अध्यक्ष र मेरो भनाभन श्रीमान-श्रीमतीको जस्तै : माधव

अध्यक्ष र मेरो भनाभन श्रीमान-श्रीमतीको जस्तै : माधव


सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्षबीच बिहीबार भएको भनाभनलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् । शुक्रबार सहयोगी नगर सामुदायिक समाजद्वारा राजधानीमा आयोजित कार्यक्रममा नेपालले कार्यकर्ताले यस विषयलाई लिएर व्यक्त चिन्ताप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै यस विषयलाई सामान्य रूपमा लिन आग्रह गरेका हुन् ।

विषयवस्तुमाथिको बुझाइमा एकरूपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने तर्क गर्दै उनले त्यस विषयलाई घर–झगडाको रूपमा बुझ्न पनि सुझाव दिए । जसरी घरमा श्रीमान–श्रीमतीको झगडा हुन्छ हाम्रो भनाभन त्यहीस्तरको हो– उनले भने । श्रीमान–श्रीमतीबीच झगडा भयो भन्दैमा वैवाहिक जीवनप्रति नै निराश हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्छ भन्दै उनले राजनीतिमा भागेर नभई समस्यासँग जुध्दै र सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

‘नेताहरूबीच भनाभन भएछ भनेर साथीले चिन्ता व्यक्त गर्नुभयो, यसबाट आत्तिनु पर्दैन । घरमा श्रीमान–श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? बिहे गर्नु नै बेकार रहेछ । छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु ? आएका समस्यालाई कसरी समाधान गर्ने ?’ उनले भने, ‘समस्या त आउँछन् । नआओस् भन्ने हो भने जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने हरेक समस्या आउँछन् । ती समस्याको सामना गर्ने आँँट हुनुपर्छ ।’

उनले पारिवारिक, राजनीतिकलगायत सबै क्षेत्रमा नेतृत्वले सबैका कुरा सुन्ने धैर्यता राख्नुपर्ने र कुरा सुनेर निर्णयमा पुग्नुपर्ने बताए ।