राष्ट्रको वामपन्थीकरण !

राष्ट्रको वामपन्थीकरण !


■ स्वयम्भुनाथ कार्की

सत्ता परिवर्तन बन्दुकको नालबाट हुन्छ भन्ने शास्त्रीय मान्यता बोकेको अनि त्यही बाटो इमानदारीपूर्वक अपनाएको माओवादीलाई अँगाल्ने गिरिजा थिए । उनले बीपीको सैद्धान्तिक धरोहर बोकेका थिए जो बहुलवादको आदर्शमा आधारित थियो । केवल राजाले आफ्नो मान राखेनन्, पुछारी गरेनन् भनेर आक्रामक बनेका गिरिजाले दलसहित सैद्धान्तिक आत्महत्या गर्लान् भनेर कसैले कल्पना गरेको थिएन । राजसंस्थालाई काँधमा बोकेको दाबी गर्ने काङ्ग्रेसले पक्ष बदल्नेबित्तिकै भोग्नुपरेको हविगत हेर्नलायक छ । वास्तवमा नेपाली काङ्ग्रेस यतिबेला खोक्रो साबित हुँदै छ । नेपाल होइन विश्वका विचारकहरूको विचार पस्केर काङ्ग्रेसको वैचारिक कोष भएको भ्रममा बाँचेकाहरूले पङ्क्तिकारको यो तर्कको विरोध गर्नेछन् । तर ल्याकत भए जवाफ दिऊन्, राजा बोक्न छोडेको भन्नेबित्तिकै नेपाली काङ्ग्रेसको यो हविगत किन भयो ?

किन ती वैचारिक कोष अहिले दलको उपेक्षामा परेका छन् ? छातीमा हात राखेर सोचे भने नेपाली काङ्ग्रेसको वैचारिक धरातल नै सकिएको महसुस हुनेछ । गिरिजाप्रसादको यो अभिमानको कारणले नेपाल वर्तमानमा वामपन्थीकरणको बाटोमा तीव्र गतिले बढेको छ । जब बहुदल र बहुलवादमा प्रस्ट फरक देख्ने वामपन्थी दर्शन छ भने समाजवाद भनेको साम्यवादभन्दा एक खुड्किला पहिलेको अवस्था हो भन्ने पनि बुझेको छ । यो बीपीको भनिने प्रजातान्त्रिक समाजवादभन्दा धेरै भिन्न यो सोच हो । यसलाई संविधानमा उल्लेख गराउन वामपन्थी सफल भए । धारा ४ मा नेपाल राज्य परिभाषित छ कि ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।’

यो साम्यवादी अवधारणा हो भन्ने कुरालाई बल दिने अन्य प्रावधानहरू पनि छन् संविधानमा । तर, कथित प्रतिगमनको काल्पनिक डरले कुनै विषयमा छलफल गर्नभन्दा फास्ट ट्र्याक अपनाउन राजी भयो नेपाली काङ्ग्रेस । जब फास्ट ट्र्याक अपनाएर बहस प्रतिबन्धितजस्तै नियोजित गरियो त्यसले यो जनताले बनाएको संविधान भनाउने अधिकार खोसियो । राष्ट्रको संविधान भएकाले यसको सम्मान र पालन गरिनुलाई स्वामित्व ग्रहण गरेको भन्न मिल्दैन । जनविरोधका स्वरहरू उर्लिन थालेकोमा धूर्ततापूर्वक अघोषित नाकाबन्दीको नाटक मञ्चन भयो । यो नाटक थियो भन्ने कुरा त त्यसपछिका अनेकौँ घटनाहरूले सङ्केत गरेका छन् । प्रचारमा चीन ल्याएर भारतमा निर्भरता बढाइएको कुरा स्यालले चिल आयो भनेर कुखुरा आफैं कुम्ल्याएसरह हो ।

स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसको कतैबाट पनि उचित ठह¥याउन नसकिने व्यवहारले वामपन्थीहरूलाई दुईतिहाइको करिब पुऱ्याइदिएको छ । यो मत वामपन्थीको लोकप्रियताको मत भने होइन, काङ्ग्रेससँग चिडिएको मत हो । त्यसबेला मैदानमा ४ किसिमका रोजाइ थिए । पहिलो क्षेत्रीय दलहरू जो घुमाउरो तरिकाले नेपाल राष्ट्र बनेर आफूलाई अन्याय परेको भन्थे । औपचारिक जे भनिए पनि अनौपचारिक रूपमा त्यही हो भन्ने जनताले बुझेका थिए । दोस्रोमा आफूलाई राष्ट्रवादी भन्ने तर पुराना पञ्चहरू थिए, जो हमेशा पानीमाथि ओभानो भएर बेला–बेला सत्तासुख भोग्ने गर्दछन् । उसै पनि आफ्नो राष्ट्रवादीको तक्मा चटके नाकाबन्दीमा भारतसँग नझुकेको भनेर वामपन्थीलाई बुझाएका थिए ।

तेस्रोमा नेपाली काङ्ग्रेस थियो जो ‘मेरा बराजुले घ्यू खाएका थिए नपत्याए हात सुँघ’ दर्शनमा थियो । आफूले जे गरे पनि प्रजातन्त्र आफूविपरीत सबै तानाशाही भन्ने काङ्ग्रेसले प्रजातन्त्र लोकतन्त्रमा परिणत भएको ख्यालै गरेन । आफ्नो आधारभूमि भएको मध्यमवर्गको आस्थाहरूलाई प्रहार गरिरह्यो । फलतः त्यो वर्गले उसको साथ छोडिदियो । बाँकी बचेको वामपन्थी थिए, जो जसले ताजा ताजा राष्ट्रवादी ताज पाएका थिए । बाँकी तीनलाई जनताले अस्विकार गरेपछि माने पनि नमाने पनि मत दिने वामपन्थीबाहेक अरू भएनन् ।

अहिले वामपन्थी सरकार व्यक्तिगत पुँजी उन्मूलनको दिशामा उन्मुख छ । करको बोझ थपेर व्यक्तिगत पुँजी समाप्त पार्न लागेको छ । नेपाल जस्तो प्रमुख उत्पादन कृषि भएको देशमा कृषिउत्पादनका साधनहरूमा नियन्त्रण गर्ने अनेकौँ तरिका अपनाउने प्रयत्न भइरहेको छ । जग्गाजमिनको पुनः वर्गीकरण, खण्डीकरण कृषिकर्मीहरूलाई हतास बनाएर कृषिबाट विमुख गर्ने कदम हो । पैत्रिक सम्पत्ति पुस्तान्तरणमा कर भनेको नै व्यक्तिगत सम्पत्तिको अवधारणामा प्रहार हो । त्यसमाथि हचुवाको तालमा बाँझो रहने कारण नपहिल्याई जरिवाना गर्ने भनेको त्यही सम्पत्तिमाथिको प्रहार हो । अनि यो सबै कदमहरू साम्यवादी समाजवादतर्पmको यात्रा हो । जे–जस्तो भए पनि जनतालाई अर्कोपल्ट पनि वामपन्थीबाहेक मत दिने अर्को विकल्प छैन । अन्य तीनले आफ्नो सत्तालोलुपता, दम्भ आदिको कारणले जनतालाई आफूभन्दा टाढा धकेल्दै छन् ।