पाटन दरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा

पाटन दरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा


श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ललितपुरस्थित पाटन दरबार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । लाखौँ हिन्दूधर्मावलम्बीले दर्शन गर्ने कृष्ण मन्दिरमा भक्तजनको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ ।

आज रातिदेखि पाटन दरबार सङ्ग्रहालयमा भक्तजनको घुइँचो लाग्ने भएकाले सुरक्षाकर्मी परिचालन गरिएको हो । कृष्णको दर्शन गर्न भक्तजन आजैदेखि लाम लागिसकेका छन् । राति १ बजे भगवान् कृष्णको नित्य पूजा समाप्त भएपछि दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ ।

पाटनस्थित मङ्गल टोल सुधार सङ्घले व्यवस्थापनका लागि करीब ३०० सदस्य तथा अन्य सङ्घसंस्थाले समेत झण्डै ३०० स्वयमसेवक खटाउने निर्णय गरेको छ । मन्दिर पुनःनिर्माण गरिएपछि दुई वर्षदेखि भक्तजनलाई मन्दिरमै गएर दर्शन गर्न दिन थालिएको छ ।