दुई देशका परराष्ट्रमन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

दुई देशका परराष्ट्रमन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत दुई दिवसीय परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाबारे छलफल भएको जानकारी दिएका छन् ।

मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकबारे सदनलाई जानकारी गराउँदै डुबानको समस्या, गौतमबुद्ध र निजगढ विमानस्थल र सीमास्तम्भ, सुस्ता र कालापानीको समस्या, पञ्चेश्वर परियोजना, व्यापार घाटा, परिमाणात्मक भन्सार महसुल दरबारे छलफल भएको बताए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखसँग विशेष समय माग गर्दै उनले जनकपुर–जयनगर रेल्वे, खाद्य तथा गुण नियन्त्रण, भूकम्प पुनर्निर्माण, हुलाकी राजमार्ग एवं दुई पक्ष साझा हितका विषयमा गहन छलफल भएको सदनलाई जानकारी दिए ।

परराष्ट्रमन्त्रीस्तरीय दुई देशबीचको संयुक्त आयोगको बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिममण्डल र भारतको तर्फबाट भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरको सहभागिता रहेको मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले पूरक प्रश्नको जवाफ दिँदै कस्मिरमा करिब ९० हजार नेपाली कार्यरत रहेकाले सो विषयमा कुराकानी नभएको जानकारी दिए । सदनमा पूरक प्रश्न डा. मीनेन्द्र रिजाल, सत्यनारायण शर्मा खनाल र प्रेम सुवालले गरेका थिए । नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठक भदौ ३ र ४ गते काठमाडौँमा आयोजना भएको थियो ।

rss