सडकको दूरावस्थाले पर्यटकशुन्य बन्दै ककनी

सडकको दूरावस्थाले पर्यटकशुन्य बन्दै ककनी


राजधानी काठमाडौंदेखि पर्यटकीय स्थल ककनीसम्मको यात्रा निकै कष्टकर र जोखिमपूर्ण बनेको छ । बालाजु बाईपासदेखि ककनीसम्मको दूरी २२ किलोमिटरको भए पनि उक्त दुरी छिचोल्न अहिले करिव चार घण्टाको समय लाग्ने गरेको छ । सामान्यतया उक्त दुरी ४५ मिनेटमा पार गरिन्थ्यो ।

विगत लामो समयदेखि बालाजु बाईपासदेखि ककनीसम्मको सडक खण्ड निर्माणधीन अवस्थामा रहे पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन । तत्कालीन अर्थमन्त्री रामशरण महतले यो सडक खण्डको निर्माण र विस्तारको लागि योजनासहित बजेट छुट्याएका थिए । विडम्बना ! उक्त बजेट छुट्याएको एक दशक बितिसक्दा पनि सडक निर्माण विस्तारमा उल्लेखनीय कार्य हुन सकेको छैन ।

सडक निर्माण र विस्तारका लागि केही कार्य अगाडि बढेको देखिए पनि त्यसमा सन्तोष मान्न सक्ने अवस्था छैन । ओशो तपोवनदेखि तीनपिप्लेसम्म सडक विस्तार गर्ने कार्य भए पनि उक्त कार्य सकिएको एक, डेढ वर्ष बितिसकेको छ, तर यस अवधिमा रोडा हाल्नेबाहेक केही हुन सकेको छैन । रोडा हालेको सडकमा पनि अहिले ठूला–ठूला खाल्डा परेर सवारी आवतजावतमा निकै दुष्प्रभाव परेको छ ।

वास्तवमा तीनपिप्लेदेखि ककनीसम्मको सडक ज्यादै दयनीय अवस्थामा पुगेको छ । पहिले नै साँगुरो सडकको रुपमा परिचित यो मार्ग अहिले वर्षातको समयमा अझ साँघुरो र जोखिमयुक्त बनेको छ । ०७२ सालको महाभूकम्पले निकै प्रभावित पारेको यो सडकको अवस्था अहिले त्यतिबेलाको भन्दा नाजुक र दयनीय बनेको छ ।

सडक विस्तार र निर्माणका लागि ठाउँ–ठाउँमा डोजर र एक्जाभेटर राखिए पनि ती साधनको प्रयोग गरिएको छैन । वर्षाको समय त्यसमाथि जबर्जस्ती चलाइका टिपर र फोहरमैलाका गाडीका कारण सडकको अवस्था नाजुक बनेको छ । त्यसमाथि वर्षादको मौसम सडकको तलमाथिबाट गएको र आएको पहिरोले सडकलाई बिजोग तुल्याएको छ । अझ वर्षादको पानीले हिलाम्मे पारेको सडकमा परेका ठूला र धरापयुक्त खाल्डाले सवारी साधन र चालकलाई गन्तव्य छिचोल्न निकै चुनौती पेस गरेको छ ।

यस सडकको दूरावस्थाका कारण पर्यटकीय स्थल ककनी र त्यसको वरिपरि मनोरञ्जनका निम्ति जाने आन्तरिक र बाह्य पर्यटकहरू त्यहाँ जानै छोडेका छन् । पर्यटकको संख्या प्रायः सून्य नै हुन पुगेको छ भन्दा अत्युक्ति नहोला । अहिले त्यसको प्रत्यक्ष असर होटल व्यवसाय र मौसमी खेती गरेर सडकमा आफ्नो उत्पादन बेच्नेहरूमा नराम्रोसँग परेको छ ।

सडकको यो दुर्गतीको बारेमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क गर्दा उनीहरूले यो राजनीतिक दल र ठेकेदारको मिलीभगतले यस्तो अवस्था निम्तिएको आरोप लगाए । उनीहरूले वस्तुभाउ चराउनदेखि आवतजावत गर्नमा समेत निकै कठिनाई भएको गुनासो गरे । राजनीतिक दलका नेताले सडक चाँडो बन्ने आश्वासन दिए पनि अहिलेसम्म त्यो सबै चुनावी नारा मात्रै भएको उनीहरूको भनाई छ । दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा अहिले नेकपाको तर्फबाट हितमान तामाङ र नेपाली कांग्रेसको तर्फबाट बहादुर सिंह लामा सांसद छन् ।

बाटोेको दुर्गति देखेर राजनीतिक दलका नेता र ठेकेदारलाई सराप्नेबाहेक स्थानीय जनताले केही गर्न सकेका छैनन् । बल्लतल्ल दिनमा दुई–चारवटा पर्यटकका गाडि आउँछन् त्यही पनि हिलोमा गाडिएर फसेपछि ती गाडीलाई निकाल्ने र सुरक्षित पठाउने कार्य नै स्थानीयहरूको दिनचर्या बनेको छ । ‘यो सडक कहिल्यै बन्दैन, बन्ने भए बनिहाल्थ्यो, हाम्रा राजनीतिक दलका नेता गतिला भएनन्, खाली पैसो कमाउन मात्रै लागे, जनताको के मतलव छ र उनीहरूलाई ?’– एक स्थानीय वृद्धले भनिन् ।

नुवाकोट त्यस्तो जिल्ला हो, जसले मुलुक नै हाँक्न सक्ने नेता जन्माएको छ । रामशरण महत, प्रकाशचन्द्र लोहनी, अर्जुन नरसिंह केसी, महेन्द्रबहादुर पाण्डे, प्रकाशशरण महत, बहादुरसिंह लामा, हितमान तामाङ, जगदिश्वर नरसिंह केसी जस्ता नुवाकोटे नेताहरूले यथार्थमा भन्नुपर्दा राष्ट्रिय पहिचन नै बनाएका छन् । तर, यी नेताहरू नुवाकोट तथा आसपासका जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात् भनेजस्तो मात्र सावित भएको छ । नुवाकोट जिल्लाले यति ठूला नेता जन्माए पनि अहिलेसम्म बालाजु बाईपासदेखि ककनीसम्मको २२ किलो मिटर सडकको सुधार गर्न नसक्नु नुवाकोट जिल्लाको लागि मात्र नभई मुलुककै निम्ति दुर्भाग्यको सन्दर्भ हो ।