रक्तचन्दनको तेलसहित तीन जना प्रहरी नियन्त्रणमा

रक्तचन्दनको तेलसहित तीन जना प्रहरी नियन्त्रणमा


बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौं महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिए । पक्राउ परेका व्यक्तिहरुले नयाँबजारको सोसल खेलमैदानमा रक्तचन्दनको कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको उनले बताए । रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरे पनि उक्त कारोबारमा केसी र पौडेलसमेत संलग्न रहेको राठौरको भनाई छ ।

ज्ञातव्य छ, रक्तचन्दन साइटिस महासन्धिमा सूचीकृत वनस्पति हो । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस)को पक्ष राष्ट्र नेपाल भएकाले रक्तचन्दन नेपालमा ओसारपसार गर्नेलाई कानूनी कारवाहीको व्यवस्था गरिएको छ । पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।