फैसला ढिलो भएकोमा बन्दीले गरे गुनासो

फैसला ढिलो भएकोमा बन्दीले गरे गुनासो


■ एच.एस. सिंह, राजविराज

उच्च अदालत जनकपुर (राजविराज) इजलासले मंगलबार (३ भदौ)देखि राजविराज कारागारमा दुईदिने न्यायिक शिविर शुरु गरेको छ ।

शिविरमा विभिन्न मुद्दामा पक्राउ परि पुर्पक्षका लागि कारागार चलान भएका बन्दीहरुले वर्षौसम्म पनि मुद्दा फैसला नहुँदा अन्यायमा परेको गुनासो गर्नुका साथै मुद्दा फैसला ढिलो भएकोमा चित्त दुखाएका छन ।

समयमा मुद्दा फैसला नभई भुक्तान गर्नुपर्ने सजाय निर्क्योल नहुँदा दुःख मात्रै पाएको तथा पुनरावेदन गर्न पनि नपाएको बन्दीहरुको भनाई छ ।

सप्तरी जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले मुद्दा फैसला सुस्त भइरहेको स्वीकार गर्दै जटिल प्रकिया र जनशक्ति अभावका कारण समस्या बढेको बताए । सरकारवादी फौजदारी मुद्दाको प्रकृया नै जटिल हुने र आरोपितलाई पक्राउ र अनुसन्धान गर्नमै प्रहरीले लामो समय बिताइदिने भएकाले फैसला पनि ढिलो हुने गरेको उनको भनाई छ । सप्तरी जिल्ला अदालतमा अहिले पनि २ वर्ष नाघेका ८ सयभन्दा बढि रहेको उनले बताए ।

कारागारका २ जना कैदीबन्दीले स्वास्थ्यको कारण देखाउँदै स्थानान्तरणको माग गरेका छन् । सप्तरीको कंचनरुप नगरपालिका ५ का ३५ वर्षीय साहुदर सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिकाको तेरहौताका २७ वर्षीय नरेश राईले आफुहरुलाई उपचार गर्न सहज हुने गरी ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण माग गरेका छन् ।

जिउ काम्ने तथा हिँडडुल गर्न नसक्ने अवस्थाका दुवैलाई जतिसक्दो चाँडो उपचारको ब्यवस्था मिलाइदिन चौकीदार जितेन्द्रकुमार यादवले पनि आग्रह गरेका छन् ।

दुवैको कारागार सरुवाका लागि जिल्ला अदालतमा पनि पत्राचार भइसकेको निमित्त कारागार प्रमुख सत्यनारायण यादवले जानकारी दिए । सदा ज्यान मार्ने उद्योग र राई कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका छन् ।

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको लालापट्टिका ६५ वर्षीय वैजनाथी रामले आफनो उपचारको ब्यवस्था मिलाइदिन अदालतसमक्ष गुहार गरेका छन् ।