काम ठग्ने ठेकेदार कम्पनीसामु शक्तिशाली सरकार निरीह !

काम ठग्ने ठेकेदार कम्पनीसामु शक्तिशाली सरकार निरीह !


■ मुक्तिनाथ भुसाल, अर्घाखाँची

भविष्यमा चीनको सीमासम्म जोड्ने सोचका साथ एक दशक अघिदेखि शुरु गरिएको सडक अलपत्र अवस्थामा रहेको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको प्रारम्भिक खण्डमा कामको जिम्मा लिएको ठेकेदार राज्यभन्दा सर्वेसर्वा बनेपछि सडक उपयोग गर्नबाट स्थानीय नागरिक वञ्चित बनेका छन् । स्थापनाकालदेखि अहिलेसम्ममा सातजना योजना प्रमुख प्राप्त गरिसकेको यस सडकमा हालसम्म जम्मा १ अर्ब ४० करोड २९ लाख पचास हजार पुँजीगत खर्च भइसकेको छ । विडम्बना ! सडकको प्रारम्भिक खण्डमा ‘बीटी जयबाबा स्वयम्भु काठमाडौं’ नामक ठेकेदार कम्पनीले करिब ६ वर्षदेखि राज्यलाई ‘च्यालेन्ज’ गर्दासमेत आजसम्मका प्रत्येक सरकार बेखबरतुल्य पाइयो ।

नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ लाई प्रयोग गरी सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनामा सम्पर्क गर्दा केही अनौठा तथ्य प्राप्त भएका छन् । सडकको शुरुवाती खण्ड अर्थात् १८ किलोमिटरमा रिटेनिङ वाल, नाली तथा ग्राभेल आदि कार्यका लागि दुईवटा ठेक्काहरू बीटी जयबाबाले हात पारेको रहेछ । पहिलो ठेक्का नम्बर १७–७०–७१ का लागि ५ करोड ८ लाख ३५ हजार अन्ठाउन्न रूपैयाँ उनन्तीस पैसामा ०७० चैत २४ गते बीटी जयबाबाले सम्झौता गरेको भए पनि ४९ लाख ५४ हजार दुई सय आठ रूपैयाँ बीस पैसाबराबरको करिब बीस प्रतिशत काम हालसम्म पूरा भएको छैन । सम्झौताअनुसार ०७२ असोज २० गतेभित्र अर्थात् १८ महिनामा सम्पन्न हुनुपर्ने उल्लेख गरिएको भए पनि कानुनी रूपमा एक दिन पनि म्याद नथपिएको योजना प्रमुख जयलाला मरासिनीको भनाइ छ । प्राप्त सूचनाहरू अध्ययन गर्दा यो ठेक्का सम्झौताअनुसार १३ लाख नब्बे हजार ६५ रूपैयाँ पचपन्न पैसा मात्रै बीटी जयबाबाका प्रोप्राइटर श्याम श्रेष्ठले भुक्तानी लिन बाँकी रहेको बुझिन्छ ।

यसैगरी दोस्रो अर्थात् ठेक्का नम्बर ०७–७१–७२ का लागि ४ करोड ९३ लाख ९६ हजार आठ सय अठचालीस रूपैयाँमा मिति ०७१ पुस २४ गते बीटी जयबाबाले सम्झौता गरेको भए पनि हालसम्म ४० प्रतिशत कार्य बाँकी रहेको छ । सम्झौताअनुसार ०७२ माघ १ गते कार्य सम्पन्न गर्नुपर्ने भए पनि तीन वर्ष म्याद थप्दा अन्तिम समयावधि ०७५ मङ्सिर २९ गते रहेको थियो । यसबीचमा ४३ लाख ७१ हजार चार सय दुई रूपैयाँ बाउन्न पैसा हर्जाना तिरेको बीटी जयबाबाले १ करोड ८१ लाख ८१ हजार पाँच सय पचपन्न रूपैयाँ सत्तरी पैसा भुक्तानी लगिसकेको छ । बाँकी रहेको कार्य सम्पन्न गर्न २ करोड ९७ लाख ९८ हजार पाँच रूपैयाँ सत्तरी पैसा लागत लाग्नेछ ।

लुम्बिनीमा आएका पर्यटकलाई ढोरपाटन पुऱ्याउने लक्ष्यका साथ सडकको ट्रयाक खोल्ने कार्य पूरा भई बीचबीचमा ग्राभेल सम्पन्न गरिएको भए पनि ठग ठेकेदार कम्पनीलाई राज्यले कारबाही गर्न नसक्दा यो मुलुकमा राज्यभन्दा ‘माटेकिरा’हरू नै शक्तिशाली भएको आभास गराएको छ । राज्यबाट कहिलेकाहीँ दबाब आएमा दुई–चारवटा टिपर र एउटा जेसीभी सडकमा देखाएर हप्तादिनभित्रै फिर्ता लगी राज्यलाई गुमराहमा राखेको बीटी जयबाबाका कारण विशेषगरी त्यस क्षेत्रका बासिन्दाले आफूहरूलाई बुझ्ने सरकार हालसम्म नपाएको महसुस गरेका छन् । बुझिएअनुसार हालका योजनाप्रमुख मरासिनीले स्थानीयको समस्यालाई मनन गरी गत असारमा उक्त ठग कम्पनीको ठेक्का तोडिएको सूचना सार्वजनिक गरेका थिए । त्यसपश्चात् वर्षौंदेखि जनतालाई दुःख दिएको बीटी जयबाबा स्वयम्भू काठमाडौंका प्रोप्राइटर श्याम श्रेष्ठले आफूलाई अन्याय भएको भन्दै सर्वाेच्चमा उजुरी गरेको जानकारी मिलेको छ । सम्मानित सर्वाेच्च अदालतले जनताको पक्षमा फैसला गर्ने हो वा पेसागत हिसाबले नैतिकताको धरातल गुमाइसकेका ठेकेदार कम्पनीको पक्षमा भन्ने कुरा यतिबेला व्यग्र प्रतीक्षाको विषय बनेको छ ।