वामदेव पनि बाठो !

वामदेव पनि बाठो !


वामदेव गौतम लेख लेख्छन्, वैचारिक बहसहरूमा रुचिका साथ सहभागिता जनाउँछन् र उनले किताबसमेत प्रकाशित गरेका छन्, तथापि उनलाई बौद्धिक नेताका रूपमा लिइँदैन । एउटा ‘ब्लन्ट’ अस्थिर र भौँजाहा नेताका रूपमा वामदेवको परिचय बनेको छ । उनी जे गर्ने हो त्यही भन्छन् र जे भन्छन् त्यो गर्नका निम्ति सम्पूर्ण प्रयास गर्छन् भन्ने वामदेवको पुरानो पहिचान हो । तर, यसपटक वामदेवको शैली र क्रियाकलाप जस्तो देखियो, त्यसले उनी पनि ‘बाठो’ भएको देखाएको छ ।

‘केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउनुपर्छ’ भन्दै प्रचण्ड र माधवकुमार नेपाललाई उक्साउने गरेका वामदेवले केपी ओलीसँग गुप्त भेटघाट गरी भित्रभित्रै समझदारी बनाइसकेका थिए । केपी ओलीसँग गुप्त सम्झौता भएपछि मात्र वामदेवले जबजका पक्षमा लेख प्रकाशित गरेका थिए । प्रधानमन्त्री ओली सिङ्गापुरबाट फर्किंदा विमानस्थलमा सपत्नी पुगेर वामदेवले केपीप्रतिको आफ्नो बढ्दो प्रेम र सम्मान जाहेर गरेका थिए । यीबाहेक अन्य केही गुप्त समझदारी पनि वामदेवले केपीसँग बनाएको बुझिन्छ । यसरी केपीको उत्तराधिकारी बन्ने तहको समझदारीमा पुगिसकेका वामदेवले उता प्रचण्डसँग भने आफूले केपीलाई बेबकुफ बनाएको र केपीलाई ठीक समयमा ठेगान लगाइदिने वचनबद्धता पनि प्रकट गरिरहेका छन् । जानकारीअनुसार वामदेवले प्रचण्डसँग भन्ने गरेका छन्, ‘अब चार महिनाभन्दा बढी केपी सक्रिय रहने होइन, यति समयका निम्ति किन झगडा गरिरहनु । म संसद्मा प्रवेश भएपछि हेर्नुहोला नि के गर्नेछु ।’

उनले ‘केपीलाई सिध्याउने प्रतिबद्धता’ मात्र प्रचण्डसमक्ष जाहेर गरेका छैनन्, महाचिव विष्णु पौडेललाई प्रचण्डसमक्ष पठाएर ‘वामदेवले बाहिर जे–जे गरिरहेको भए पनि उनी भित्री रूपले तपाईंसँगै छन् है’ भन्न पनि लगाएका छन् । यसरी वामदेवले चतु¥याइँ गरेर उपाध्यक्ष र सङ्गठन विभाग प्रमुखको पद पड्काइसकेका छन् । समय आएपछि उनी प्रचण्डतिर उभिएलान् कि केपी र उनको कित्तालाई साथ देलान्, त्यो यकिन भएको छैन । तर, केपीको उत्तराधिकारी बनेर पार्टीभित्र सबैभन्दा ठूलो गुटको नेता हुने सपना भने वामदेवले देखेका छन् । त्यसैले अन्ततः वामदेवबाट प्रचण्डले नै धोखा पाउन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । ‘ब्लन्ट’ ठानिएका वामदेवले समेत यसरी बठ्याइँ गर्न थालेपछि नेकपाभित्र यतिबेला उनी मुख्य चर्चाको पात्र बनेका छन् ।