा कर्मकाण्ड मात्रै हो या त्योभन्दा पर मानवधर्म हो भन्ने विषयमा अझै धेरै बहसको खाँचो छ । सामान्यतया कुनै पनि धर्मको व्यावहारिक अर्थ हुन्छ– न्याय, सत्य, समानता । पौराणिक कालमा राज्यको शासन प्रणालीसमेत धर्मकै आधार चल्ने गर्दथ्यो भन्ने तथ्य सजिलै बुझ्न सकिन्छ । यसर्थ धर्म राज्य सञ्चालनको मूल कानुन पनि थियो भनेर बुझ्नुपर्छ ।

अहिले वैदिक विज्ञान र आधुनिक विज्ञानको तुलनात्मक अध्ययनसमेत हुन थालेको अवस्था छ । यो कुनै हिन्दू धर्मानुरागीको मात्रै विषय होइन । यहाँ पश्चिमाहरू पनि टुप्पी पालेर पहोलो वस्त्र लगाएर गायत्री मन्त्र उच्चारण गर्दै हिँडेको पाइन्छ । यसले बिस्तारै हिन्दूधर्मको प्रमुख ग्रन्थ वेदको औचित्य र त्यसको सान्दर्भिकता विश्वव्यापी हुँदै गरेको अवस्थामा नेपाली हिन्दू धर्मानुरागीहरू आफ्ना कमी–कमजोरी हटाउँदै अघि बढ्नुको विकल्प छैन । वर्णाश्रम व्यवस्थाबाट कथित दलितहरूमा भ्रमहरू परेको छ । जातपातको उत्पत्ति हिन्दूधर्मका कारणले हो भनी अन्य धर्मानुरागीहरूले भड्काउँदै धर्म प्रचार गरेको अवस्थाबाट हिन्दूहरूलाई जोगाउन आवश्यक छ । इसाईकरणको बिगबिगी त छँदै छ, यहाँ मष्टो संस्कृतिका अनुरागीहरू पनि तिलमिलाएका छन् । अहिले धेरैलाई ‘मष्टो’ के हो थाहा नै छैन । तथापि उनीहरू ‘मष्टो’ संस्कृतिलाई निरन्तरता दिइराखेका छन् ‘कुलपूजा’को माध्यमबाट ।

कुलपूजा गर्दा नेपालीले मूर्तिपूजा गर्ने चलन हुँदैन । सामान्यतया मष्टो भनेको माटो हो । मष्टो पूजा गर्नु भनेको आफू जन्मेको भूमि वा माटोप्रति सम्मान गर्ने प्रचलन चलिआएको हुन सक्ने अनुमान गर्न सक्छ । मष्टो पूजनको चलन बझाङबाट शुरु भएको हुनुपर्छ किनकि बाह्र भाइ मष्टोमध्ये जेठो मष्टो ‘ढडार मष्टो’ बझाङमा रहेको छ । नेपाली खसहरूको मष्टो संस्कृतिबारे ढिलो गरेर खोज, अनुसन्धान तथा प्रचारप्रसार भएकोले मष्टो सम्बन्धमा जानकारी कमै देखिन्छ । यद्यपि पश्चिम नेपालको कर्णाली प्रसवर्ज क्षेत्रमा जाँदा मात्रै मष्टो संस्कृतिबारे केही बुझ्न सकिने अवस्था छ । खसहरूले मष्टो पुजनको निरन्तरता दिइराखे पनि यथेष्ट ज्ञानको अभावमा अलमलमा छन् । त्यसैले मष्टो संस्कृतिसम्बन्धी प्रचार सामग्रीको अभाव टार्न अध्येतताहरूलाई आग्रह गर्न आवश्यक छ ।

जनआन्दोलन ०४६ को परिवर्तनपछि नेपालमा आदिवासी/जनजातिका आन्दोलनले उचाइ लिँदै जाँदा नेपालमा बाहुनक्षत्रीमाथि तीव्र आक्रमण भयो । त्यो आदिवासी/जनजातिको आन्दोलनले मानौँ बाहुनक्षत्री नेपालका आदिवासी होइनन् कि भन्ने खालको भ्रम पैदा गरायो । त्यही भ्रमपूर्ण हल्लाले बाहुनक्षत्रीलाई देशैबाट लखेट्नुपर्छ भन्ने जस्ता आवाजहरू बुलन्द भएर आए । त्यो भ्रमपूर्ण हल्लाको पछाडि कतिपय बाहुनक्षत्री पनि नदेखिएका होइनन् । तथापि खस आन्दोलनको प्रभाव र खसहरूको मष्टो संस्कृतिले अन्ततः जातीय रूपले आदिवासी/जनजाति हुँदैन भन्ने मान्यता स्थापित गरायो ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा जानी–नजानी हिन्दूहरू पनि अछुतो रहन सक्दैनन् । आज हिन्दूधर्म र मष्टो संस्कृतिको अस्तित्वमाथि इसाईकरणको प्रभाव बढ्दो रूपमा देखिएको छ । मुख्यतः वर्तमान ब्राह्मणवादी राज्यसत्ता नै बढी जिम्मेदार छ भन्दा कसैले चित्त दुःखाउनुपर्दैन ।

दक्षिण भारतबाट भित्रिएको हिन्दू संस्कृति र नेपालको खस संस्कृतिबीचको अन्तरघुलनले केही अन्योल सिर्जना गरेर पनि सनातन धर्म र खस संस्कृति एउटै सिक्काका दुई पाटाजस्तो भएर रहेको वर्तमान अवस्थामा यी दुई संस्कृतिलाई अलग्याउन सक्ने र पर्ने अवस्था देखिँदैन । परम्परादेखि चलिआएको सनातन धर्म नै हिन्दूधर्म मानिएकोले केही मानिस अझै भ्रम छर्न उद्यत् देखिन्छन् । तर, सनातन धर्म र मष्टो संस्कृतिको जरा धेरै गहिराइमा रहेकोले यसलाई उखेल्न सक्ने तागत छैन ।

हुन त क्रिश्चियन मिसिनरी नेपालमा धेरै पहिलेदेखि विभिन्न रूपमा नलागेको होइन । विशेष गरेर स्वास्थ्य र शिक्षा जस्ता मानिसको अपरिहार्य आवश्यकता परिपूर्ति गर्ने क्रममा इसाईहरूको प्रवेश भएको हो । देशका विभिन्न भागमा अस्पताल र स्कुलहरू खोल्ने काम गरे । त्यसको नेतृत्वसमेत स्वयम् उनीहरूले गरेको पाइन्छ । अत्यन्तै महत्वपूर्ण मानवीय सेवाको माध्यमबाट बिस्तारै क्रिश्चियन धर्म प्रचार शुरु भयो । देशका प्रमुख ठाउँ छ जस्तो पोखराको भीम अस्पतालले गण्डकी बोर्डिङ स्कुलको माध्यमबाट आफ्नो खुट्टा टेक्ने ठाउँ बनाए क्रिश्चियनहरूले । पाल्पाको मिसन हस्पिटल र पाटनको शान्ता भवन ज्वलन्त उदाहरण हुन् । देशका पाँच विकास क्षेत्र (तत्कालीन) मा बोर्डिङ स्कुल र त्यसमा पढ्ने जेहेनदार तर गरिबलाई निःशुल्क पढ्ने व्यवस्था मिलाएको सबैलाई अवगत नै छ ।

तसर्थ आज ८१.३ प्रतिशत हिन्दू रहेको देशमा यति सजिलै धर्मनिरपेक्ष राष्ट्र घोषणा हुनुको पछाडि माथि उल्लेख कारण प्रमुख हुन् भने केही लोभीपापी हाम्रा राजनीतिक नेतृत्व पनि सहयोगी भएको हुनुपर्छ । नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा जानी–नजानी हिन्दूहरू पनि अछुतो रहन सक्दैनन् । आज हिन्दूधर्म र मष्टो संस्कृतिको अस्तित्वमाथि इसाईकरणको प्रभाव बढ्दो रूपमा देखिएको छ । मुख्यतः वर्तमान ब्राह्मणवादी राज्यसत्ता नै बढी जिम्मेदार छ भन्दा कसैले चित्त दुःखाउनुपर्दैन । गणतन्त्र नेपालको उच्च नेतृत्वमा गुणात्मक र सङ्ख्यात्मक हिसाबले उनीहरूकै बाहुल्य छ । चर्चामा रहेको होली वाइनदेखि क्रिश्चियन विश्वविद्यालयबाट पीएचडी उपाधि लिने आखिरी को थिए यसै प्रस्ट छ । तसर्थ यो गम्भीर अवस्थाको विश्लेषण र हिन्दूधर्म तथा खस संस्कृतिको छ्यासमिसले उत्पन्न अन्योलको टुङ्गो भविष्यले नै गर्दै जाला ।