चिदम्बरमलाई पाँच दिन थुनामा राखिने

चिदम्बरमलाई पाँच दिन थुनामा राखिने


दुरसञ्चार सेवासम्वन्धी एउटा परियोजनामा अनियमितता गरेको अभियोगमा हिजो बुधबार सिविआईको टोलीद्वारा गिरफ्तार गरिएका भारतीय कांग्रेसका वरिष्ठ नेता एवम् पुर्व केन्द्रीय वित्त मन्त्री पि. चिदम्बरमलाई भारतको केन्द्रीय अन्वेषण विभागको विषेश अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

उनलाई यही अगस्ट २६ तारिखसम्म अन्वेषण विभाग (सिविआई)को थुनुवा कक्षमा राख्न बिहीबार (५ भदौ) अनुमति दिइएको हो । उनलाई नयाँ दिल्लीस्थित आफ्नै निवासबाट गिरफ्तार गरिएको थियो ।

एएनआईका अनुसार अदालतले चिदम्बरमलाई हरेक दिन ३० मिनेट परिवारजन र वकिलहरूले भेट्न पाउने व्यवस्था गर्न पनि अनुमति दिइएको छ । सिविआईका न्यायधिवक्ता जनरल तुशार मेहताले चिदम्बरमलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए । उनको माग अनुसार अदालतले पाँच दिने म्याद दिएको हो ।

दिल्लीस्थित उच्च अदालतले चिदम्बरमको जमानतको प्रस्ताव अस्वीकार गरेको एक दिनपछि उनलाई पक्राउ गरिएको हो । चिदम्बरमका वकिलहरूले भने उनमाथि राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचारको आरोप लगाएको दाबी गरेका छन् ।

दुई पटकसम्म भारतको अर्थमन्त्री भइसकेका चिदम्बरम अहिले विपक्षी काङ्ग्रेस पार्टीको वरिष्ठ नेता छन् भने उनी सन् १९८४ देखि सांसद र एकपटक गृहमन्त्री पनि भएका थिए ।

सन् २००७ मा अर्थमन्त्री हुँदा घुस खाएर विदेशी लगानीलाई बाटो खोलिदिएको आरोप पनि उनलाई लगाइएको छ । अनुसन्धानकर्ताहरुले उनका छोरा कार्ती चिदम्बरममाथि पनि अनुसन्धान गरिरहेका छन् ।