बाध्यताले मात्र नभई रहर, संकल्प र त्यागले सहमति सम्भव भयो

बाध्यताले मात्र नभई रहर, संकल्प र त्यागले सहमति सम्भव भयो


■ डिल्ली अम्माई, बेल्जियम

‘अघाएकाबाट हैन, अतृप्त र भोका मानिसहरूबाट नयाँ अभ्यासको थालनी हुन्छ’ भन्ने कुराबाट नै एनआरएनए बेल्जियमको आम सहमतिबारे केही मन कल्पनाहरू कोर्न मन लाग्यो ।

केहि दिन अगाडिसम्म बेल्जियमको नेपाली समाजबारे संसारभरि नकारात्मक कुराहरू मात्रै धेरै गएको थियो । ‘कहिल्यै मिल्न नसक्ने समाज कहीँ छ भने त्यो बेल्जियममा छ, कहिँ नभएका नम्बर वान भाँड नेपाली सामाजिक अगुवाहरू डायस्पोरामा कहिँ–कतै छन् भने त्यो बेल्जियममा छन्’ भनेर उदाहरण दिइन्थ्यो र अहिलेसम्म दिइँदै आएको छ । ‘बाहिर मिलेर हिँडेको देखिए पनि बेल्जियमको समाजका अगुवाहरूकै कारण ब्यक्ति–ब्यक्तिमा कटुता छ, संघसंस्थाहरूमा वैमनस्यता छ । राजनैतिक दलहरूका बेल्जियमस्थित भातृ संघ–संगठनमा मात्र नभएर सामाजिक, जातीय र क्षेत्रीय संस्थाहरूमा समेत गुट–उपगुटबीच मारामार छ’ भनेर नेपाललगायत अरु देशका नेपालीहरूले बुझ्ने गरेका थिए । अवस्था यथार्थमा त्यस्तै थियो पनि । तर अहिले ती सबै आरोपलाई चकनाचुर पार्ने गरेर नेपाली अभियन्ताहरूले कसैले नचिताएको उत्तर दिए । अत्यन्त सकारात्मक र बेल्जियमका नेपालीहरूलाई मात्र नभएर संसारलाई अचम्मित पार्ने गरेर जवाफ फर्काइदिए । ‘हामी परिपक्व छौँ र आवश्यक परे हामीबीचका अनगिन्ती कटुताका तगाराहरू एकै लात्तीमा भत्काइदिन सक्छौँ’ भनेर संसारले देख्ने गरी पुरुषार्थी नजिर बनाइदिए बेल्जियमका अगुवाहरूले ।

एकता प्रक्रियाको शुरुवात पनि संघर्षको रुपमा एउटा भोकबाट शुरु भयो । कटुताविरुद्धको भोक, आफुले आफ्नै टाउकोमा आफै आगो सल्काएर आफुलाई रुपान्तरण गर्ने भोक, अर्थात बेल्जियमका नेपालीहरूलाई एक बनाएर आफुमाथि लाग्दै गरेको आरोपको व्यवहारबाट पखाल्ने भोक । ‘बेल्जियमको नेपाली समाज मिलेको छ, र अहिलेसम्म लाग्दै गरेका आरोपहरू गलत सावित भए है’ भनेर कोही बोल्नै परेन । एउटै व्याबहारिक उत्तरबाट संसारले बुझ्यो र डायस्पोराको नेपाली समाज आफै चकित भयो । कतैकतै शंकाको स्वर सुनियो, ‘बेल्जियममा त्यस्तो भयो र ? ए हो र ???’ अरु सबैतिरको स्वर क्रमस धिमा भयो ।

अब बेल्जियमवासी नेपालीबीच एकताको यो उदाहरण भोलिको लागि एउटा अनुपम उदाहरण बन्ने पक्का छ । ‘हामी एकाघरका नेपालीहरू’ बेल्जियमको यो उदाहरणलाई संसारभरी सामाजिक सदभाव र एकताको दर्शनको रुपमा व्याख्या गर्न बाध्य हुनेछौँ । जहानको कलहदेखि जहाँको कलहसम्म, संघभित्रको कलहदेखि धनको कलहसम्म, साम्प्रदायिक कलहदेखि व्यवहारिक कलहसम्म यो एकताको उदाहरण डायस्पोरामा गज्जबले प्रस्तुत हुनेछ । नमिलेकाहरू बीच यसको मोडेलबारे चर्चा हुनेछ । यो एक शान्ति र एकताका भोकाहरूको, सामाजिक सदभावका भोकाहरूको र मेलमिलाप दिवसको रुपमा स्थापित हुनेछ ।

केहिले भनेको सुनियो कि ‘यो बेल्जियममा शक्ति सन्तुलनले ल्याएको फेरबदलको परिणाम हो । प्रगतिशील शक्तिहरू मिलेको र प्रजातान्त्रिक शक्तिहरूबीच भएको बेमेलले गर्दा बाध्यतामा एकता भएको हो । कसैले जित्ने विश्वास गुमाएपछिको एकता हो यो ।’ त्यस्तै अर्को चर्चा पनि सुनियो, ‘केन्द्रको मतलाई प्रभावित पार्दै बेल्जियमका उम्मेदवारहरू विजयी बनाउने रणनीतिले एकता सम्भव भएको हो ।’ आंशिक रुपमा त्यो सही भए पनि त्यत्ति कारण मात्रले यो एकता सम्भव थिएन । कारण जे भए पनि एकता हुनु सबैभन्दा महत्वपुर्ण कुरा हो । कसैले स्वर्ग पुगिने आशामा सत्तल बनायो भने किन बनायो भनेर कारण खोज्दै हिँड्नु अनावश्यक कुरा हो । महत्वपुर्ण कुरा निर्माण हो । यसभित्र गहन गृहकार्य भएको नदेख्नेहरूले यस्तै कारण दिएर एकता र शान्तिलाई गौण बनाउन खोज्दछन् वा खोजिने छ ।

एकताको यो गृहकार्यमा धेरै कठिन आन्तरिक गृहकार्यहरू भएको छ । यसमा जनप्रगतिशील मञ्चका अध्यक्ष जित लामालगायतको अथक मेहनत, गंगाधर गौतमको त्रिकोणात्मक अन्तरविरोधलाई हल गर्न खेलिएको भूमिका र त्याग, जन सम्पर्क समितिकी अध्यक्ष सीता सापकोटाको नदीको धारको विरुद्ध उभिने हिम्मत, प्रवासी नेपाली मञ्चका अध्यक्ष बोधराज पौड्यालको सहमतिप्रतिको इमान्दार प्रतिबध्दता र लगाव, अनुजा प्रधान, अर्जुन गुरुङ, पदम गुरुङ, नेत्र मगर लगायतको अनुपम त्यागले यो सम्भव भएको हो । यसमा अन्य अभियन्ताहरूको पनि धेरै मेहनत परेको छ । माफ गर्नुहोला, यहाँ ती सबैको नाम लिन सम्भव देखिएन ।

त्यस्तै सहमति र एकताको टिम निर्माण हुनुमा अभिभावकत्व प्रदान गरेका अन्तर्राष्ट्रिय उपाध्यक्ष कुमार पन्त, सचिव जानकी गुरुङ, युरोप संयोजक शिव बरुवाल, कृषि प्रवर्धन समितिका संयोजक युवराज गुरुङको समेत अथक प्रयासको निश्कर्ष समेत मान्नुपर्छ । छोटकरीमा भन्दा, एनआरएनए बेल्जियमको सहमतिय राष्ट्रिय परिषद निर्माणलाई सार्थक निचोडमा पुऱ्याउन त्यस्तो अभ्यास बाँकी रहेन जुन नगरिएको होस् ।

‘सहमति वा एकता हुन्छ भने मलाई कुनै पद नदिनुहोस् तर पनि म एकतामा बाधक नबनिकन मेरा प्रत्यासीलाई बिनाहिच्किचाहट समर्थन गर्छु’ भन्ने नेपाली समाज बेल्जियमका शालिन र सुन्दर अग्रजको नाम हो सुवास जोशी । समाजमा एकता र शान्तिको लागि महान त्याग गर्न सक्ने भगतसिंहहरू पनि रहेछन् भनेर एनआरएनए बेल्जियमको अधिवेशनमा धेरैले थाहा पाए ।

बेल्जियमको नेपाली समाजमा घोलिएको कलह र अशान्तिको विष एकै पटक समाप्त पार्ने कठोर निर्णय गरेर अघि बढेका नेपाली गान्धी र मण्डेलाहरू, अब तपाइहरूको अर्को महत्वपुर्ण जिम्मेवारी पनि थपिएको छ । त्यो हो, शान्ति एकता र सहमतिको यो नजिरलाई दिर्घकालसम्म अनुकरणीय, न्यायसंगत र पुजनीय बनाउनु । समाज संधैं तपाइहरूको साथमा खबरदारीसहित रहने छ । बेमेलका बाँकी किटाणुहरू पनि समाप्त पार्ने दिशामा तपाईंहरू अब्बल रहनुहोस् । बाध्यताले मात्र हैन, रहर, संकल्प र त्यागले मात्र एकता वा शान्ति सम्भव भएको हो भनेर संसारलाई बताइरहँदा सामाजिक एकतालाई दिगो बनाउने उर्जावान बत्ति निभ्न नदिनेतर्फ पनि अलिकति ध्यान दिनुहोला ।

अब उप्रान्त समाजको लागि यति ठुलो एकताको उपहार दिन सक्नेले घर वा आफ्नो समूह मिलाउन सकेनन् भनेर दुनियाँको टिप्पणी सुन्नुपऱ्यो भने एकताप्रेमीहरूलाई आत्मदाह गर्दाको जत्तिकै पीडा हुनेछ । त्यसतर्फ चनाखो रहनु होला ।

संयुक्त मेलमिलाप समितिका प्रतिमुर्तिहरू, यो एकताको आस्थालाई मार्ने वा बचाउने भन्नेमा तपाईंहरूको दायित्व पनि गहन हुनुपर्ने छ । बुझी राख्नुस्, अब तपाईंहरू एनआरएनका मात्र नेता हुनुहुन्न । अबदेखि तपाइहरू बेल्जियमको सामाजिक सदभाव र एकताका दियो हुनुहुन्छ । यो जिम्मेवारी विगतका अध्यक्षहरूको भन्दा गह्रौँ छ, सामाजिक सन्तुलनको सम्मान गर्ने कार्य महान हुँदाहुँदै पनि बोझिलो छ । असन्तोषको बिउ ठुलो हुनु पर्दैन, सानो असन्तोषले ठुलो बिग्रह निम्त्याएका अनगिन्ती उदाहरणहरू छन् संसारमा । त्यसको हमेशा ख्याल गर्नुहोला । तपाईंहरूलाई समाजले दिएको सम्मान, आस्था र भरोसा त्यही विवेकशील सन्तुलनको भरोसामा झुण्डिएको छ । सहमति, शान्ति, आशा र विश्वासका प्रतीक एनआरएनए अध्यक्ष चित्र सुवेदी, अन्तर्राष्ट्रिय सदस्य सुवास जोशी, उपाध्यक्षहरू, महासचिवलगायत सम्पूर्ण टिमप्रति आफ्नो जिम्मेवारीप्रति डटिरहने साहस बढ्दैजावस् । हार्दिक बधाई ।