पीडित समाजको उत्थानका लागि योगिनी कप फुटबल

पीडित समाजको उत्थानका लागि योगिनी कप फुटबल


बाँकेको खजुरामा संविधान दिवसको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको खेल मैदानमा आगमी असोज ३ देखि ७ गतेसम्म सविधान दिवसको अवसरमा योगिनी कप फुटबल प्रतियोगिता सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगीतामा बाँके र बर्दियाका जम्मा ८ टिमले सहभागिता जनाउने जानकारी गराइएको छ ।

सहयोगी आवाज (हिभ) नेपालको आयोजनामा र बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिने आयोजक समितिका संयोजक तरिन्द्रबहादुर थापाले जानकारी दिए । बाँके जिल्लाको फुटबल विकासमा योगदान गरेका खेलकर्मीलाई समेत सम्मान गर्ने तयारी गरेको उनले बताए ।

युवाहरु पछिल्लो समय लागूपदार्थ दुव्र्यसनमा फसेर आफनो अमूल्य समय बर्बात गरिरहेकाले यस्ता समस्याबाट समाज पिडित भैरहेको बेला आफुहरुले योगिनी कप फुटबल प्रतियोगिताको सुरुआत गर्न लागेको संयोजक थापाको भनाई छ ।

विगतको इतिहासमा खजुरा क्षेत्र फुटबलमा सक्रिय रहेको र यहाँ थुप्रै खेलाडीले राष्ट्रिय स्तरमा आफनो प्रतिभा मार्फत बाँकेलाई चिनाएका सफल भएको आयोज समितिका संरक्षक रत्न खत्रीले बताए । प्रतियोगिताले खजुरा क्षेत्रमा घट्दै गएको फुटबलको लोकप्रियता बढाउने र कुलतमा लागेका युवालाई खेल मार्फत समाज विकासमा लाग्न सहयोग गर्ने उनको विश्वास छ ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला फुलबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीले खेलकुदको माध्यमबा यहाँ बढ्दै गरेको लागूऔषध दुव्र्यसनीलाई न्यूनिकरण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए । प्रतियोगीता सफल पार्नको लागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतियोगिता पछि पनि आफुहरु खेलाडीलाई प्रशिक्षणको सहयोग गर्ने उनको भनाइ थियो । राम्रो खेलाडी उत्पादन गर्ने क्षेत्र भएर पनि यहाँ अहिलेसम्म स्तरीय फुटबल प्रतियोगिता हुन सकेको थिएन् । यो प्रतियोगीताले स्थानीय पर्यटन प्रवद्र्धन र खेलको विकासमा महत्वपूर्ण सहयोग पु¥याउने बताए । खजुरा क्षेत्र फुटबल खेलाडी उत्पादन गर्दै आएको क्षेत्र भएपनि अहिलेसम्म यस्तो प्रतियोगीता सञ्चालन हुन नसकेकाले आफुहरुले आयोजना गरेको उनले बताए । प्रतियोगिता फुटबलको अन्तर्राष्ट्रिय निकाय फिफाको नियम अनुसार संचालन गरिने आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २५ हजार र १५ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने संयोजक थापाले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार, विधागत रुपमा उत्कृष्ट गोलकिपर, फरवार्ड, मिडफिल्डर, डिफेन्स र प्रशिक्षकलाईसमेत पुरस्कृत गरिने उनको भनाइ छ । प्रतियोगिता सञ्चालन गर्नको लागि करिव तीन लाख ५० हजार भन्दा बढि रकम खर्च हुने आयोजकको अनुमान रहेको छ ।

सञ्चारकर्मी निशु जोशीको सञ्चालन रहेको पत्रकारसम्मेलनमा क्षेत्रीय खेलकुद विकास समितिका निर्वतमान उपाध्यक्ष नरेन्द्र थापा, फुटबल प्रशिक्षक सानु तामाङ, भिमजङ शाह, राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटालगायतको सहभागिता रहेको थियो ।