रक्तदान गरी सेनाले जोगाए दुई गर्भवती महिलाको ज्यान

रक्तदान गरी सेनाले जोगाए दुई गर्भवती महिलाको ज्यान


■ हेमशंकर सिंह, राजविराज

नेपाली सेनाले रक्तदान गरी सप्तरीका दुई गर्भवती महिलाको ज्यान जोगाएका छन् । सप्तरीको छिन्नमस्ता र राजगढ गाउँपालिकाका दुई गर्भवती महिलालाई नेपाली सेनाले रक्तदान गरी ज्यान जोगाएका हुन् ।

छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कुपहीका पवन मुखियाको २८ वर्षीया श्रीमती रामवती मुखियाको प्रसुती गराउन राजविराजस्थित अनार भूपेन्द्रनाथ हस्पिटलमा भर्ना गरिएको थियो ।

शरिरमा रगतको कमी भएको उनलाई ए पोजेटिभ रगतको आवश्यकता भएको र सो रक्त समुहको रगत ब्लड बैंकमा नभेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गरियो । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि सो रक्त समुहका रक्तदाता नभेटिएपछि सेनालाई अनुरोध गरिएको उनका श्रीमान पवनले बताए ।

राजविराजस्थित भीमदल गणका अमल्दार माधवराज रानाले रक्तदान गरी श्रीमतीको ज्यान जोगाएको पवनले बताए ।

यस्तै राजगढ गाउँपालिका वडा नम्बर ६ बर्दाहीका गणेश यादवकी २४ वर्षीया श्रीमती ललिता देवी यादवको पनि प्रसुती गराउन भीमदल गणकै सिपाही टेकबहादुर शाहले १ पिन्ट बी नेगेटिभ रगत रक्तदान गरी ज्यान जोगाएका छन् ।