१८ करोड हिनामिना आरोपमा बैंक म्यानेजर पक्राउ





जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई छ ।

बैंकको करिब १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार आरोपित बुढाथोकीले बैंकको रु. १७ करोड ९९ लाख हिनामिना गरेका थिए । बैंकको केन्द्रीय कार्यालयको उजुरीका आधारमा लमहीबाट बुढाथोकीलाई पक्राउ गरिएको हो ।

बुढाथोकीले ३५ जना नक्कली ऋणी तयार गरी आफूलाई फाइदा हुने गरी बैंकबाट पैसा झिकेको बैंकले जनाएको छ । आरोपित बुढाथोकीलाई थप अनुसन्धानका लागि आजै नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ । दाङमा वाणिज्य इजलास नभएकाले नेपालगञ्ज पठाइन लागिएको प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए ।

घोराही–१५ भरतपुर निवासी बुढाथोकी ०६७ देखि बैंकमा कार्यरत थिए । डेढ वर्षअघि मात्रै उनी प्रबन्धकका रूपमा नियुक्त भएको बताइएको छ ।

प्रतिक्रिया